इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान
सार्वजनिक यातायात केन्द्रीय महासंघले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सरकारको सूचनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । देवनागिरी लिपि नै लोप हुनेगरी इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको उल्लेख गर्दै महासंघले सो नम्बर प्लेट राष्ट्रको हितविपरीत र अव्यवहारिक भएको बताएको छ ।
सरकारी पक्षबाट एक पक्षीय रुपमा भएको सो निर्णयले नेपालीको गोपनियतासम्बन्धी विवरण विदेशीको नियन्त्रणमा रहने, राष्ट्र नै कमजोर हुने महासंघको ठहर छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै पूर्वाधारबेगर सर्वसाधारणलाई आर्थिक व्ययभार हुनेगरी गरिएको निर्णय मान्य नहुने स्पष्ट पारेको छ ।
‘देशमा कुनै पूर्वाधारबिना पूर्वाधार सम्पन्न देशको प्रविधि भित्र्याई आम नागरिक सिंगो व्यवसाय क्षेत्रमाथि ठोस आधारबिनाको थप आर्थिक व्ययभार हुनेगरी विदेशी ठेकेदार कम्पनीसँगको सहकार्यमा सरकारी पक्षबाट एक पक्षीय रुपमा भएको यस किसिमका निर्णयहरुबाट सुरक्षाका कारण झन् खतरा नेपालीको गोपनियता सम्पूर्ण विवरण विदेशीको नियन्त्रणमा रहने, राष्ट्र नै कमजोर हुनेगरी यातायात व्यवसाय क्षेत्रमा जडान गर्न अनिवार्य गरिएको ईम्बोस्ड नम्बर प्लेट हरेक कारणबाट तत्काल प्रभावकारी व्यवसायी हितविपरीत र व्यवहारिक नभएको...’,विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी, महासंघले राष्ट्रिय स्वाभिमानमाथि आँच आउने सो नम्बर प्लेट जडान नगर्न सवारी धनीहरुलाई आग्रह गरेको छ । अगाडि लेखिएको छ,‘सरकार, प्रत्यक्ष सरोकार पक्षहरु बीचको छलफल संवादको बीच देखिएका अव्यवहारिक विषयहरुको संशोधन सुधारबिना सार्वजनिक, पर्यटन र ढुवानी, निजी प्राइभेट सम्पूर्ण यातायात क्षेत्रको तर्फबाट सो इम्बोस्ड नम्बर प्लेट जडान नगर्नुहुन हार्दिक अनुरोध छ ।’
जबरजस्ती इम्बोस्ड नम्बर प्लेट जडान गर्न खोजिएमा विरोधमा उत्रिने चेतावनी महासंघको छ । विभागले गत भदौ ३ गते सूचना जारी गर्दै असोज १ गतेबाट इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको छ । इम्बोस्ड नम्बर प्लेट जडान नगरेमा कारबाही गर्ने चेतावनी दिइएकोमा चौतर्फी विरोध भइरहेको छ ।
टिप्पणीहरू