ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी गर्न माग

ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी गर्न माग

नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध फेरि पक्राउ पुर्जी जारी गर्न माग गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा परेको छ । 

महरले विद्युतीय कारोबार ऐन ०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुर गरेको दावी गर्दै जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको हो । 

अनेरास्ववियुका पूर्वअध्यक्ष महर र उनकी श्रीमतीले सामाजिक सञ्जालमार्फत् गाली बेइज्जती तथा चरित्रहत्या गरेको भन्दै बझाङकी रश्मिला धामीले हुलाकमार्फत् प्रहरीको साइबर ब्युरोमा जाहेरी दिएकी थिइन् । त्यसमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि भदौ ११ आफैँ ब्युरोमा उपस्थित भएका महर दम्पतीलाई जिल्ला सरकारी वकिलको कार्यालयले बयान लिएर हाजिर जमानीमा छाडेको थियो ।

तर, आज प्रहरी अनुसन्धानको क्रममा महरले विद्युतीय कसुर गरेको ठहरिएको दावी गर्दै अदालतमा मुद्दा दर्ता भएको हो । अभियोग पत्रमा विद्युतीय कारोबार ऐन ०६३ को दफा ४७ बमोजिमको सजाय मागदावी गर्दै पक्राउ पुर्जी जारी गर्न भनिएको छ  ।

‘अनुपस्थित प्रतिवादी ऐन महर भन्ने ऐनबहादुर महरको हकमा मुलुकी फौजदारी कार्यविधि संहिता ०७४ को दफा ५७ बमोजिम पक्राउ पुर्जी जारी गरी पाउँ’, अभियोग पत्रमा उल्लेख छ ।

टिप्पणीहरू