नेतृत्वहरु, अब सुध्रिने कि सक्किने ?

नेतृत्वहरु, अब सुध्रिने कि सक्किने ?

नेपालमा सूचीकरण हुन नआएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत साताको बिहिबारदेखि फेसबुकसहित २६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो । सामाजिक सञ्जालमाथि नियमन गर्नुको साटो सरकारले वाक स्वतन्त्रतामाथि नियन्त्रण गर्न खोजेको भन्दै विरोधहरु भइरहेका थिए । यसैक्रममा जेनेरेशन जेड अर्थात ‘जेन जी’ पुस्ताले भ्रष्टाचार र सामाजिक सञ्जालमा प्रतिबन्धविरुद्ध आन्दोलनको घोषणा गर्यो । 

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलामा आन्दोलनका लागि उनीहरुलाई हिजो अनुमति दियो । तर, शान्तिपूर्ण रुपमा हुने भनिएको आन्दोलनले सोच्दै नसोचेको रुप लियो । बिहान माइतीघरमा स्कूल, कलेजकै पोशाकमा विद्यार्थी, युवाहरु भेला भए । ब्याग बोकेरै आन्दोलनमा आएका उनीहरुको हातमा ‘हाम्रो भविष्य बिक्रीमा छैन’, ‘असन्तुष्टि चरम छ,नेताको गोजी गरम छ’, ‘जेन जी चिच्याउँछ,भ्रष्टहरुलाई गिज्याउँछ’, ‘जेन जी हियर,फ्युचर क्लियर’ लगायतका प्लेकार्डहरु थिए । 

‘जेन जी’ हरु सडकमा आउने भएपछि सयौंको संख्यामा प्रहरी खटाइयो । तर, घटनाले हिंसात्मक रुप लिन्छ भन्ने प्रहरीले आकलनसमेत गरेको थिएन । माइतीघरबाट निकालिएको र्याली नयाँ बानेश्वरमा आएपछि उग्र बन्यो । प्रहरीको ब्यारिकेड तोडेर प्रदर्शनकारीहरु संसद् भवन प्रवेश गरे । संसद् भवनमा तोडफोडदेखि आगजनीसम्म गरियो । आन्दोलन परिस्थितिभन्दा बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कर्फ्यु आदेश जारी गर्यो । 

यता,प्रमुख जिल्ला अधिकारी छवि रिजालले सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्याउनेलाई गोली हान्न निर्देशन दिए । आन्दोलनमा दुई दर्जनभन्दा बढीको मृत्यु भइसकेको छ भने सयौं घाइते छन् । यता,सूचना संकलन गर्न गएका चार जना पत्रकारलाई पनि गोली लागेको छ । आन्दोलनकारीले राष्ट्रिय मानव अधिकार आयोगको गाडी र एक स्कोर्पियोमा आगजनी गरेका छन् । 

आन्दोलनलाई नियन्त्रणमा लिन आएका सेना र सशस्त्र प्रहरीको गाडीसमेत उनीहरुले घेरेका हुन् । काठमाडौंमा मात्र नभई पोखरा, बुटवल,भरतपुर,विराटनगर, वीरगञ्जलगायतका ठाउँमा भएको आन्दोलनले पनि अनपेक्षित रुप लियो । ईटहरीमा दुई जनाको ज्यान गएको छ । आन्दोलन नियन्त्रणभन्दा बाहिर गएपछि कास्की र रुपन्देही प्रशासनले पनि कर्फ्यु आदेश जारी गरेको छ । तैपनि,तत्काल आन्दोलन रोकिने छाँटकाँट देखिएको छैन ।

युवा पुस्ताहरु राजनीतिदेखि वाक्कदिक्क भइसकेका छन् । नेताप्रति आक्रोशको आगो बलिरहेको छ । मुलुकमा भ्रष्टाचार व्याप्त छ । सरकारले जनतामाथि करको भार थुपारिरहेको छ, जसको सदुपयोग हुन सकेको छैन । जनताले तिरेको कर नेतृत्वहरुको सुविधामै ठिक्क भइरहेको छ । अर्कोतिर,वैदेशिक ऋण निरन्तर बढ्दै गएको छ । 

रोजगारीको अवसर नहुँदा दैनिक दुई हजार बढी वैदेशिक रोजगारीमा गइरहेका छन् । कुनै समय कृषिउपज निर्यात गर्ने मुलुक अहिले श्रमिक निर्यात गर्ने मुलुकमा परिणत भएको छ । पटकपटक एउटै व्यक्ति पदमा पुग्ने र आफ्नालाई पोस्ने क्रम जारी छ । नेताका सन्तान र आफन्त उच्च पदमा पुगिरहँदा सर्वसाधारणका छोराछोरी खाडीमा रगतपसिना बगाउन बाध्य छन् ।

गरिबको नारा लगाएर सत्तामा पुगेका नेताहरु उनीहरुलाई फर्किएर पनि हेर्दैनन् । घुस नखुवाएसम्म सरकारी काम हुँदैन । सुशासनको नाममा कुशासन मौलाएको छ । देशलाई ‘लुटिखाने भाँडो’ बनाइएको छ । विकासको सपना देखाएर नेताहरुले बारम्बार जनतालाई झुक्याएका छन् । ‘सानालाई ऐन र ठूलालाई चैन’ को अवस्था छ । 

सानालाई धमाधम जेल कोचिरहँदा ठूल्ठूला अपराधमा मुछिएका पहुँचवालालाई संरक्षण गरिएको छ । नेतृत्वहरुले बारम्बार संविधानको उल्लंघन गरेका छन् । न्याय पाउनु ‘फलामको चिउरा चपाउनु’ सरह बनेको छ । नेताहरुलाई जनताले तिरेको करमा आलिशान महल बनिरहँदा जनता अहिलेपनि तुइनकै भरमा खोला तरिरहेका छन् । 

दुर्गम जिल्लामा सिटामोलसमेत नपाउने विडम्बनापूर्ण अवस्था छ । जनताको कुरा सुन्नुको साटो सरकारले उल्टै दमनयुक्त प्रवृत्ति देखाइरहेको छ । युवापुस्ताले नेपालमा भविष्य देख्न छोडिसकेका छन् । जनता समस्यै समस्यामा बाँचिरहँदा नेताहरु ‘तँ खाने कि म’ भन्नेमै केन्द्रित छन् । सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा आन्दोलन हुँदा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले मुलुक छोड्नुपरेको थियो । 

यता, श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भागेका थिए । नेपालमा पनि असन्तुष्टिका आवाजहरु गुन्जिँदै गएका छन् । जसलाई नेताले ख्यालख्यालमा लिइरहेका छन् । राजनीतिक पार्टीहरुले अझैपनि जनताको आवाजलाई नसुन्ने हो भने यसले ठूलै रुप लिने देखिन्छ ।

टिप्पणीहरू