प्रमुख प्रशासकीय अधिकृतहरुलाई रमाना बुझेर तत्काल प्रस्थान गर्न निर्देशन

प्रमुख प्रशासकीय अधिकृतहरुलाई रमाना बुझेर तत्काल प्रस्थान गर्न निर्देशन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय पालिकामा खटाइएका कर्मचारीलाई तुरुन्त रमाना दिएर पठाउन निर्देशन दिएको छ । हिजो बसेको सचिवस्तरीय बैठकको निर्णयअनुसार सबै मन्त्रालय, आयोग, सचिवालय, निकायलाई पत्राचार गर्दै प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएका उपसचिव तथा शाखा अधिकृत तहका कर्मचारीलाई यथाशीघ्र रमाना दिएर पठाउन भनिएको छ । 

खटाइएको स्थानीय तहमा कर्मचारी नजाँदा नियमित काम कारबाहीमा व्यापक असर परेको गुनासो मन्त्रालयमा धेरै अघिदेखि पुगेको थियो । ‘त्यहाँ मन्त्रालय, आयोग, सचिवालय, निकायअन्तर्गत कार्यरत रही यस मन्त्रालयको निर्णयबाट प्रमुख प्रशासकीय अधिकृतको पदमा कामकाज गर्न खटाइएका कर्मचारीहरुलाई निजामती सेवा ऐन तथा नियमावलीमा उल्लेख भएका प्रावधानबमोजिम यथाशीघ्र रमाना दिई पठाउनुहुन मन्त्रालयको मिति २०८२–०५–३१ गतेको निर्णय (सचिवस्तर) अनुसार अनुरोध छ’,पत्रमा उल्लेख छ । 

स्थानीय तहको कार्यसम्पादन तथा सेवा प्रवाहमा प्रभावकारिता ल्याउन र वित्तिय सुशासन कायम गराउन मन्त्रालयले ‘स्थानीय सरकार सञ्चालन ऐन–२०७४’ को दफा ८४ को उपदफा ४ बमोजिम विभिन्न मन्त्रालय, आयोग, सचिवालय, निकायमा कार्यरत उपसचिव तथा शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाउने गरिएको छ ।

टिप्पणीहरू