खरानी प्रदेश राजधानी

खरानी प्रदेश राजधानी

कोशी प्रदेशको राजधानी विराटनगर आन्दोलनको क्रममा अराजक समूहको हिंसा, तोडफोड र आगजनीका कारण ध्वस्त बनेको छ। प्रदेश सभा भवनदेखि अदालत, सरकारी कार्यालय, निजी घर र व्यावसायिक मलसम्म जलेर खरानी भएका छन्।

देवकोटा चोकस्थित प्रदेश सभा र सचिवालय भवन पूर्णरूपमा जलेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय लगायतका मन्त्रालयमा आगजनी भएको छ। विराटनगरको भाटभटेनी सुपरमार्केट, महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय, हुलाक, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला अदालत लगायत अधिकांश सरकारी कार्यालय जलेर नष्ट भएका छन्।

नेता–कार्यालय पनि निशानामा

अराजक समूहले एमाले मोरङको पार्टी कार्यालय, प्रतिनिधिसभा सांसद ऋषिकेश पोखरेलको घर, कोइराला निवास, माओवादी नेताहरू शिवकुमार मण्डल र जीवन आचार्यको घरमा समेत तोडफोड र आगजनी गरेका छन्। अस्पताल चोकस्थित कोइराला निवास पूर्णरूपमा खरानी बनेको छ।

कागजात र सम्पत्ति नष्

प्रहरीका अनुसार अदालत, राजस्व कार्यालय र महानगरपालिकाका सबै कागजात जलेर नष्ट भएका छन्। प्रदेशसभाको नयाँ भवन पनि जलेर खरानी बनेको छ। आगलागीबीच लुटपाट समेत भएको प्रहरीले जनाएको छ।

निषेधाज्ञा र कफ्र्यू

स्थितिलाई नियन्त्रणमा लिन बुधबारदेखि सेना र प्रहरीले विराटनगरभरि कफ्र्यू लागू गरेका छन्। बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म निषेधाज्ञा र साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म कफ्र्यू आदेश जारी गरिएको छ। सेनाले माइक्रोफोन मार्फत् सूचना जारी गर्दै सबैलाई घरभित्रै बस्न आग्रह गरेको छ।

जोगबनी नाकाबन्द

अराजकतालाई मध्यनजर गर्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पनि जोगबनी नाका बन्द गरेको छ ।

अभियन्ता र स्थानीय सक्रिय

तोडफोड र आगजनीपछि ध्वस्त सडक र संरचनाको सरसफाइमा स्थानीय अभियन्ता सक्रिय भएका छन्। उनीहरूले खरानी र जलेका सामग्री हटाउँदै केही सरकारी कार्यालयमा बलिरहेको आगो आफैं निभाएका छन्।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार अरबौंको क्षति भएको अनुमान गरिएको छ, तर पूर्ण विवरण संकलन हुन बाँकी छ।

टिप्पणीहरू