रामहरिलाई मन्त्री हैन सभापति
संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई लैजाने सहमति सत्तारुढ गठबन्धनमा भएको छ । सरकारको नेतृत्वकर्ता एमाले र कांग्रेसका शीर्ष नेताहरुले खतिवडालाई सभापति बनाउने निर्णय गरेका हुन् ।
समितिको सभापतिका लागि भोलि निर्वाचन कार्यतालिका छ । गठबन्धनमा प्रष्ट बहुमत रहेकाले खतिवडा निर्विरोध सभापति बन्ने परिस्थिति देखिएको छ ।
सांसद खतिवडाले आफूलाई सभापति बनाउने निर्णय पार्टीले गरेको बताए । सदनको बैठकमा रहेका उनले जनआस्थासँग भने, ‘औपचारिक जानकारी आएको छैन, तर अनौपचारिक रुपमा मलाई नै पठाउने निर्णय भएको थाहा पाएको छु, पार्टीले निर्णय गरेपछि मैले नमान्ने कुरा हुँदैन ।’
यसअघि राज्य व्यवस्था तथा सुशासन समितिको सभापति रहेका खतिवडाले निजामति सेवा विधेयकको कुलिङ पिरियडसम्बन्धी प्रावधानमा भएको छेडखानीको ‘नैतिक जिम्मेवारी’ लिदै राजीनामा दिएका थिए । उक्त पदमा अहिले कांग्रेसकै इश्वरीदेवी न्यौपानेलाई लगिएको छ । उनी पहिले सुनुवाई समितिको सभापति थिइन् ।
कर्मचारीको बदमासीका कारण राजीनामा दिन परेकाले रामहरिमाथि अन्याय भएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई मन्त्री बनाउन चाहेको बुझिन्थ्यो । तर, पार्टीको आन्तरिक समीकरण नमिलेपछि मन्त्री हेरफेरतिर नलागेका देउवाले सुनुवाई समितिको सभापतिमा लैजाने निधो गरेको बताइएको छ ।
टिप्पणीहरू