५ हजारमा बिक्ने पत्रकार भनिएपछि बबाल शुरु
रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनलाई ध्यानमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गतिविधि तीव्र बनाइरहेको बेला सो पार्टीका एक जना नेता विवादमा तानिएका छन् । उम्मेदवारका आकांक्षी सिध्दार्थनगर–७ निवासी पार्थिवेन्द्र उपाध्यायको पत्रकारविरोधी अभिव्यक्तिले राजनीतिक र सञ्चार जगतमा तरंग पैदा गरेको छ ।
केही दिनअघि रास्वपा केन्द्रीय कार्यालयमा आफ्नो धारणा राख्दै उपाध्यायले ‘स्थानीय वा अन्य कुनै मिडियाको आवश्यकता नरहेको,’ ‘समाचार पढ्दा हाँसो उठ्छ’ र ‘सबै पत्रकार ५ हजार रुपैयाँमा बिक्छन्’ जस्ता अभिव्यक्ति दिएका थिए । ती टिप्पणी सार्वजनिक भएपछि सञ्चारकर्मीहरुले उक्त अभिव्यक्तिलाई प्रेस स्वतन्त्रताको प्रत्यक्ष अपमान र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको आक्रमणको रूपमा लिएका छन् ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिसहित रुपन्देहीका विभिन्न पत्रकार संगठनहरूले संयुक्त वक्तव्य जारी गर्दै उपाध्यायको अभिव्यक्ति तथ्यहीन, आधारहीन र अमर्यादित रहेको बताए । गलत अभिव्यक्ति तत्काल फिर्ता लिन र सार्वजनिक माफी माग्नुपर्ने उनीहरुको माग छ । जारी वक्तव्यमा उपाध्यायको टिप्पणीले सम्पूर्ण पत्रकारिता पेशाको मर्यादा, विश्वसनीयता र श्रमजीवी पत्रकारहरूको व्यक्तिगत इमानदारितामाथि गम्भीर प्रश्न उठाएको उनीहरुको ठहर छ ।
पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष रामप्रसाद आचार्य, रुपन्देही शाखा कोषाध्यक्ष जरेश केसी, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष भगवती पाण्डेलगायतले हस्ताक्षर गरेको वक्तव्यमा उपाध्यायमाथि आवश्यक अनुसन्धान गरी कडा कारबाहीका लागि रास्वपासँग आग्रह गरिएको छ ।
यसअघि पनि विभिन्न राजनीतिक दलका नेताहरूबाट पत्रकारितामाथि आक्षेपजनक टिप्पणी भएको थियो । तर यसपटक उपाध्यायको अभिव्यक्ति चुनावी माहौलको क्रममा आएकाले विवादलाई थप चर्काउने अनुमान छ । राजनीतिक विश्लेषकहरूका अनुसार, यस्तो टिप्पणीले मतदाता र आम नागरिकबीच रास्वपाप्रतिको धारणा नकारात्मक बन्ने सम्भावना उत्तिकै छ ।

टिप्पणीहरू