ट्रान्सफर्मर चोरसँगै व्यापारीहरू प्रहरी खोरमा

ट्रान्सफर्मर चोरसँगै व्यापारीहरू प्रहरी खोरमा

कोशी प्रदेशका मोरङ, सुनसरी र झापामा लामो समयदेखि सक्रिय ट्रान्सफर्मर चोरीमा संलग्न समूहलाई प्रहरीले पक्राउ गरेको छ । प्रादेशिक अपराध अनुसन्धान समूह, विराटनगरको नेतृत्वमा सञ्चालित विशेष अपरेसनमा १२ जना अभियुक्त पक्राउ परेका छन् । चोरसँगै चोरीको सामान खरिद गर्ने व्यापारीहरूसमेत प्रहरी खोरमा पुगेको बताइन्छ ।

डिआईजी ईश्वर कार्कीका अनुसार ट्रान्सफर्मर चोरीको शृंखला २०७९ को अन्त्यदेखि २०८२ सालको साउनसम्म चलिरहेको थियो । मोरङका ८, सुनसरीका १२ र झापाका २ गरी कुल २२ ट्रान्सफर्मर चोरी भएका थिए । चोरीमा संलग्न गिरोहले बस्ती पारीका पोलहरूबाट रातको समयमा ट्रान्सफर्मर हटाउने, तारको तामा निकाल्ने र विभिन्न कबाडी पसलमा बेच्ने गरेको अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेकामा मोरङ, ग्रामथान–४ का अर्जुनकुमार माझी, ग्रामथान–५ का इरज धामी, सुनसरी, दुहबी–३ का अनुज विश्वास, मोरङ, बेलबारी–४ का अर्जुन चौधरी, सुनसरी दुहबी–४ बस्दै आएका भारतीय नागरिक आलम मियाँ, दुहबी–२ का प्रयाग खाँ र मोरङ, बेलबारी–३ का रञ्जित तामाङ हुन् । 

त्यसपछि तामाको तार खरिद गरेका व्यापारीहरू—विराटनगर–३ का भाँडा पसले लक्ष्य प्रधान, विराटनगर–६ का कृष्णगोपाल ताम्राकार, दुहबी–३ का योगेश अग्रवाल, दुहबी–२ का कपिल भट्ट र इटहरी–४ का सिताराम राईलाई पक्राउ गरिएको छ । उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गिरोहबाट प्रहरीले ३६८ किलो तामाको तारसहित एक थान पिकअप भ्यान, १२ थान मोबाइल, ६ वटा मोटरसाइकल, र ट्रान्सफर्मर खोल्न प्रयोग गरिएका डायल रेञ्च, ग्राइन्डर, ह्याक्सो, पिलास, छिनो, साङली, झम्पललगायतका औंजारहरू बरामद गरेको छ।
पक्राउ परेकाहरूको कोठा, पसल तथा डिपोमा छापा मार्दा उल्लेखित सामग्रीहरू फेला परेका हुन्। प्रारम्भिक अनुमान अनुसार चोरी भएका ट्रान्सफर्मरको मूल्य झण्डै २ करोड रुपैयाँ पुगेको छ । चोरीका कारण विशेषगरी सिँचाइमा निर्भर किसानहरू प्रभावित भएका छन् । सुख्खायाममा पानीको अभावसँगै ट्रान्सफर्मर चोरी हुँदा धेरै किसानले रोपाइँ नै गर्न सकेनन् भन्ने उजुरीहरू प्रहरी कार्यालयमा दर्ता भएका छन्।

यसरी समातियो गिरोह

साउन ९ गते राति रंगेली नगरपालिका–९ स्थित इँटाभट्टा क्षेत्रमा रहेको डिप बोरिङ ट्रान्सफर्मर पोलमा तीन जना संकास्पद व्यक्तिलाई प्रहरीले देखेपछि उनीहरू भागे। तर अर्जुन कुमार थारु नामक एक व्यक्ति पोलमै चढिरहेको अवस्थामा पक्राउ परेपछि अन्य सदस्यहरूको सुराकी खुलेको थियो।

त्यसपछि ३५ जना सादा पोशाकमा खटिएका प्रहरीको टोलीले मोरङ, सुनसरी र झापाका विभिन्न स्थानमा छापा मारी अन्य अभियुक्तलाई पक्राउ गरेको हो।

डिआईजी कार्कीका अनुसार ट्रान्सफर्मर चोरीका घटनाले जनजीवन, सेवा प्रवाह र कृषिमा प्रत्यक्ष असर पारिरहेका थिए। सर्वसाधारणको चर्को गुनासो र दबाबका कारण प्रहरीले अनुसन्धान तीव्र पारेको थियो। अनुसन्धानपछि अपराधीलाई कडाइका साथ कारबाही गरिने र ट्रान्सफर्मरहरूको संरक्षणमा थप रणनीति बनाइने प्रहरीको भनाइ छ।

टिप्पणीहरू