चितवनमा एउटा अडियोले धेरैलाई चिन्ता

चितवनमा एउटा अडियोले धेरैलाई चिन्ता

सञ्चार माध्यममा प्रसारित एउटा अडियो सामग्रीले यतिबेला चितवनमा धेरैको ध्यान खिँचेको छ । चौतर्फी विरोध र विवादपछि मिडिया आफैँ पछि हटेको विषय झन् बढी चर्चामा आएको छ ।

नेपाल पत्रकार महासंघ चितवन शाखाका कार्य समिति सदस्य राजु सापकोटाद्वारा सञ्चालित 'निसाना खबर' अनलाइनमा भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले पत्रकारलाई गाली गरेको अडियो प्रसारण भएको थियो । भदौ ११ गते सार्वजनिक भएको सो सामाग्रीमा प्रेस युनियन चितवनका अध्यक्षसमेत रहेका अनिल ढकाल र उनको मिडियाको नाम बुझिनेगरी पौडेलले अपशब्द प्रयोग गरिएको बताइन्छ । 

त्यसमा अरु पत्रकारको नाम इडिट गरेर अनिल ढकाललाई मात्र भनिएको सुन्नेहरु बताउँछन् । तर, २४ घन्टा नबित्दै उक्त सामग्री अनलाइनबाट हटाइएको छ । 

अडियो बाहिरिएपछि आफू र आफ्नो परिवारलाई निकै पीडा भइरहेको अनिलले बताएका छन् । पत्रकार महासंघ चितवन र प्रेस युनियनबाट मेसुले सार्वजनिक रुपमा माफी माग्नुपर्ने भन्दै विज्ञप्ति पनि निकालिएको छ । 

हाडजोर्नी डाक्टर भएपनि सुपरिन्टेन्डेन्ट डा. पौडेल भावनात्मक रुपमा अलि नरम र संवेदनशील नै छन् ।  कविताहरु पनि लेख्छन् । साथीभाइसरी बसेर गफिँदा बहकिए होलान् अनि मेसु पनि पत्रकारहरुबाट हैरान हुनुपर्छ । अनौपचारिक रुपमा मनपेट खोलेर भनेका कुराहरु कसैले रेकर्ड गरेर सार्वजनिक गर्ला भन्ने सामान्यतया सोचिँदैन । उनको हकमा पनि यहि भएको हो भन्छन् कतिपय ।
 
यसमा पहिले राजुले माफी माग्नुपर्ने मेसुको भनाइ छ । चिया गफमा अनौपचारिक रुपमा भनेका कुरालाई लुकाएर रेकर्डगरी तीन महिनापछि इडिट गरेर प्रसारण गरेको विषयमा साइबर क्राइम आकर्षित हुने भएपनि साथीभाइको नाताले आफू मुद्दामा नगएको भन्दै उनले माफी माग्नुपर्ने बताए ।
 

यता, उक्त अडियो मिडियाबाट हटाएपनि आफूसँग सुरक्षित रहेको र त्यसको गलत भए-नभएको परीक्षण गरे पत्ता लाग्ने राजुको भनाइ छ । 

कार्य समितिकै मान्छेबाट अडियो प्रसारण, प्रेस युनियनकै जिल्ला अध्यक्ष मुछिएको विषय अनि आफू भरतपुर अस्पतालको प्रेस सल्लाहकारसमेत भएका हुँदा पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुलीलाई पनि यो प्रकरण निकै टाउको दुखाइको विषय बनेको अवस्था छ ।

– अजय गोर्खाली

टिप्पणीहरू