पत्रकार कुट्ने वकिलविरुद्ध सिडिओ कार्यालयमा धर्ना
पत्रकारमाथि आक्रमण गर्ने कानुन व्यवसायीलाई समातेर कारबाही गर्न माग राख्दै पत्रकारहरू आन्दोलनमा उत्रिएका छन् । नेपाल पत्रकार महासंघ धनुषा शाखाको अगुवाइमा पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका हुन् ।
गुठी संस्थानबाट महासंघले कानूनी प्रक्रिया पूरा गरी लिजमा लिएको ४ कठ्ठा जग्गा गत साउन २७ गते संरक्षण गर्नेक्रममा नेपाल बार एशोसिएशन जनकपुरका पदाधिकारीसहित वकिलहरूले पत्रकारमाथि आक्रमण गरेका थिए । वकिलहरुको आक्रमणबाट पत्रकार महासंघ प्रदेश अध्यक्षसहित उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र महतो, पत्रकार दिवाकर राय र अनिल निराला घाइते भएका थिए ।
महासंघ धनुषाका अध्यक्ष पुरन साहले महासंघको प्रादेशिक भवन निर्माणका लागि गुठी संस्थानसँग सम्झौतागरी जग्गा लिजमा भएको भएपनि नेपाल बार एसोसिएशन जनकपुरमा आवद्ध वकिलहरुले सो जग्गा आफ्नो मातहत भएको दाबी गर्दै विवाद सिर्जना गरेको बताए । सोही विवादलाई लिएर वकिलहरुले पत्रकारमाथि सांघातिक आक्रमण गरे पनि प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ नगरेको उनको आरोप छ ।
प्रहरीले कारबाहीको लागि कुनै कदम नचाल्दा आफूहरु धर्नामा बस्न बाध्य भएको साह बताउँछन् । प्रधानमन्त्री र गृहमन्त्रीलाई यसबारे जानकारी गराउँदासमेत बेवास्ता गरिएको उनको गुनासो छ ।
‘प्रधानमन्त्रीज्यू जनकपुर आउनुभएको थियो । उहाँलाई पनि ध्यानाकर्षण गरायौं । गृहमन्त्रीज्यूलाई पनि ध्यानाकर्षण गरायौं । तर पनि धुनषा प्रहरी प्रशासनले आरोपीलाई अहिलेसम्म छुन पनि सकेको छैन’, उनले भने, ‘प्रहरीले जुन निरिहता प्रस्तुत गरेको छ । यसविरुद्ध आज हामीले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छौं । अब पनि हाम्रा माग पूरा भएन भने हामी प्रदेशका आठवटै जिल्लामा प्रदर्शन विस्तार गर्दै जान्छौं ।’
महासंघ मधेस प्रदेश कमिटीका अध्यक्ष श्याम बञ्जाराले आक्रमणकारीविरुद्ध किटानी जाहेरी दर्ता गराएपनि स्थानीय प्रशासनले बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । देशव्यापी आन्दोलन नहोस् भन्ने उद्देश्यले अहिलेलाई शान्तिपूर्ण धर्ना बसेर स्थानीय प्रशानलाई दबाब दिएको उल्लेख गर्दै उनले पत्रकारमाथि आक्रमण गर्ने वकिललाइ कारबाही नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिए ।
धर्नाकारी पत्रकारहरूले 'आक्रमण गर्ने वकिलहरूलाई कारबाही गर', 'प्रेस स्वतन्त्रताको रक्षा गर', 'पत्रकारलाई सुरक्षा देऊ' लेखिएका प्लेकार्ड बोकेका थिए ।
टिप्पणीहरू