आफ्नै कम्पाउण्डभित्र बाटो खोज्दै वृद्ध इन्द्रबहादुर
‘घर छ तर बाटो छैन, म कहाँबाट हिँडूँ?’ ७४ वर्षीय इन्द्रबहादुर बुढाथोकीको प्रश्न हो यो। अदालतको आदेश भन्दै वडा कार्यालयले हिँड्ने बाटो नै बन्द गरिदिएपछि समस्यामा परेका इन्द्रबहादुर न्यायको खोजीमा भौतारिरहेका छन् । वडाको सिफारिसअनुसार नापी कार्यालय, काठमाडौंले कित्ताकाट गरिदिएपछि आफ्नै घरबाट बाहिर निस्किने बाटो उनका लागि पूर्ण रूपमा बन्द भएको अवस्था छ ।
‘मैले अदालतको आदेश मान्छु भनेको छु । तर अदालतले मेरो घरको बाटो बन्द गरिदिन भनेको छैन । अब म कहाँबाट बाहिर निस्कूँ?’ उनले दुःखेसो पोखे।
घटनाको नालीबेली
टोखा नगरपालिका–७, धापासी निवासी इन्द्रबहादुरका छोरा विनोदसहित चार जनाले साझेदारीमा एउटा औषधि कम्पनी खोलेका थिए। सिम्टेक्स फर्मास्युटिकल्स प्रालि नामक कम्पनीमा उनीसहित नितिन राना, विशाल कर्माचार्य, सुजन सिंह सापकोटा साझेदार थिए। विनोद कम्पनीका एमडी थिए भने नितिन अकाउन्टेन्ट।
कर्जा लिने प्रयोजनार्थ कम्पनीसँग धितो नभएपछि नितिनकी आमा मीराले साबिककको बूढानीलकण्ठ गाविस–५ (क) को कित्ता नम्बर २०८३ को जग्गा धितो राखेर एभरेष्ट बैंकबाट ५० लाख रुपैयाँ ऋण लिइन् । उक्त ऋण सबैले तिर्ने भनी कागजी सम्झौता भएको थियो। इन्द्रबहादुरका अनुसार मीराले २० लाख रुपैयाँ कम्पनीलाई दिइन् भने बाँकी ३० लाख आफूले राखिन्। एक वर्षभित्र ऋण तिर्नुपर्ने शर्तमा कम्पनी घाटामा गएर विघटन भएपछि मीराले आफैंले ऋण चुक्ता गरिन्।
इन्द्रबहादुरका अनुसार विनोदले हस्ताक्षर गरेर राखेको चेक नितिनले दुरुपयोग गरेका थिए । ‘छोराले चेक साइन गरेर राखेको रहेछ। मीराको छोराले त्यो चेक लगेछन्। चेक नसाटिएपछि मुद्दा हालियो,’ उनले भने।
कम्पनीलाई २० लाख दिएको भन्दै मीराले काठमाडौं जिल्ला अदालतमा २७ लाख ६३ हजार ९७५ माग गर्दै मुद्दा हालिन्। अदालतले इन्द्रबहादुर पक्षको जानकारीबिना फैसला गरिदिएको पीडितको गुनासो छ ।
फैसलाविरुद्ध उच्च अदालत पाटन र त्यसपछि सर्वोच्च अदालत पुगे पनि कुनै सुनुवाइ नभएको वृद्ध इन्द्रबहादुर बताउँछन् ।
वडाको ‘कुनियत’
इन्द्रबहादुरको नाममा धापासीमा जम्मा ७ आना ३ दाम जग्गा छ । सोही जग्गामा उनको दुई तले घर छ । काठमाडौं जिल्ला अदालतले कित्ता नम्बर ३६९ को ४ आना ३ दाममध्ये उत्तरतर्फको २ आना २ दाम २ पैसा मीराको नाममा दर्ता गर्न आदेश दिएको हो।
तर अदालतले बाटो छेकेर कित्ताकाट गर्न भनेको छैन। इन्द्रबहादुरका अनुसार वडाले गेटभित्र नछिर्दै कित्ताकाटको सिफारिस गरिदियो, जुन नापी कार्यालयले तुरुन्तै कार्यान्वयन ग¥यो। नगरपालिकाको न्यायिक समितिले पत्र लेखी रोक लगाउँदासमेत नापी कार्यालयले अटेर गरेको बताइन्छ ।
४० लाखको जग्गा १८ लाखमा !
वडाको मूल्याङ्कनअनुसार त्यहाँको जग्गाको मूल्य आनाको ४० लाख रुपैयाँ छ। तर अदालतको मूल्याङ्कन (पंचकृति) अनुसार त्यसको मूल्य आनाको १८ लाख मात्र तोकिएको छ। इन्द्रबहादुरका अनुसार अदालतले चार भाग गरेर एक भाग मीरालाई दिन भने पनि, बाँकी परिवारका सदस्यहरूको अंश गणना गर्दा उनीहरूको अंशमा २ आना पनि नपर्ने अवस्था छ।
मीरा पक्षको ‘बार्गेनिङ’ रणनीति?
इन्द्रबहादुर भन्छन्, ‘मैले मीरालाई अदालतले भनेको पैसा दिन चाहेको थिएँ। तर उनले जग्गा नै चाहिन्छ भनी अडान राखिन्। अहिले त उनीहरूले बाटो नै रोकेका छन्।’ उनी थप्छन्, ‘छोराले चेक साइन गर्नु हुँदैनथ्यो, तर ग¥यो। त्यो चेकको जिम्मेवारी उसको अंशबाट तिर्छु भनेकै छु। तर मचाहिँ कहाँबाट हिँड्ने? यो त ममाथि अन्याय हो।’
धम्कीको श्रृंखला
कित्ताकाटपछि मीरा पक्षबाट लगातार धम्की आइरहेको इन्द्रबहादुर बताउँछन्। विभिन्न नम्बरबाट फोन, घरमा मान्छे पठाउने, नेकपा (विप्लव) का कार्यकर्तासम्म आइपुग्ने जस्ता गतिविधिले उनी त्रसित छन्।
उनको भनाइ छ, ‘बाटो छेकेर उनीहरू बढी पैसा तिर्न बाध्य पार्न खोज्दैछन्, वडाले पनि त्यसमा साथ दिएको छ।’
बुबालाई हर्ट अट्याक, छोरा विस्थापित
घटनाकै तनावका कारण इन्द्रबहादुरलाई हर्ट अट्याक भइसकेको छ भने उनका छोरा धम्कीका कारण काठमाडौं छाडेर उपत्यका बाहिर बसेको परिवारका सदस्य बताउँछन् ।
वडाको भनाइ
वडाध्यक्ष नरोतम रानाले आफूले अदालतको आदेशअनुसार काम गरेको दाबी गरे । अदालतले बाटो छेक्न भनेको छैन नि ? भन्ने प्रश्नमा भने उनले जवाफको सट्टा फोन राखिदिए।
मीराको धारणा
मीराले भने इन्द्रबहादुर पक्षले आफूलाई धम्क्याएको आरोप लगाइन् । उनले भनिन्, ‘ऋण तिर्दा १२ आना जग्गा बेच्नुपर्यो । अहिलेको बजारमा त्यो ६ करोड हुन्थ्यो।’
उनको भनाइमा, आफूले अगाडिको सट्टा पछाडिको बाटो लिनुस् भनेको भए पनि इन्द्रबहादुर पक्षले मानेन । उनले थपिन्, ‘सात वर्ष भयो मुद्दा लडेको, सेयर डुब्यो, जग्गा गुम्यो। अब हक पनि नपाउने?’
टिप्पणीहरू