संवैधानिक सर्वोच्चता र कानुनी शासनमा खलल नपार्न आग्रह

संवैधानिक सर्वोच्चता र कानुनी शासनमा खलल नपार्न आग्रह

नेपाल बौद्धिक परिषदले मुलुकको राष्ट्रियता, अखण्डता, स्वाभिमान, सार्वभौमिकता, संवैधानिक सर्वोच्चता र कानुनी शासनमा खलल नपार्न र त्यस्तो हुन सक्नेतर्फ गम्भीर हुन अनुरोध गरेको छ । विभिन्न शक्ति केन्द्रहरुको समेत चलखेल बढ्दै गएकाले यसतर्फ सजग रहन परिषद्ले सम्बद्ध पक्षलाई सचेत गराएको छ ।

’जेन जी’ आन्दोलनका क्रममा प्रहरीको गोली प्रहारबाट १९ जना युवाहरुको दुःखद निधन र चार सयभन्दा बढी घाइते भएको घटनाले सिङ्गो मुलुकसँगै नेपाल बौद्धिक परिषद् मर्माहत बनेको जनाइएको छ । घटनाप्रति नैतिक जिम्मेवारी ग्रहण गर्दै प्रधानमन्त्रीले राजीनामा दिएपछि पनि आन्दोलन लम्बिँदा अवाञ्छित तत्वको प्रवेशसँगै सङ्घीय संसद भवन, राष्ट्रपति भवन, ऐतिहासिक सिंहदरबार, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, प्रहरी कार्यालयहरु लगायतका संरचना ध्वस्त पारिँदा बहुमूल्य र दुर्लभ अभिलेख, दस्तावेज र लिखतहरु जलेर नष्ट भएका छन् । 

प्रदेश तथा स्थानीय तहका कार्यालयहरु, निजी व्यापारिक संरचना र सम्पतिलगायत सयौं संरचनामा खबौँको नोक्सानी भएको छ । जेलबाट गम्भीर कसुरमा दोषी साबित हजारौं कैदीबन्दीहरु समाजमा मिसिएर सुरक्षा चुनौती थपिएकोमा परिषद चिन्तित देखिएको छ । यसले समग्रमा विकासका दृष्टिले मुलुकलाई दशकौं पछाडि धकेलिएको र शान्तिपूर्ण प्रदर्शन रहने आयोजकहरुको पूर्व घोषणा विपरित विध्वंसात्मक र विनाशकारी घटनाको यथार्थ छानबिन माग गरिएको छ ।

देशलाई लामो समयसम्म राजनीतिक शून्यतामा नराख्न आग्रह गर्दै परिषद अध्यक्ष गजेन्द्र्रप्रसाद थपलियाले बुद्धिजीवीहरुलाई जनताको मनोबल बढाउन र राष्ट्रिय एकता, देश र देशबासीको मनोबललाई माथि उठाउन आवश्यक संवाद तथा रचनात्मक भूमिका आग्रह गरेका छन् ।
 

टिप्पणीहरू