उवासंघ चितवनका उपाध्यक्ष जातीय विभेदको मुद्दामा दोषी ठहर

उवासंघ चितवनका उपाध्यक्ष जातीय विभेदको मुद्दामा दोषी ठहर

उद्योग वाणिज्य संघ चितवनका एक पदाधिकारी जातीय भेदभाव तथा छुवाछूतजन्य कसुरमा दोषी ठहरिएका छन् ।  

संघका द्वितीय उपाध्यक्ष अशोक अधिकारीलाई उक्त अभियोगमा दोषी ठहर गर्दै जिल्ला अदालतले सजाय तोकेको छ । अदालतले तीन महिना कैद, ५० हजार रुपैयाँ जरिवाना, २० हजार क्षतिपूर्ति र दुई हजार रुपैयाँ पीडित राहत कोषमा भराउने फैसला हिजो गरेको हो ।

गत मंसिरमा भरतपुर महानगरपालिका–२ आँपटारीकी स्थानीय गीताकुमारी राउतलाई समीचोकको पसलमा मादक पदार्थ सेवनगरी उनले अश्लिल शब्दमा विभेदजन्य गालीगलौज गरेका थिए । त्यसविरुद्ध पीडित महिलाले जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएपछि अदालतबाट पुस ४ गते पक्राउ पुर्जी जारी भएको थियो । 

केही समय फरार रहेका अधिकारी फागुनमा ५० हजार धरौटीमा छुटेका थिए । हिजो न्यायाधीश ध्रुवकुमार ढकालको इजलासले अधिकारीलाई कैदसहितको सजाय गरेपछि पीडित समुदायले केही न्यायको अनुभूति गरेका छन् । 

अधिकारकर्मी चक्र रुचालले भने, ‘न्यायमूर्ति ध्रुवकुमार ढकालज्यूप्रति सम्पूर्ण कथित दलित समुदायको तर्फबाट धन्यवादसहित आभार प्रकट गर्दछौं ।’ 

टिप्पणीहरू