नेपालमा धर्म परिवर्तन गराउन फेरि सक्रिय विदेशी

नेपालमा धर्म परिवर्तन गराउन फेरि सक्रिय विदेशी

धर्म मानिसको आस्था हो । मानिस जुन विचार, आचरण र धारणा ग्रहण गर्छ, त्यो नै धर्म हो । मानव समाजमा अनेक धार्मिक आस्था विकसित भएको छ । नेपालको संविधान, २०७२ ले धार्मिक स्वतन्त्रता (धर्म निरपेक्षता) को व्यवस्था गरेको छ । 

संविधानको धारा २६ मा प्रत्येक नागरिकलाई आफ्नो आस्थाअनुसारको धर्मको अवलम्बन, अभ्यास र संरक्षणको स्वतन्त्रता हुने प्रावधान छ । त्यसैले, व्यक्ति स्वयम्को स्वविवेकले धर्म मान्न र परिवर्तन गर्न पाउँछन् । 

तर, पछिल्लो समय धर्मको किनबेच मौलाएको छ । अनेकौं प्रलोभनमा जबरजस्ती धर्म परिवर्तन गराउने विदेशी समूह नेपालमा पुनः सक्रिय भएको देखा पर्न थालेको छ । विशेषगरी विपन्न समुदायमा विभिन्न लोभलालच देखाएर रातारात धर्म परिवर्तन गराउने क्रम बढिरहेको छ । 

छोराछोरी पढाइदिने, उपचार गराइदिने, जागिर लगाइदिनेजस्ता प्रलोभनमा पारेर गरिब व्यक्ति तथा समुदायको धर्म परिवर्तन गराउन थालिएको छ । धर्म परिवर्तन गराउन जिल्ला–जिल्ला, टोल–टोलमा विदेशी एजेण्ट वा व्यक्तिहरु नै खटिएको पाइन्छ । 

त्यसको प्रभावस्वरुप हिमाली तथा पहाडी जिल्लामा धर्म परिवर्तन फस्टाउँदै समेत गइरहेको छ । हिन्दुसहितका धर्मलाई कठोर भनि भ्रम फैलाउँदै क्रिश्चियन, इस्लाम धर्मको अनुयायी बनाउने अभियान तीव्र रुपमा चलाइएको छ । जसलाई पछिल्ला केही सातामा देखा परेका घटनाक्रमले समेत पुष्टि गर्दछ । 

भदौ पहिलो साता चार जना ईण्डोनेशियन नागरिक पक्राउ परे । इस्लाम धर्म प्रचार र परिवर्तनमा संलग्न उनीहरुलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको थियो । विभागका अनुसार उनीहरुलाई जनही ५० हजार रुपैयाँ जरिवानासहित तीन वर्षसम्म नेपाल प्रवेशमा रोक लगाउँदै निष्काशन (डिपोर्ट) गरिएको छ । 

कारबाहीमा परेका चार ईण्डोनेशियनमध्ये तीन जना स्टडी र एक जना टुरिस्ट भिसामा सन् २०२४ मा नेपाल आएका थिए । ललितपुरको धोवीघाटस्थित हिमालय शिक्षा तथा हितेशी समाजमार्फत उनीहरुले कुरान र टर्कीस भाषा पढाउनुका साथै मुस्लिम धर्मको प्रचारप्रसार गर्दै आएको पाइएको हो । 

समाजद्धारा धोवीघाटमा सञ्चालित दुई होस्टलमा बस्ने बालबालिकालाई कुरान पढाइरहेकै बेला उनीहरुलाई अध्यागमन विभागको टोलीले नियन्त्रणमा लिएको थियो । सो घटनाको केही दिनमै अमेरिकी नागरिक डेनियन एस कोर्नी पनि पक्राउ परेका हुन् । 

व्यवसायिक भिसामा नेपाल आएका उनी खुलम् खुल्ला ईसाइ (क्रिश्चियन) धर्म प्रचारप्रसार गर्ने, बालगृहका बालबालिकालाई ईसाइ धर्म सिकाउने र धर्म परिवर्तनमा संलग्न रहेको भेटिएको हो । 

कोर्नीलाई पनि ५० हजार रुपैयाँ जरिवानासहित ११ वर्षसम्म नेपाल प्रवेशमा रोक लगाउँदै अमेरिका डिपोर्ट गरिएको छ । मुलुकमा धर्म परिवर्तन गराउन विदेशी समूह सक्रिय भएको यो पहिलो पटक होइन । यसअघि पनि विदेशी संघसंस्थाले नेपालीमार्फत समेत नेपालमा धर्म परिवर्तन गराउँदै आएका थिए । 

नेपालको संविधान र कानूनले धर्म निरपेक्षताको व्यवस्था गरेतापनि धर्मको प्रचारप्रसार र धर्म परिवर्तन गराउने छुट कसैलाई दिएको छैन । कसैले जबरजस्ती वा प्रलोभनमा पारेर धर्म परिवर्तन गराउनुलाई कानूनी अपराध मानिएको छ । 

संविधानको धारा २६ मा भनिएको छ, ‘यस धाराद्वारा प्रदत्त हकको प्रयोग गर्दा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भंग गर्ने क्रियाकलाप गर्न, गराउन वा धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन र त्यस्तो कार्य कानुनबमोजिम दण्डनीय हुनेछ ।’

त्यस्तै, वैदेशिक सहयोग स्वीकृतिसम्बन्धी निर्देशिका, २०७१ मा पनि कुनै पनि धार्मिक आस्था वा धार्मिक कार्यक्रम सञ्चालन गर्नेगरी वैदेशिक सहयोग आएमा त्यस्तो प्रस्ताव स्वीकृत गर्न नहुने उल्लेख छ । 

तर, केही वर्षयता नेपालका केही गैरसरकारी संघसंस्था (एनजीओ) विदेशी संघसंस्थासँग आर्थिक सहयोग लिई मुलुकमा धर्म परिवर्तन गराउन लागिपरेको भेटिन्छ । धर्मकै नाम भजाएर समाजमा विभिन्न किसिमका स्वार्थ फिजाइएको छ । अझ भन्नुपर्दा धर्ममाथि दोषारोपण गरेर धर्मकै खेती गर्ने काम भइरहेको छ । 

बालगृहमार्फत धर्म प्रचार 

नेपालमा धर्म परिवर्तन गराउन सक्रिय विदेशी एजेण्ट तथा व्यक्तिहरुको निशानामा बालगृह तथा विद्यालय पर्ने गरेको देखिन्छ । पछिल्लो पटक देखिएका होस् या विगतमा घटेका प्रायजसो घटनाले पनि मुलुकमा धर्म परिवर्तन गराउन बालगृहहरु सक्रिय रहेको पाइन्छ । 

बालगृहमा रहेका अनाथ र गरिब बालबालिकालाई क्रिश्चियन, इस्लामलगायत विदेशी धर्म सिकाउने, पढाउने र धर्म परिवर्तन गराउने गरिएको छ भने विद्यालयमा अध्ययनरत बालबालिका, विद्यार्थीलाई विभिन्न उपहार बाँडेर क्रिश्चियन धर्ममा लाग्न प्रेरित गर्ने गरिन्छ । 

अध्यागमन विभागका प्रवक्ता एवं निर्देशक टीकाराम ढकालका अनुसार आर्थिक अवस्था कमजोर भएका, असहाय, अभिभावकविहीन बालबालिका ल्याएर बालगृहमा राख्ने र त्यही क्रिश्चियनसहित विदेशी धर्मको प्रचार गर्ने गरेको पाइएको छ । यसरी धर्म परिवर्तन गराएबापत सम्बन्धित संस्थाले विदेशी संस्थासँग वार्षिक रुपमा करोडौं रकम बुझ्ने गरेको उनको भनाइ छ । 

त्यसो त मुलुकका विभिन्न ठाउँमा बेलाबखत विद्यालय वा बालगृहमार्फत क्रिश्चियन धर्म प्रचारप्रसार वा सो धर्ममा लाग्न प्रेरित गरेको आरोपमा नेपाली नागरिकहरु पनि पक्राउ पर्दै आएका छन् । 

मन्दिर कि चर्च ? 

नेपाल धर्म निरक्षेप राष्ट्र घोषणा भएसँगै धर्मको विषयमा हाम्रो समाजमा विशेषतः दुई थरी मत सुनिन्छ । एकथरी भन्छन्, ‘मन्दिर जानुपर्छ, पूजापाठ गर्नुपर्छ । भजन किर्तन गर्नुपर्छ ।’ अर्काथरी भन्छन्, ‘चर्च धाउनुपर्छ । प्रार्थना गर्नुपर्छ । बाइबल पढ्नुपर्छ ।’ कोही चाँहि गुम्बा धाउनुपर्छ भन्छन्, कोही मस्जिद । 

‘यो धर्ममा लाग्नुपर्छ, त्यो धर्म त्याग्नुपर्छ’, ‘यो धर्ममा लागे जटिल रोग पनि निको हुन्छ, पुण्य कमाइन्छ’ जस्ता भ्रम र हिन्दु, बौद्ध, ईसाइ, ईस्लामलगायत धर्मको दर्शन र पद्धतिकै अपव्याख्या गरेर धर्म परिवर्तन गराउने गरिएको छ । लोभ र पापको भय देखाएर धर्म बदल्न मानिसमाथि दबाब मात्र दिइरहेको छैन, धर्मको व्यापार र राजनीतिसमेत भइरहेको छ । 

अध्यागमन भन्छ– निगरानीमा राखेका छौं 

अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकाल नेपालमा धर्म परिवर्तन गराउन विदेशी गिरोह सक्रिय भएको पाइएको बताउँछन् । उनका अनुसार पछिल्ला केही महिनायता ईसाइ, ईस्लाम धर्ममा लाग्न प्रेरित गर्दै विदेशी नागरिकहरु सार्वजनिक स्थलमै प्रचारप्रसार गर्ने, विद्यालय, बालगृहका बालबालिकालाई सो धर्म सिकाउने, पढाउनेजस्ता गतिविधि बढ्दो देखिन्छ । 

‘मेरै नेतृत्वमा त्यस्ता गतिविधिमा संलग्न केही विदेशीलाई पक्राउ गरिसक्यौं । अन्यलाई पनि निगरानीमा राखेका छौं,’ उनले भने, ‘उनीहरु पर्यटक, व्यवसायिक, विद्यार्थी भिसामा नेपाल आएर आफ्नो धर्मको प्रचारप्रसार गर्दा रहेछन्, त्यो पनि बालगृह र विद्यालयमार्फत । नेपालमा धर्म परिवर्तन गराउने भनेरै योजनाबद्ध रुपमा आएकोजस्तो देखियो ।’

भिसा उद्देश्यविपरीतका गतिविधि गर्ने विदेशी नागरिकमाथि विभागले सुक्ष्म रुपले निगरानी राखेको प्रवक्ता ढकालको भनाइ छ । ‘नेपाल आउने जुनसुकै विदेशी नागरिकमाथि हामीले सुक्ष्म तवरले निगरानी गरिरहेका छौं । असोज १ गतेदेखि विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली नै लागू गर्दैछौं । यसले गैरकानूनी क्रियाकलापमा संलग्न विदेशीमाथि निगरानी र तत्काल कारबाही गर्न सहज हुनेछ,’ उनले भने ।

टिप्पणीहरू