टिकटिकमार्फत नेताका छोराछोरी खुइल्याइँदै
सामाजिक सञ्जालमा सक्रिय ‘जेन जी’ पुस्ताले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको बिरोधमा आन्दोलन घोषणा गरेको छ । गत सातादेखि टिकटकमा शुरु भएको ‘नेप्पो बेबिज ट्रेन्ड’ अन्तर्गत नेताका छोराछोरी र नातिनातिनीहरूको विलासी जीवनशैलीलाई करदाताको पैसासँग जोड्दै विभिन्न पोस्ट र भिडियो सार्वजनिक भइरहेका छन् ।
‘कहाँ गयो हामीले तिरेको कर ?’, ‘हामीले तिरेको करमा नेताका छोराछोरीको मोज’ जस्ता शीर्षकसहितको खुला अभियान चलाइएको छ । आज बिहान ९ बजे काठमाडौँको नयाँबानेश्वर र पोखराको सभागृह चोकमा भेला हुन युवालाई आह्वान गरेका
उनीहरुले जनताले तिरेको कर भ्रष्टाचारमार्फत नेताका छोराछोरीको ऐसआराममा खर्च भएको सनसनीपूर्ण प्रचार गर्दै लेखेका छन् । ‘हामीले मःम खाँदा अचारमा बार्गेनिङ गर्नुपर्छ,तर नेताका छोराछोरी इटालियन पिज्जा खान्छन् । अब सहन सकिँदैन,अन्तिम पटक उठौँ,’ टिकटकमा लेखिएको छ, ‘हामीले लगाउने लुगामा २०० प्रतिशत कर, तर त्यो कर नेताका छोराछोरीले उडाउँछन् । अब बोल्नैपर्छ।’
‘हामीले मःम खाँदा अचारमा बार्गेनिङ गर्नुपर्छ,तर नेताका छोराछोरी इटालियन पिज्जा खान्छन् । अब सहन सकिँदैन,अन्तिम पटक उठौँ,’
उक्त ट्रेन्डअन्तर्गत पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा तथा परराष्ट्रमन्त्री डा.आरजू राणा देउवाका छोरा जयवीर र उनकी पत्नी, पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) की नातिनीहरूविरुद्ध धेरै पोस्ट गरिएको देखिन्छ । त्यसैगरी, नेकपा एकीकृत समाजवादी पार्टीका नेता विरोध खतिवडाकी छोरी तथा कैलाश सिरोहियाकी बुहारी पूर्व मिस नेपाल शृङ्खला खतिवडामाथि पनि आलोचनात्मक पोस्टहरू गरिएको छ ।
एमालेका नेता महेश बस्नेतकी छोरीको विवाह र अर्का परिवार दलका अध्यक्ष तथा एमाले समानुपातिक सांसद एकनाथ ढकालकी छोरीको व्यक्तिगत विदेश यात्रासम्बन्धी तस्बिर प्रयोग गरेर पनि भ्रष्टाचारसँग जोडिएको छ । यी सबै पोस्टमा उनीहरूको विलासी जीवनशैलीलाई नेपालको गरिबी र भ्रष्टाचारको परिणामका रूपमा चित्रण गरिएको छ ।
तर,तीे पोस्ट गर्ने टिकटक एकाउण्टहरू प्रायः विदेशमा रहेका नेपाली,नेपालमै रहेका केही युवा तथा छद्मनाम प्रयोगका युजर भएको बताइन्छ । पोस्टहरूमा इन्डोनेसियामा यस्तै ट्रेन्डमार्फत शुरु भएको विद्रोह सफल भएको उल्लेख गर्दै ‘नेपालमा पनि सम्भव छ’ भनिएको छ ।
‘जेन जी’ पुस्ताले गर्न लागेको आन्दोलन र बनाइएको टिकटक ट्रेन्डबारे प्रहरीले सुक्ष्म अध्ययन भइरहेको जनाएको छ ।
टिप्पणीहरू