हङकङबाट विश्वका युवालाई नयाँ सन्देश
‘विश्वका युवालाई एकत्रित गर्दै, बहुसांस्कृतिक संवाद प्रवाह गर्दै’ भन्ने नारासहित हङकङमा शुरु वल्र्ड स्टुडेन्ट एक्स्पो तथा वल्र्ड युथ फोरम युथ स्टडी २०२५ जारी छ । हङकङ अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रमा अस्तिदेखि सुरु भएको यो कार्यक्रममा १५ देश र क्षेत्रका एक हजारभन्दा बढी विद्यार्थी प्रतिनिधि, शैक्षिक विज्ञ तथा सांस्कृतिक व्यक्तिहरूको सहभागिता छ ।
चाइना डेली युथ च्यानल र ग्लोबल इन्नोभेसन सेन्टरको संयुक्त आयोजनामा हङकङ नागरिक तथा युवा मामिला ब्युरोको सहकार्यमा आयोजित कार्यक्रम सञ्चालनमा युनेस्कोको असोसिएटेड स्कूल नेटवर्क, एकेडेमी अफ इकोनोमिक एजुकेसन र अन्य संस्थाहरू शैक्षिक साझेदार छन् । चाइना डेलीका अनुसार सार्वजनिक वक्तृत्वकला, वित्तीय साक्षरता, नवीनतम प्रविधि र कला संवादमा केन्द्रित चारवटा मुख्य थिममा अन्तरक्रिया, छलफल र प्रस्तुतिहरू सञ्चालन गरिएको छ ।
चाइना डेली हङकङ संस्करणका प्रधानसम्पादक झाउ लीले उद्घाटन मन्तव्यमा युवालाई समयको प्रवाहसँग अघि बढ्न, सांस्कृतिक आदानप्रदानको उत्तराधिकारी बन्न र अन्तर्राष्ट्रिय मित्रताको सेतुका रूपमा भूमिका खेल्न प्रेरणा दिएका छन् । उनले भने, ‘चाइना डेली विश्वका युवालाई एउटै प्लेटफर्ममा ल्याई उनीहरूको सपना साकार पार्न सहयोग गर्न तत्पर छ ।’

ग्लोबल इन्नोभेसन सेन्टरका प्रमुख झाओ काङले युथ स्टडीलाई सीमापार चुनौतीहरूमाथि युवाको दृष्टिकोण प्रस्तुत गर्ने विश्वव्यापी प्लेटफर्मका रूपमा परिभाषित गरेका छन् । त्यस्तै अमेरिकाको मिडवेस्ट युनिभर्सिटी काउन्सिलका अध्यक्ष लिन्डेल शुमाखरले भने, ‘युवा नै विश्वशान्तिका प्रमुख वाहक हुन् । प्रविधि वा नीति होइन, नवप्रवर्तनशील सोच, भावना र संकल्पले मात्र संसारमा सकारात्मक परिवर्तन ल्याउन सक्छ ।’

उद्घाटन समारोहमा १५ देशका प्रतिनिधि राष्ट्रिय झण्डा बोकेर परेडमा सहभागी भएका थिए । सो क्रममा राष्ट्रिय सांस्कृतिक झाँकीसँगै सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमले अन्तरसंवाद, समझदारी र सहकार्यलाई केन्द्रमा राखी बहुसांस्कृतिक कूटनीतिक अभ्यासलाई प्रोत्साहन गरेको आयोजकको भनाई छ । हङकङमा आयोजित युवा सम्मेलनले आजका युवामार्फत् भविष्यको सहिष्णु, बहुसांस्कृतिक र सहकार्यमा आधारित विश्व निर्माणको संकेत दिएको छ ।
टिप्पणीहरू