‘जेन–जी’ को नाम बेच्दै यी नेताको घर खरानी
भदौ २३ र २४ गते भएको ‘जेन–जी’ प्रदर्शनले उग्र रुप लिँदा मुलुक क्षणभरमै तहसनहस बन्यो । आक्रोशको नाममा निजी र सरकारी सम्पत्तिमा अन्धाधुन्ध आगो लगाउँदा सबै खरानीमा परिणत भएको छ । शीर्ष नेताहरुको घर दनदनी बलेको छ । रास्वपाका सबै र राप्रपा निकट दमकका मेयर राम थापाबाहेक सबै पार्टीका नेताको घर आन्दोलनकारीको निशानामा पर्दा ठूलो क्षति पुगेको छ ।
स्थिति नियन्त्रणबाट बाहिर गएपछि पदबाट राजीनामा दिएका प्रधानमन्त्री केपी शर्मा ओलीको पुर्ख्यौंली घरसमेत जलाइएको छ । तेह्रथुम,झापा र भक्तपुरको बालकोटस्थित घर अब तस्विरमा मात्र सीमित बनेको छ । त्यसैगरी,नेकपा एमालेबाट पृथ्वीसुब्बा गुरुङ्ग,गोकुल बाँस्कोटा,महेश बस्नेत, विष्णुप्रसाद पौडेल,पदम गिरी,सुरेन्द्र पौडेल,शंकर पोखरेल,ईश्वर पोखरेल, रघुवीर महासेठ,योगेश भट्टराईको घरमा क्षति भएको छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठ र उनकी पत्नी आरजु देउवाको कञ्चनपुरस्थित घरमा आगजनी गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित घर जलेको छ । काँग्रेसबाट क्षति भोग्ने अन्य नेतामा पूर्णबहादुर खड्का,गगन थापा, विश्वप्रकाश शर्मा,प्रकाशमान सिंह , दिपक खड्का,रमेश लेखक रहेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटार र चितवनको शिवनगरस्थित निवासमा आगो लगाइएको छ । उनकी छोरी गंगा दाहालसहित माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ,नन्दबहादुर पुन,कृष्णबहादुर महरा,अग्निप्रसाद सापकोटा, माधव सापकोटा (सुवोध), अधिवक्ता रामनारायण बिडारीको घर ध्वस्त भएको छ । थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टले चढ्ने बिडारीको गाडी पनि बालिएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरदसिंह भण्डारी,जनता समाजवादी पार्टी,नेपालका अध्यक्ष उपेन्द्र यादव, प्रदीप यादवको घर पनि आन्दोलनकारीको निशानामा परेको छ ।
टिप्पणीहरू