नयाँ आन्दोलनले ध्वस्त कोशी
भदौ २३ र २४ गते भएको जेनेरेशन जेड उर्फ जेन–जीको प्रदर्शनमा अराजक समूहले आगजनी गर्दा कोशी प्रदेशका सरकारी कार्यालयहरु ध्वस्त भएको छ । प्रदेशको राजधानी विराटनगरमा अवस्थित प्रदेश सभा, जिल्ला अदालत, महानगरपालिका, मुख्यमन्त्री कार्यालय, कोइराला निवास, भाटभटेनीसहित दर्जनौं सार्वजनिक संरचनाहरु खण्डहर बनेका छन् ।
आन्दोलनमा घुसपैठ हुँदा सरकारीदेखि निजी सम्पत्तिसम्ममा आगजनी गरिएको हो । देवकोटा चोकमा रहेको कोशी प्रदेश सभा र सचिवालय भवन खरानीमा परिणत भएको छ । रोडशोष चोकस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सोमबारे हाटस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा तोडफोडपछि आगजनी गरिएको छ ।
शनिमन्दिर चोकमा अवस्थित भाटभटेनी पनि आन्दोलनकारीको निशानामा परेको छ । विराटनगर महानगरपालिका, आन्तरिक राजश्व कार्यालय, परीक्षा नियन्त्रण कार्यालय, प्रदेश प्रमुखको कार्यालय र निवास, वन कार्यालय, मोरङ जिल्ला अदालत, कोष तथा लेखा नियन्त्रण कार्यालय ध्वस्त बनाइएको छ ।
नेकपा एमाले, मोरङको पार्टी कार्यालय र विराटनगरस्थित अस्पताल चोकमा रहेको कोइराला निवास पनि जलेको छ । विराटनगर महानगरपालिका–१, पोखरियास्थित नेकपा माओवादीका केन्द्रीय सदस्य शिवकुमार मण्डल र ठूलोमिल चोकस्थित जीवन आचार्यको निवासमा पनि क्षति पुर्याइएको छ ।
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका तत्कालीन सभापति ऋषिकेश पोखरेलको तीनटोलियास्थित घर तोडफोड भएको छ । स्थानीय पालिकाका जनप्रतिनिधिहरुको निवास आन्दोलनकारीबाट जोगिन सकेनन । मोरङको प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालका अनुसार प्रदर्शनकारीहरुले विराटनगरमा रहेका अधिकांश मुख्य संरचना र कार्यालयहरु ध्वस्त बनाएका छन् । संरचनासँगै कागजात पनि जलेको उनको भनाइ छ ।
पुष्पलाल चोकमा रहेको नेता पुष्पलाल श्रेष्ठको सालिक, तीनपैनी र बरगाछीमा रहेको प्रहरी पोष्टमा आगो लगाइएको उनले जानकारी दिइन् । तर, हालसम्म के कति क्षति भयो ? भन्ने यकिन विवरण आइनसकेको उनले बताइन् ।
सरसफाइमा जुट्दै अभियन्ता र स्थानीय
गत मंगलबार प्रशासनले लगाएको कफ्र्यु तोडेर ध्वस्त बनाइएका सरकारी र निजी संरचना सरसफाइ गर्न थालिएको छ । स्थानीय र अभियन्ताले आफैं सफा गरिरहेका छन् । उनीहरुले सडकमा रहेका खरानी र जलेर ध्वस्त भएका सामानहरु हटाएका छन् । सरकारी कार्यालयमा बलिरहेको आगो पनि निभाइएको छ ।
टिप्पणीहरू