चीनमा शुरु भएको सांघाई सहयोग संगठन (एससिओ) को २५ औं शिखर सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति रहे पनि विभागीय परराष्ट्रमन्त्री डा. आरजु राणाको भने अनुपस्थिति छ । हिजो बिहान प्रधानमन्त्रीलाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएकी मन्त्रीले सामाजिक सञ्जालमा अस्तिदेखि आफू गौरा पर्वमा व्यस्त रहेको फोटो र भिडियो पोष्टाइरहनुभएको छ । गौरा पर्व सुदूर पश्चिमका महिलाहरुबीच प्रख्यात छ भने जावलाखेलमा जन्मेकी मन्त्री राणा तीज पर्वसँग बढी नजिक रहेको ठानिन्छ ।
तर चीनमा आयोजित (एससिओ) सम्मेलनमा भएको मन्त्रीको अनुपस्थितिलाई सतही रूपमा गौरा पर्वसँग जोडिएकोमा कूटनीतिक वृत्तले दुःख मनाउ गरेको छ । उनीहरु भन्छन्, ‘राजनीतिक वृत्तमा यो अनुपस्थिति निकै अर्थपूर्ण र गहिरो छ ।’
अर्कोतर्फ प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा हुने भव्य सैनिक परेडमा समेत सहभागी हुने कार्यक्रम छ । यस्तो अवसरमा परराष्ट्रमन्त्रीको अनुपस्थितिलाई विशेष सन्देश बोकेको कूटनीतिक ‘दूरी’ को रुपमा अर्थ्याइएको छ ।

राणाको पृष्ठभूमि
डा. राणाको लामो समयदेखि अमेरिकालगायत पश्चिमा मुलुक,भारत र जापानसँग नजिकको सम्बन्ध रहेको बताइन्छ । बेलायत,अमेरिका र युरोपेली मुलुकहरुसँग स्वास्थ्य तथा विकास परियोजनामा लामो अनुभव भएकाले पनि उहाँ त्यता नजिकिनु स्वाभाविक हो ।
यता दक्षिणी छिमेकी मुलुक भारतको कूटनीतिक वृत्त र त्यहाँका राजनीतिक नेताहरुसँगको व्यक्तिगत तथा पारिवारिक सम्बन्धले उहाँलाई दक्षिण निकट भन्न करै लाग्छ । त्यसैगरी जापानी विकास सहयोगका कार्यक्रमहरूमा पनि उहाँको व्यक्तिगत तथा संस्थागत पहुँच देखिन्छ ।
यस पृष्ठभूमिमा चीनसँगको ठूला रणनीतिक मञ्चमा उहाँको उपस्थितिले पश्चिमा मुलुक, भारतीय र जापानी धारबाट चर्को आलोचना वा असहजता निम्त्याउन सकिनेतर्फ धेरैले विश्लेषण गर्न भ्याएका छैनन् । त्यसैले यसपटक परराष्ट्रमन्त्री राणाले आफ्नो अनुपस्थितिलाई ‘गौरा पर्व’ जस्तो सांस्कृतिक–सामाजिक कारणसँग बाँधेर ‘सजिलो बाटो’ रोज्नुभएको सहजै अनुमान लगाउन सकिन्छ । आमा प्रतिभा त्यहीँ राजदूत हुनुहुन्थ्यो । आरजू म्याडमको उपचार पनि त्यहीँ हुने गर्दछ ।
यसअघि कृषिमन्त्रीलाई रोकेर परराष्ट्रमन्त्री राणा गत असारमा रोम जानुभएको थियो । विभागीय मन्त्रीको रुपमा खाद्य तथा कृषि संगठन (एफएओ) को ४४ औं सभामा भाग लिन मन्त्री रामनाथ अधिकारी जानुपर्थ्यो । तर,अहिले उहाँ जानुपर्ने ठाउँमा शिक्षा र पर्यटनमन्त्रीलाई लगिएको छ भने आरजू म्याडम छिट्टै अर्थमन्त्री जानुपर्ने कार्यक्रममा सामेल हुन बैंकक जाँदै हुनुहुन्छ ।

सीमा विवाद र अप्ठ्यारो भूमिका
प्रधानमन्त्री ओलीले राष्ट्रपति सि जिनपिङसँगको भेटवार्तामा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय उठाइसक्नुभएको छ । यो भारतको तर्फबाट हेर्दा अत्यन्त संवेदनशील मुद्दा हो ।
यो विषय उठाउने भनेर प्रधानमन्त्रीले काँग्रेस सभापति शेरबहादुर देउवासँग गतसाताको भेटमा सल्लाह गरिसक्नुभएको थियो । तसर्थ यस विषयमा प्रत्यक्ष संलग्न हुँदा राणालाई ‘भारत विरोधी’ देखिने जोखिम छँदै थियो । भारतीय सत्तारुढ वृत्तसँग निकटताको पृष्ठभूमिमा यो जोखिम व्यवस्थापन गर्ने उपाय नै गौरा पर्वको आवरणमा अनुपस्थित रहनु हो भन्ने प्रष्ट छ ।
पश्चिमा शक्तिहरूको नजर र चीनको परेड
पर्सि बुधबार सेप्टेम्बर ३ मा बेइजिङमा हुने सैनिक परेड जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व फासीवादविरुद्ध विजयको ८०औँ वार्षिकोत्सवको प्रतीक हो । तर यसलाई अमेरिका,युरोपेली युनियन,जापान र भारतले ‘चीनको शक्ति प्रदर्शन’ भन्दै आएका छन् ।
प्रधानमन्त्री ओलीले उक्त परेडमा सहभागी हुने निर्णय गरेपछि गत साता नेपालका केही सञ्चारमाध्यममा चीन विरोधी र जापान समर्थन कित्ताबाट व्यापक प्रचार गरियो । त्यसैले परराष्ट्रमन्त्री उक्त परेडमा उपस्थित हुँदा नेपाललाई ‘चीन–पक्षधर’ भनेर मुछिने सम्भावना भएकाले ‘गौरा पर्व’को आवरणमा म्याडम बूढानीलकण्ठ निवासमै बस्नुभएको निश्कर्ष निकालिएको छ ।