औद्योगिक क्षेत्रको व्यवस्था अहिलेसम्म भएको छैन

औद्योगिक क्षेत्रको व्यवस्था अहिलेसम्म भएको छैन

भदौ १४ गते सम्पन्न चितवन उद्योग संघको १८ औं अधिवेशनबाट अध्यक्षमा निर्वाचित मदन घिमिरे एक अनुभवी उद्योगीका रूपमा चिनिन्छन् । २०७१ सालदेखि संघको केन्द्रीय कमिटीमा रहेर काम गरेका उनी गत कार्यसमितिमा कार्यवाहक अध्यक्षको जिम्मेवारीमा थिए । पहिलोपटक २०७१–२०७२ मा कार्यसमिति सदस्य, २०७२–०७४ मा कोषाध्यक्ष हुँदै २०७४ देखि ८० सम्म निरन्तर उपाध्यक्ष रहे ।

यसपटक गजेन्द्र अधिकारी, ताराबहादुर कार्की, गोपालप्रसाद गैरे, दिनुपकुमार बराल, परमेश्वर भण्डारी र विशाल चापागाई उपाध्यक्ष चुनिएका छन् । संघमा ६ जना उपाध्यक्षबाट ६ महिनादेखि एक वर्षभित्र एकजनालाई वरिष्ठ उपाध्यक्ष चयन गर्ने अभ्यास छ । यसपटक ६ जना उपाध्यक्षका लागि आठ जनाको उम्मेदवारी परेको भएपनि अन्ततः सर्वसम्मत रुपमै नयाँ कार्यसमिति चयन गरियो ।

चितवन उद्योग संघका अध्यक्ष घिमिरेसँग जिल्लाको समग्र औधोगिक तथा व्यावसायिक अवस्था र समसामायिक विविध विषयमा जनआस्थाका लागि अजय गोर्खालीले गरेको कुराकानी :

अघिल्लो कार्यकाल कार्यवाहक हुनुभयो, अहिले अध्यक्षको पूर्णकालीन जिम्मेवारीमा हुनुहुन्छ । समग्रमा यसलाई कसरी समीक्षा गर्नुभएको छ ?

– धेरै वर्षदेखि सर्वसम्मत नै हुने प्रचलनअनुसार अहिले केही उपाध्यक्षको आकांक्षी बढी भएपनि समझदारी गरेर हामीले निर्वाचनलाई सर्वसहमतिको रुपमा लग्यौं । जिम्मेवारीमा आइरहँदा खुशी त लाग्ने नै भयो भने जिम्मेवारी बढेको छ । अहिले उद्योग धन्दामा आएको नैरास्यताको बेलामा उद्योगीहरुमा उर्जा थप्नुपर्नेछ ।

म विगत लामो समयदेखि संघमा रहेर काम गरेको कारणले गर्दा पनि योजनासहितमा आइरहेको छु । कर्मचारी साथीहरु त आफ्‌नो लगनमा लागिराख्नु भा'छ । मेरो टिममा रहनुभएका साथीहरु पनि कमसेकम उद्योगमा केही न केही गर्छु भनेर आउनुभएको हुँदा कार्यसमिति राम्रो बनेको छ । फरक–फरक धेरै सेक्टर समेटिएको छ । जस्तो सेवा इन्डष्ट्री, मेनुफेक्चरिङ इन्डष्ट्री, कन्स्ट्रक्सन, ट्रान्सपोर्ट, प्लाष्टिक, पोल्ट्री, होटल, एग्रीकल्चर सबै क्षेत्रका साथीहरुको प्रतिनिधित्व छ ।  त्यसकारण सबै सेक्टर हामी समेट्न सक्छौैं जस्तो लाग्छ ।

उद्योगमा नैरास्यता काफी छ । अहिले ब्याजदर वान डिजिटमा आएतापनि उद्योगमा लगानी गर्न इच्छुक छैनन् मान्छेहरु । बजारमा कन्जम्प्सन छैन । खपत गर्ने उमेर समूह छैन । कसैको पनि उद्योग मानौं अहिले ५० प्रतिशत भन्दा माथिको क्षमतामा चलेकै छैन । पछिल्लो पिरियडमा नेपालमा केही हुँदैन भन्ने जुन भाष्य भइराछ, त्यसले गर्दा पनि मान्छेहरु विदेश गएकोगयै छन् । देशमा जनशक्ति छैन, यतिखेर मान्छेसँग क्रयशक्ति पनि छैन । कोभिड र भूकम्पपछिको अवस्था नाजुक नै छ ।

अनि, नेपाली प्रोडक्टमा विश्वास पनि भएन । केही आयातीतमा नेपाल सरकारले तयारी खाद्य र कच्चा पदार्थमा गर्नुपर्ने भन्सारका ट्यारीफहरुमा राम्रोसँग गर्न सकेको छैन । कच्चा पदार्थहरु आउँदा चाहिँ भन्सार र भ्याट लागेर आउने, तयारी सामग्री आउँदाचाहिँ एक प्रतिशतमा आउने पनि छन् । त्यसैले हाम्रो उत्पादन महँगो भएको छ । कृषि उपजकै कुरा गर्दा सरकारले उत्पादकको न्यूनतम मूल्य तोकिदिनुपर्छ, जसरी अहिले उखुमा प्राक्टिस भा'छ, जबसम्म हरेकमा तोकिँदैन तबसम्म कृषि उपजलाई त गाह्रो रहन्छ, रहन्छ ।

योजनासहित आएको छु भन्नुभयो, के छन् त आगामी योजना 

– हामीले दुई वर्षको रणनीतिक योजना बनाएर अगाडि बढिरहेका हुन्छौं । मेरो प्लानिङ वर्कशप त हुँदैछ । अहिले गर्नुपर्ने भनेको ज्यादातर उद्योगमा आएको नैरास्यता चिर्नको लागि उद्योगीहरुलाई मोटिभेसन कार्यक्रमहरु ल्याउनुपर्नेछ । उद्योगहरुको मेसिन अपरेसन सम्बन्धी ट्रेनिङहरु पनि फेरि हामी गराउँछौं । हामीले एक्स्पोको माध्यमबाट प्रवद्र्धनहरु गरिरहेका हुन्छौं । यसपालि संगठनलाई डेपलभ गर्ने सोचेका छौं ।

उद्योग संघले नीतिगत बहस-पैरवी गर्ने हो । तीनै तहका सरकारसँग उद्योगमैत्री पोलिसी कसरी ल्याउन सकिन्छ भन्नेमा संवाद रहनेछ । एक्स्पो सेन्टरको निर्माण अपूरो अवस्थामा छ, त्यसलाई कम्प्लिट गर्ने लक्ष्य छ । हामीले यो वर्ष एउटा इन्टरनेशनल एआई सम्मेलनको सोच बनाएका छौं ।

हाम्रो जस्तै अर्थतन्त्र भएका देशहहरुमा गएर कल्चर र टेक्नोलोजी आदानप्रदानको लागि २–३ वटा देशका उद्योग संघहरुसँग भगिनी सम्बन्ध कायम गर्ने सोच बनाएका छौं । लाओस, बंगलादेश र सम्भवतः जापान– अहिले यी तीनवटामा चाहिँ हामीले त्यो सोच बनाएका छौं ।

भन्सारका धेरै इस्युहरु आइराछन्, बजारीकरणमा पनि समस्याहरु छन् । उत्पादन खपत नहुँदाका इस्यु बढी छन् । यिनै विषयहरुमा ठोस रुपमा काम गर्ने सोच गरेका छौं  ।

उद्योग क्षेत्रको प्रवद्र्धनका लागि संघ, प्रदेश र स्थानीय सरकारबाट सञ्चालित कार्यक्रम कत्तिको सन्तोषजनक छन् ? उद्योगी, व्यवसायीको अपेक्षा के छ 

– कार्यक्रम त केही आइरहेका छन् तर कस्तो भने कति कार्यक्रमहरु कागजी रुपमामात्रै छन्, रियल उद्योगीसम्म पुग्न सकिरहेको अवस्था छैन । जस्तो उदाहरण भनौं अहिले होटल उद्योगलाई बजेटमा चाहिँ के भनियो भने उद्योगसरह नै बिजुलीको सीमाशुल्क लगाउने भनिदियो । तर बजेट आएको तीन महिना भयो अहिलेसम्म त्यो लागू भएको छैन । लोडसेडिङको समस्या छँदैछ, विद्युतको कम भोल्टेजको कारण मेसिनहरु बिग्रने समस्या बढिरहेको छ ।
 
उद्योग दर्ता प्रक्रिया पनि झन्झटिलै छ, आईईई लगायतका प्रक्रिया गर्दागर्दै ६ महिनादेखि एक वर्ष लाग्छ । हामीकहाँ औद्योगिक क्षेत्र छैन । जमिन किनेर उद्योग बनाउने अवस्था छैन, मूल्य धेरै माथि छ । शक्तिखोर औद्योगिक क्षेत्रको काम राम्ररी अगाडि बढेकै छैन । देशमा उद्योगमैत्री वातावरण बन्न सकिराकै छैन ।

स्थानीय सरकारहरुले आ–आफ्‌नो ठाउँमा औद्योगिक ग्राम बनाइने अनि प्रदेश र केन्द्र सरकारले औद्योगिक क्षेत्रमा उद्योग जाने वातावरण बनाइदियो भने उद्योग चल्न सजिलो हुन्छ । भरतपुरमा स्थानीय सरकारको कन्सेप्टचाहिँ आएको छ, रत्ननगरले पनि सुरु गर्ने कुरा छ । नीति नियममा छन्, तर कार्यान्वयनमा आएको छैन कहीँपनि । त्यो भइदियो भने साना, कुटीर उद्योगहरु जो बस्तीमा बसेर गाह्रो पर्‍या छन् । त्यहाँ सिफ्‌ट हुन्थे ।  

आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम र बजेटका बारेमा के भन्नुहुन्छ ?

– नीति तथा कार्यक्रम प्रायः सधैं नै राम्रो आउँछन्, तर समयमा कार्यान्वयन हुँदैन । अहिले ब्याजदरमा चाहिँ राम्रो सुधार भएको छ । १४–१६ पर्सेन्ट ब्याज तिरिरहेका थियौं । अहिले वान डिजिटमा आएको छ, सामान्य ८–९ पर्सेन्टमा ब्याजदर आएको कारणले गर्दा लगानी गर्ने जस्तो त देखिन्छ तर सुरक्षित वातावरण नहुँदा लगानी गर्न इच्छुकता छैन ।

क्रडिट मार्केट यस्तो छ हामीसँग तर क्रेडिट पोलिसी छैन, क्रेडिटमा जब हामी बिल काट्छौं, सरकारलाई भ्याट तिर्छौं तर त्यो पैसा उठेन भनेपनि हामीले कर नै तिरिराको हुनुपर्छ । बजारमा बेइमानी बढिराछ, यति चेक बाउन्सका केसहरु छन्, सायद त्यो क्राइसिसकै इफेक्ट होला, के होला । त्यही भएर गर्दाखेरि मान्छेले रिस्क लिएर काम गर्न चाहिरहेको छैन । बिजनेसलाई घटाउँदै घटाउँदै डाइभर्सीफाइ गर्दै गइरहेको छ ।
 
अहिले कन्स्ट्रक्सन क्षेत्रमा एकदम नराम्ररी दबाब परेको छ । अलिकति राम्रो देखिएको भनेको खाद्यान्न इन्डष्ट्री हो । प्लाष्टिक इन्डष्ट्री पनि गाह्रोमा छ । किनकि खपत छैन । डेरीमा भुक्तानीले गर्दा आफ्‌नै समस्या छ । सरकारको पोलिसी नै ठिक भएन– धान निर्यात गरेर चामल आयात गर्छौं हामी । न्यूनतम लागत मूल्य सरकारले तोकिदिने भनेचाहिँ मजाले किसानले खेती गर्थ्यो । तर हामीसँग प्रोसेसिङ प्लान्टहरु पनि छैन । बायोप्रोडक्टका उद्योग भएनन् । सिजनमा नबिकेपनि बन्दा जोत्नुनपरोस्, टमाटर फाल्नुनपरोस्, एग्रीकल्चर प्रोसेसिङ इन्डष्ट्री चाहियो के हामीलाई !

साँच्चै देशमा अहिले उद्योग धन्दाको विकास भइरहेको हो कि विनाश ? रोजगारी र अवसर नपाएको भन्दै वर्षेनी लाखौंलाख जनशक्ति श्रम गर्न विदेश गइरहेको अवस्था झन्‌झन् बढ्दो नै छ त ?

– विनाश नै त नभनौं तर पनि जुन गतिमा विकास हुनुपर्ने, त्यो छैन । ज्यादातर युवाशक्ति पढ्न भनेर विदेश गएपनि कमाउन नै हो । यहाँ अवसर नदेखेर नै हो । एकदिन आउँछन्, जब यहाँ राम्रो पोलिसी बन्छ, इन्डष्ट्रिहरु चल्न थाल्छन्, तिनीहरु ज्ञान सीप लिएर आउँछन् । तर सरकारले पनि त्यो किसिमको नीति बनाउनुपर्‍यो ।

कमसेकम स्वदेशी उत्पादनलाई सबैले माया गर्दिने हो भने हाम्रो उत्पादनको बिक्री बढ्छ र आयात कम हुन्छ । स्वदेशी उत्पादन प्रयोगको निम्ति राष्ट्रिय अभियान नै चलाइनुपर्छ । गभर्मेन्टले नेशनल प्रोडक्टलाई मात्र बढी फोकस गरिदियो भने इन्डिष्ट्री लाग्छ । इन्डष्ट्री लागेपछि अटोमेटिक रोजगारी त भइहाल्छ । तर हाम्रा नीति निर्माताहरु टे्रडि·मा हाबी छन् । मेनुफेक्चरि·मा उनीहरुको फोकस छैन । ट्रेडिङ्ग बिजनेसले कतिलाई रोजगारी दिन सक्छ त नि ?

चितवनमा अहिले कति उद्योग सञ्चालित छन् ? उद्योग क्षेत्रका सम्भावना र चुनौती के के छन् ?

– उद्योग वाणिज्य कार्यालयको डाटासँग हेर्ने हो भने १६ हजार उद्योग दर्ता देखिन्छ । त्यसमा २५ प्रतिशत बन्द भइसकेका छन् भने १५ प्रतिशत उद्योगचाहिँ कागजीरुपमा मात्रै छन् । सञ्चालनमा छैनन्, बैंक लोनका कारण, बाबुनानीलाई विदेश पठाउनका लागि बनाएको कम्पनी यावत यावत कागजी कम्पनी छन्, फिल्डमा छैनन् ।

उद्योग संघमा १२ सय भन्दा बढी उद्योगी छन् । तर मलाई लाग्छ चितवनमा साना, ठूला मझौला गरेर पाँच हजार उद्योग रनिङमा छन् । चितवन अहिले फर्मास्युटिकलको हब बन्दैछ । १६ वटा फर्मास्युटिकल छ । नेशनल रुपमा लिड गर्ने केही डेरीहरु चितवनमा आइरहेको छ अहिले ।

खैरहनी र राप्ती नगरपालिकामा ठूल्ठूला नै इन्डष्ट्रीहरु छन् । अर्ना बियर भयो । देशभरिमै सबैभन्दा धेरै खजुरीको बिस्कुट बेच्ने उद्योग चितवनमै छ । त्यहाँ ११ सय काम गर्ने मजदूर छन् । देउराजी जनता फर्मास्युटिकलले भ्याक्सिन उद्योग लगाउँदैछ चितवनमा । एन्टी स्नेक भेनमहरु अब यहीँ बन्नेवाला छ । यसरी इन्डष्ड्रीहरु आइरहेका पनि छन् । सम्भावना देखेरै आएको हो ।

यहाँको हावापानी मौसम र माटो पनि इन्डष्ट्रीको लागि सुहाउँदो छ । देशको सेन्ट्रल भागमा भएको भएर ट्रान्सपोर्टेसनको लागि एकदम सहज छ । तराईतिरका उद्योगहरुमा जस्तो दबाबमूलक चन्दा र थे्रेटहरु पनि छैन यता ।

चुनौती चितवनको मात्रै भन्ने त रहेन । चुनौती चाहिँ केही इन्डष्ट्रीहरुमा के देखिराछु भने औद्योगिक क्षेत्र नभएको कारणले गर्दा कुनै सुनसान ठाउँमा उद्योग लाग्छ । वरिपरि इन्डष्ट्रीको कारणले चहलपहल हुन्छ, बस्ती बन्छ, पछि त्यही इन्डष्ट्रीले कहिले साउन्डको पोलुसन, कहिले स्मेलको पोलुसन, कहिले ठूला गाडीघोडा आउँदा बिजुली र केबलको तार चुँडायोदेखि लिएर बाटोघाटो बिग्रियो भन्दै उद्योगमा आउने भेहिकलहरुलाई नै अवरोध गर्ने गरिन्।

मंगलपुरका केही उद्योगहरुमा समस्या पर्‍यो पब्लिकबाट । खैरहनीमा पनि त्यस्तै भएको छ । इन्डष्ट्रीप्रति पोजिटभ नै छैन समाज । अब औद्योगिक ग्राम भनेर भरतपुर १९ मा बनाउने कुरा छ । औद्योगिक ग्राम भए यी समस्या नै आउँथेन । औद्योगिक क्षेत्रमा सुरक्षित महसुस पनि हुन्छ, उद्योग लगाउन खर्च पनि कम हुन्छ ।

टिप्पणीहरू