स्थानीय सरकारको काम, भुइँमान्छेलाई ठाम

स्थानीय सरकारको काम, भुइँमान्छेलाई ठाम

सरकारको पहुँच र प्रत्याभूत तल्लो तहसम्म पुर्याउन, जनताको प्राथमिक र आधारभूत आवश्यकताका विषयमा काम गर्न स्थानीय सरकारको व्यवस्था भएको हो । सरकारले गरीब, विपन्न र पिछडिएका नागरिकलाई विशेष प्राथमिकता दिएर काम गर्नुपर्छ भन्नेमा कसैको पनि बिमत्ति हुँदैन । राजनीतिक खिचातानी र आन्तरिक द्वन्द्वले बाधा अड्चन हुँदाहुँदै चितवनको राप्ती नगरपालिकाले आफूलाई त्यसमा खरो उतारेको छ । 

भुइँतहका जनता र जनजीविकाको सवालमा सराहनीय काम गरेको नगरपालिकाले स्थानीयको प्रशंसा पाइरहेको छ । ६ जेठ, २०७९ को दिन पदभार ग्रहण गर्दै गर्दा नगर प्रमुख शरशेर लामाले जनजीविकाको सवालमा तीनवटा अठोट सार्वजनिक गरेका थिए । उनको प्रतिवद्धता थियो- गाँस, बास र कपास ।

मेयर लामाले सामान्य लाग्ने तर प्राथमिकताका विषयमा धेरै काम गरेको उनको सचिवालयले जनाएको छ । विपन्नको घर बनाउने अभियान नै चलाइएको छ । उनले निर्वाचित भएर आइसकेपछि ‘एक वर्ष सय घर’ अभियान सुरु गरेका थिए । जसअनुसार हालसम्म चारसय भन्दा बढी विपन्न परिवारको घर निर्माण भइसकेको दाबी गरिएको छ । स्थानीय सरकारको यो कार्यकालभरिमा कूल पाँचसय घर बनाउने प्रतिबद्धता छ ।

राप्ती नगरपालिकाले प्रदेश सरकारको सहयोगमा एकीकृतबस्ती निर्माण गरेको छ भने जनतालाई आर्थिक समृद्धिको लागि आयमूलक र सीपमूलक तालिम सञ्चालन गरेको छ । हरेक वर्ष १५ सय भन्दा बढी युवा र महिलालाई सीपमूलक, आयआर्जन र क्षमता विकास तालिम सञ्चालनका साथै प्रविधि हस्तान्तरणलाई प्राथमिकता दिइएको मेयर बताउँछन् । 

नगरले गरेको अर्को महत्वपूर्ण काम हो- चिउरी चमेरो संरक्षण । यो कार्यक्रम शुरु गरेपछि चेपाङ समुदायको आर्थिक समृद्धिमा टेवा पुगेको नगरपालिकाको दाबी छ ।

त्यसैगरी नगरपालिकाले विभिन्न दातृनिकायको सहयोगमा 'भोकालाई खाना अभियान' पनि शुरु गरेको छ । जसको घरमा खाद्यान्नको समस्या छ, जो विपन्न छन्, उनीहरुलाई वडाको सिफारिसमा नगरबाट चामल, दाल, नुन, तेल मसला लगायतको खाद्यान्न सेट उपलब्ध गराइएको मेयर लामाले बताए ।

भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीको जग्गा नापजाँच तथा वडा नं. ११, ७, ३, २, ५ र १ मा जग्गाधनी पहिचानपत्र वितरण कार्य नगरपालिकाको अर्को उपलब्धि हो  । सामुदायिक विद्यालयहरुमा कक्षा १२ सम्म निःशुल्क शिक्षा लागू भएसँगै नगरभित्रका १३ हजार विद्यार्थीले निःशुल्क शिक्षाको सुविधा पाएको विषय पनि महत्वपूर्ण नै छ । 

भण्डारा अस्पतालमा निःशुल्क एम्बुलेन्सको सुविधा अनि नगरवासीको जन्मदिनमा निःशुल्क उपचारको व्यवस्थासमेत गरिएको बताइन्छ । विकट क्षेत्रमा आधारभूत स्वास्थ्य केन्द्रमार्फत् स्वास्थ्य सेवा पुर्याइएको छ । नगरपालिकाले अब आफ्नै दमकलको व्यवस्था गर्न लागेको जानकारी दिइएको छ ।

         
नगरपालिकाको विकट भेगमा सहजताका लागि पिसानी मिल स्थापना गरिएको छ । कृषिमा सिँचाइ, यान्त्रिकरण र प्रविधिमा जोड दिइएकै छ । राप्तीको पहाडी क्षेत्रमा अनुदानमा कफी खेती सुरु भएको छ । यही वर्षदेखि दिगो आय-आर्जनको उद्देश्यलाई प्राथमिकतामा राखेर केही समय अगाडि नै कफी जोन घोषणा गरिसकेको छ ।  

यसका अलावा नमूना कान्दा अभियान सञ्चालन गरिएको छ भने विकट कान्दामा सडक विस्तार सुरु भइसकेको, वडा नं १३ मा टेलिकमको पहुँच पुर्याइएको र फोरजी इन्टेरनेट सेवा विस्तार गरिएको नगरपालिकाले जनाएको छ । 

‘जनताको गुनासो र समस्याको पहिचानको लागि मेयर लामाले जनतासँग मेयर कार्यक्रम सुरु गर्नुभएको छ’ मेयरको सचिवालयले भन्यो, ‘हरेक शनिबार उहाँले टोलटोलमा गएर जनता भेट गर्नुहुन्छ ।’ 

शमशेर लामा नेकपा एकीकृत समाजवादीबाट निर्वाचित मेयर हुन् । 

टिप्पणीहरू