यता सोह्रश्राद्ध, उता मृत आत्मा पर्व

यता सोह्रश्राद्ध, उता मृत आत्मा पर्व

चीन,जापानलगायत दक्षिण पूर्वी एसियाली मुलुकमा ‘हङ्ग्री घोस्ट फेस्टिभल’ मनाउन थालिएको छ । चन्द्र क्यालेण्डर अनुसार सातौं महिनाको सुरुवातसँगै पूर्वी र दक्षिण–पूर्वी एसियामा यो पर्व मनाइन्छ । ती मुलुकका बौद्ध र ताओ धर्मावलम्बीहरुले यो महिनामा मृत आत्माहरु मत्र्यलोकबाट पृथ्वीमा आउने विश्वास गर्छन् । 

नेपाल, भारतलगायत विश्वमा हिन्दु धर्मावलम्बीहरुले पनि भोलिदेखि सोह्रश्राद्ध मनाउँदैछन् । सूर्य क्यालेण्डर अनुसार भदौ कृष्णपक्षदेखि १६ दिनसम्म पितृहरुको सम्झनामा सोह्रश्राद्ध गर्छन् । उनीहरुले पनि यो अवधिमा मृत आत्माहरु मत्र्यलोकबाट पृथ्वीमा आउने विश्वास गर्छन् ।

चिनियाँ परम्परामा यो महिनालाई ग्वाई युथ अर्थात् ‘भूत महिना’ भनिन्छ। विशेषगरी सातौँ महिनाको १५औँ दिन पूर्वज र असन्तुष्ट आत्मालाई पूजा गरेर तृप्त पार्ने र त्यसै मार्फत पितृभक्ति प्रदर्शन गर्ने परम्परा रहिआएको छ ।

ताओ परम्परामा यो पर्वलाई झोङयुआन च्ये भनिन्छ । यो दिन पृथ्वीका शासक देवताको जन्मदिन हुने विश्वास छ । जसले जीवित मानिसका पाप क्षमा गर्ने ताओ धर्मावलम्बीहरु बताउँछन् । ती मुलुकका बौद्ध परम्परामा भने यसलाई युलान फेस्टिभल वा युलानपेन पर्व भनिन्छ । यससँग बुद्धका शिष्य मुलियनले आफ्नी आमा प्रेत लोकबाट उद्धार गरेको कथन जोडिएको छ ।

यो पर्वका अवसरमा विभिन्न स्थानमा खाना अर्पण, धूप बाल्ने, कागजका नक्कली रकम, लत्ताकपडा, घर, गाडी वा आधुनिक उपकरण मोबाइल फोन जलाएर आत्मालाई परलोकमा पठाउने प्रचलन छ । यसलाई जापानमा ‘ओबोन’ र भियतनाममा ‘भू–लान’ पर्वका रूपमा पनि मनाइन्छ ।

हङ्ग्री घोस्ट फेस्टिभलले भूतप्रेतलाई तृप्त पार्ने, जीवितलाई पनि करुणा र उदारताको शिक्षा दिने विश्वास गरिन्छ ।

टिप्पणीहरू