रविलाई निकाल्ने ‘जेन–जी’ कि रास्वपा ?

रविलाई निकाल्ने ‘जेन–जी’ कि रास्वपा ?

जेनेरेशन जेड अर्थात ‘जेन–जी’ ले गरेको भ्रष्टाचार तथा सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्धको आन्दोलनले एकाएक हिंसात्मक र ध्वँसात्मक रुप लिँदा मुलुकले ठूलो मानवीय,आर्थिक र भौतिक क्षति भोग्नुपरेको छ । ऐतिहासिक धरोहरहरु जलेर ध्वस्त बनेको छ । त्योसँगै देशभर अपराध बढ्ने खतरा देखिएको छ । मुलुकका दर्जनौं कारागार खाली हुँदा समाज भयावह स्थितिमा छ । 

जेन–जी आन्दोलनको फाइदा उठाउँदै काठमाडौंसहित बाहिरी जिल्लाका कारागारबाट हजारौं कैदीबन्दी भागेका छन् । सहकारी ठगीको अभियोगमा नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछाने पनि मौकामा चौका हान्नेमा परेका छन् । शुरुमा आफूलाई जेन–जीले निकालेको बताएका उनले हिजो लाइभमा आएर कारागारले जबरजस्ती घर पठाएको ठोकुवा गरेका छन् । 

असुरक्षा भएकाले कारागार प्रशासनले आफूलाई जबरजस्ती परिवारको जिम्मा लगाएको उनको दावी छ । यता,उनले कारागारले दिएको भनेर देखाइरहेको पत्र पनि शंकास्पद छ । सो पत्रमाथि धेरैले प्रश्न उठाइरहेका छन् । जेन–जीहरुले उनलाई ननिकालेको र पुनः कारागार नै पठाउनुपर्ने माग राखिरहेका छन् । उनी निस्किनुअगावै रास्वपा नेतृ ज्वाला संग्रौलाले ‘रवि दाइ रिहा हुँदै । नख्खु कारागार पुगेर निकाल्ने तयारी’ भनेर स्ट्याट्स लेखेको पाइएको छ ।

‘रवि लामिछानेलाई जबरजस्ती जेलबाट रिहा गरियो भनेर भनिरहेका छन् । तर, उनी निकटकै ज्वाला संग्रौलाले हिजो रवि दाइलाई छुटाउन गइरहेका छौं भन्दै लाइभ गरेकी थिइन् ।’

रविले ‘मलाई जबरजस्ती जेलबाट रिहा गरियो’ भनिरहँदा ज्वालाले ‘रवि दाइलाई छुटाउन गइरहेका छौं’ भन्दै स्ट्याट्स लेख्नु र लाइभ आउनुले गम्भीर प्रश्न खडा गरेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता आशिषप्रताप मल्लले लेखेका छन्,‘रवि लामिछानेलाई जबरजस्ती जेलबाट रिहा गरियो भनेर भनिरहेका छन् । तर, उनी निकटकै ज्वाला संग्रौलाले हिजो रवि दाइलाई छुटाउन गइरहेका छौं भन्दै लाइभ गरेकी थिइन् ।’

त्यसैगरी, मुकुन्द रावलले कैदी फरार गरेको अभियोगमा रास्वपाका सबै सांसदलाई जेल हाल्नुपर्ने बताएका छन् । उनले लेखेका छन्,‘२१ सांसद नै राजीनामा गरेर कैदी फरार गरेको अभियोगमा जेल जाने निश्चित छ ।’ वीरेन्द्र भण्डारीले रविको अभिव्यक्तिको मजाक उडाएका छन् । 

‘यो जबरजस्ती जेल हालियो भन्ने स्टेटमेण्ट त सुनेको थिएँ । यो जबरजस्ती जेलबाट निकाल्यो भन्ने पनि सुनियो’,उनले भनेका छन् । कारागार प्रशासनले नभई रास्वपाले रविलाई निकालेको आशंका नरेश चिरालको छ । लेख्छन्,‘भित्रबाट निकाल्ने यिनीहरु नै हुन सक्छन् ।’

टिप्पणीहरू