बानियाँले बेवास्ता गरेपछि बहादुर खेमाका नेता भन्छन्- ‘अब जुध्ने नै भइयो’
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज पाँच मन्त्री नियुक्त गरेसँगै १४ सदस्यीय मन्त्रीमण्डलले पूर्णता पाएको छ ।
नेपाली कांग्रेस प्रदेश कार्यसमिति सभापतिसमेत रहेका बानियाँले मुख्यमन्त्री नियुक्त भएकै दिन साउन १९ गते साझेदार दल एमालेबाट ६ सहित ८ मन्त्री नियुक्त गरेका थिए । आज पाँच मन्त्री नियुक्त गर्दा असन्तुष्ट खेमालाई पूरै उपेक्षा गरिएको छ । बूढानीलकण्ठदेखि हेटौँडासम्म दौडधुप गरेका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामालाई उनले जिल्याइदिएका छन् ।
यसअघि मुख्यमन्त्री बानियाँले विश्वासको मत लिनुअघि पार्टी सभापति शेरबहादुर देउवालाई साक्षी राखेर बहादुरसँग सहमति गरेका थिए । त्यसपछि बल्ल विश्वासको मत दिन तयार भएका बहादुर खेमालाई ३ मन्त्री दिन सहमति थियो ।
तर, मुख्यमन्त्री बानियाँले उक्त सहमति लत्याएपछि बागमतिमा चर्किरहेको कांग्रेसभित्रको किचलो थप चर्किने देखिएको छ । बहादुर निकट नेताहरूले अब वारपारको लडाई लड्ने उद्घोष गरेका छन् ।
मुख्यमन्त्रीले सहमति लत्याएर पार्टीभित्र बद्लाको विजारोपण गरेको भन्दै सांसद कुन्दनराज काफ्लेले आफूहरु चुनौती दिन तयार रहेको सार्वजनिक घोषणा गरेका हुन् । बानियाँले आफ्नो खुट्टामा आफै बञ्चरो हाँनेको उनको ठहर छ ।
‘उहाँले जुध्न खोज्नुभयो, र हामीलाई पनि जुध्न बाध्य पार्नुभयो’, काफ्लेले जनआस्थासँग भने, ‘पार्टी सभापतिलाई राखेर गरेको सहमति लत्याएर उहाँले आफैलाई अफ्ठ्यारोमा पार्नुभयो, आफ्नै खुट्टामा बञ्चरो हान्नुभयो ।’
प्रदेशको सभापतिको जिम्मेवारीमा रहेका बानियाँले पार्टीभित्रको विवाद समाधान गर्न भन्दा पनि चर्काउन चाहेको निष्कर्ष बहादुर पक्षको छ । प्रदेशको इतिहासमै पहिलोपल्ट यसप्रकारको विभाजन ल्याउन खोजेको काफ्ले बताउँछन् ।
‘उहाँ त प्रदेशको सभापतिजस्तो मान्छे, सबैलाई मिलाएर लैजानुपर्छ भन्ने दिशाबाट चल्नुपर्ने हो, फेरि कुनै अर्को पार्टीसँगको समस्या भए पनि हुन्थ्यो, आफ्नै पार्टीमा त्यो पनि नेतृत्वको हैसियतमा भएको मान्छेले यस्तो गर्न मिल्छ ?’ कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका उनले थपे, ‘यहाँ न्याय र अन्यायको कुरा होइन, मन्त्री त पाँच सात महिनामा फेरबदल भइरहन्छन्, आज छ, भोलि छैन, तर सभापतिको हैसियतमा उहाँले जुन कदम चाल्नुभयो त्यसले उहाँलाई राजनीतिक जीवनभर अप्ठेरो हुनेवाला छ, वास्तविक विभाजनको शुभारम्भ गर्नुभयो ।’
काफ्लेले अहिले आफू गृह जिल्ला दोलखामा रहेको र केही दिनमै हेटौंडा फर्किएर साथीहरूसँग यसबारे छलफल गर्ने जानकारी दिए । मुख्यमन्त्री बानियाँले एकलौटी निर्णय लादिरहेको बताउँदै उनले आज मन्त्री नियुक्त भएको कुरा पनि मिडियाबाट थाहा पाएको बताए ।
‘मन्त्री नियुक्त हुन लागेको त हामीलाई थाहै थिएन । उहाँले बोलाउनु होला भन्ने लागेको थियो, तर मैले पनि मिडियाबाटै थाहा पाएँ’, सांसद काफ्लेले भने, ‘म अहिले घर आएको छु, अरु मान्यज्यूहरु पनि कोही कता, कोही कता हुनुहुन्छ, भोलि वा पर्सिमा हेटौँडा पुगेर छलफल गछौँ, त्यसपछि रणनीति बनाउँछौ, उहाँले जुध्नै खोज्नुभएको रहेछ, अब जुध्ने नै भइयाे ।’
टिप्पणीहरू