चन्दा नै हो त यो जनकारवाहीको फन्डा ?
नापी कार्यालय खैरहनी, चितवनका प्रमुख शालिग्राम लम्साललाई मोसो छ्यापेको घटनामा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का जिल्ला सेक्रेटरी ध्रुव खड्कालाई अपमानजनक तथा अमानवीय व्यवहारको कसूरमा मुद्दा चलाइएको छ ।
उच्च अदालत जनकपुर, वीरगंज अस्थायी इजलासका न्यायाधीशलाई कार्यकक्षमै पुगेर कालोमोसो दलेको घटनामा पक्राउ परेका बहुमतका अन्य तीन जनाविरुद्ध पनि सोही कसुरमा मुद्दा दर्ता भएको छ । इजलासमा भिडिओ बनाएर लाइभसमेत गरेका उनीहरुमाथि साइबर क्राइमको मुद्दा पनि छ । अहिले उनीहरु धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।
वीरगञ्जको घटना नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने फैसलासँग जोडिएको छ । २०६४ सालको संविधानसभा निर्वाचनअघि रौतहटमा भएको बम विस्फोटमा घाइते भएकाहरुलाई इँटा भट्टामा जलाएको गम्भीर आरोप लागी जिल्ला अदालत रौतहटको आदेशमा पुर्पक्षका लागि कारागारमा रहेका आलमलाई उच्च अदालतले सफाइ दिएपछि उनी रिहा भएका छन् ।
हेटौंडामा असार ४ गते नगर प्रवक्ता समेत रहेका वडाअध्यक्षलाई कालोमोसो दलेको घटनामा पनि एकजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त घटनामा विप्लव समूहको संलग्नता देखिएको तर पक्राउ पर्ने व्यक्ति घटनामा संलग्न भएपनि पार्टीका कार्यकर्ता चाहिँ नभएको प्रहरीले बताएको छ । यसमा अरु ६-७ जनाको संलग्नता रहेको बताइन्छ । नेकपा बहुमत विप्लवबाटै धर्मेन्द्र बास्तोलाको नेतृत्वमा अलग्गिएको समूह हो ।
बहुमतकै नाममा पोखरामा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई कालोमोसो दलेको घटनामा पनि तीन जना पक्राउ परेका थिए । अभद्र व्यवहार र चन्दा ऐनअनुसार कारबाही अगाडि बढाइएकोमा उनीहरु धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
चितवनको घटनामा चार जनासम्मको प्रत्यक्ष संलग्नता रहेको हुनसक्ने प्रारम्भिक अनुमान छ । पक्राउ परेका जिल्ला सेक्रेटरी घटनाका योजनाकार रहेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गोविन्द पुरीले अन्यको खोजी भइरहेको बताएका छन् ।
गत साउन २७ गते दिउँसो १ बजेतिर नापी कार्यालय खैरहनीका प्रमुखलाई कार्यकक्षमै पुगेर दुई जनाले कालोमोसो प्रहार गरेका थिए । हेलमेट, टोपी र मास्क लगाएकाहरूले बोतलबाट कालोमोसो छ्यापेको सार्वजनिक भिडिओमा देखिन्छ ।
प्रमुख लम्सालले भूमाफियासँग मिलेर पूर्वी चितवनको विभिन्न ठाउँको जग्गा कित्ताकाट गर्ने र मोटो रकम बुझ्ने, भूमाफियाहरुको योजनामा नमिल्ने जग्गालाई पनि कित्ताकाट गरी माफियाहरुलाई सहयोग गर्ने, आम सर्वसाधारण सेवाग्राहीबाट विभिन्न शीर्षकमा रकम असुल्ने, कार्यालय सधैं ढिला आउने जस्ता गतिविधि निरन्तर भएकोले जनकारबाही गरेको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) खैरहनी नगर कमिटीले प्रेस वक्तव्य निकालेर बताएको छ ।
‘त्यस्तो प्रमाण भएको भए उहाँहरु त्यो प्रमाण लिएर आउनुहुन्थ्यो । मैले गलत गरेको छु, भ्रष्टाचार गरेको छु भने त उनीहरु अख्तियार जान सक्छन्, अड्डा–अदालत छ । प्रहरी कार्यालय जान सक्छन्, राज्यका यत्रा निकाय छन् । तर यो चाहिँ विशुद्ध चन्दा नपाएरै हो’, घटनाका पीडित नापी कार्यालय खैरहनीका प्रमुख लम्सालले भने, ‘उनीहरुको ५-७ लाखको माग थियो वर्षको । महिनाको ३० देखि ४० हजार रुपैयाँ ग्यारेन्टी गर्नुपर्छ भनेका थिए ।’
तर यसको पनि रेकर्डेड प्रमाणचाहिँ आफूसंग नभएको उनको भनाइ छ । ‘अफिसमा आएर भन्या छन् । कार्यालयका साथीहरु साक्षी हुनुहुन्छ । फोनमा चाहिँ रेकर्ड छैन । कल डिटेल मगायो भने पाइन्छ । रकम लिएर कहिले भेट्ने भन्ने कुराहरु बारम्बार फोनमा गरिराखेको हो’, उनले भने, ‘मैले रेकर्ड गरेर अडिओ चाहिँ राखेको छैन ।’
यही असार ३० मा नेकपा बहुमत ३ नं. ब्युरोको तर्फबाट नापी कार्यालय प्रमुख, चितवन भनेर सहयोगका लागि पत्राचार गरेको एउटा पर्चा भने फेला परेको छ ।
‘मेरो एक वर्ष अगाडिको फोटोलाई इडिट गरेर कालोमोसो दलेको बनाएर पोर्टलहरुमा भाइरल गरेको हो । तर रियलमा चाहिँ अफिसमा आएर मोबिल छ्यापेर मलाई कुटपिट गरेर भाग्या हो’, लम्सालले भने, ‘दुवै पूर्वलडाकु हुन् । रकम माग गर्ने खैरहनीकै दिनेश घिमिरे भन्ने हो ।’
मुलुकी अपराध संहिता २०७४ बमोजिम अपमानजनक वा अमानवीय व्यवहार कसुरको मुद्दामा दोषी ठहर भएमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
टिप्पणीहरू