ओली हटाउने छाँट छैन, आफू बन्ने आँट छैन

ओली हटाउने छाँट छैन, आफू बन्ने आँट छैन

जेनजी आन्दोलनले देश त भौतिक रुपमा तहसनहस नै भयो । र, राजनीतिमा समेत ठूलै असर गर्‍यो । सकारात्मक ढंगबाट हेर्दा, यसलगत्तै दलका कार्यकर्ता मसिनो स्वरमा भए पनि नेतृत्व परिवर्तनको कुरा उठाउन थालेका छन् । 

पार्टी कार्यालय ध्वस्त भएपछि, च्यासल पुगेर फोटो/भिडियो खिच्दै पोस्ट पनि गर्दै छन् । पार्टी कार्यालयमा बस्ने ठाउँ नभएपछि निकट कार्यकर्ताहरूको विभिन्न अफिसमा नेताहरू जम्मा हुन थालेका छन् । शनिबारदेखि युवा नेता उपत्यका विशेष प्रदेश र युवासंघको केन्द्रीय कार्यालय आसपास भेटघाटमा जुटेका छन् । त्यसअघि बागमती करिडोरको विभिन्न क्याफेमा भेट्ने गर्थे ।

गत बिहीबार बिहान नेपाल कमर्स क्याम्पसको गेटमा एमाले र समाजवादीका कार्यकर्ता प्लेकार्डसहित उत्रिएपछि, त्यही दिन दिउँसो शंखमूलमा संविधान जोगाउन भन्दै अखिलका निवर्तमान अध्यक्ष समिक बडालको नेतृत्वमा प्रदर्शन भयो । अपराह्न रत्नपार्कमा पूर्वमहासचिव नरेश रोकायासहित ३० देखि ५० जना युवा–विद्यार्थीले संविधान जोगाऊँ भन्दै प्लेकार्डसहित नाराबाजी गरे । 

नेताहरू अर्धभूमिगत  

एमालेका धेरैजसो नेता अहिलेसम्म सार्वजनिक हुन सकेका छैनन् । तर योगेश भट्टराई, गोकुल बाँस्कोटा, आरसी लामिछाने, महेश बस्नेत, रमेश पौडेल, रोशन बस्नेत, रश्मि आचार्य, समिक बडाल, सुमन पुरी, सुदर्शन शिवाकोटी, किरण देउजा, समुद्र तिमिल्सेना, प्रकाश गौतम, गोविन्द गिरी, प्रकाश पौडेल, नरेश रोकाय, नरेन्द्र न्यौपाने, अञ्जना शिवाकोटी, श्यामकाजी खत्री, अखिल महासचिव दीपक धामी, गोपाल नेपालहरु मैदानमा तथा सामाजिक सञ्जालमा प्रकट भइरहेका छन् । यी केही समयदेखि केपी ओलीले नेतृत्व छाड्नुपर्ने भन्दै पार्टीको आधिकारिक फोरममा कुरा उठाउनेहरू हुन् ।

मास्क र क्यापमा नचिनिने गरी हिँड्न थाले 

शनिबारदेखि केही नेता कोर कार्यकर्ताको निजी सवारीसाधनमा नचिन्ने गरी मध्य शहर परिक्रमा गर्न थालेका छन् । भानुभक्त ढकाल, विशाल भट्टराईलगायत यसरी हिँडेका हुन् ।

अधिकांश नेताको घर खरानी 

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्बीसुब्बा गुरुङ, विष्णु रिमाल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, हिक्मत कार्की, गोकुल बाँस्कोटा, अग्नी खरेल, महेश बस्नेतलगायत अधिकांश नेताको घर पूर्ण रूपमा क्षति भएको छ ।

जीवन घिमिरेलाई झण्डै 

शनिबार २ बजे आसपास जेनजी आन्दोलनले ध्वस्त भएको एमाले पार्टी कार्यालयमा ऐन महरको नेतृत्वमा युवा, विद्यार्थी कसरी अघि बढ्ने भनी छलफल गर्दै थिए । जीवन घिमिरे पार्टी कार्यालय गेटको अवलोकन गर्दै थिए । एक कार्यकर्ताले अस्ति आन्दोलनको दिन राजीनामा दिने केन्द्रीय सदस्य आएछन् भन्नेबित्तिकै, गोविन्द गिरीलगायतको टोली झम्टन गइहाल्यो । समिक बडाललगायतले गोविन्दलाई रोक्दै थिए, त्यही बेला घिमिरे गाडी चढेर निस्किए । 

पार्टी छोड्नेको लर्को 

एमाले केन्द्रीय सदस्य तथा मोरङ इञ्चार्ज जीवन घिमिरे र पत्नी विमलाले पार्टी त्यागेको घोषणा गरेका छन् । बेलबारी नगरपालिकाका पूर्वप्रमुख एवं अहिले कोशी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदीले पनि एमाले छाडेको घोषणा गरेका छन् । यस्तै, मोरङको बेलबारी नगरपालिकाका मेयर डिपी राईले राजीनामाको घोषणा गरेका छन् । 

नयाँ योजनासाथ अघि बढ्दै युवा

एमाले अध्यक्ष सेनाको कुनै ब्यारेकमा छन् । वरिष्ठ उपाध्यक्षको अत्तोपत्तो छैन । गत बुधबार दिउँसोदेखि फाट्टफुट्ट बाहिर निस्केका केही युवा नेताले घर बसेकालाई बाहिर आउन प्रेरित गर्न थाल्नासाथ अनलाइनमा ग्रुप कल गर्दै पार्टी कार्यालयमा फाट्टफुट्ट जान थाले । बिहान सबेरै च्यासल पुगेर रोशन बस्नेतले लाइभ हाले ! क्रमशः पार्टी कार्यालय जाँदै जलेर नष्ट भएको भग्नावेशषको फोटो हाल्न थाले ।

शनिबार बुद्धनगरमा युवा संघका पूर्वअध्यक्ष र एमाले केन्द्रीय सदस्य रमेश पौडेलको नेतृत्वमा अखिल र युवासंघका पूर्वनेता सम्मिलित भेलासमेत बस्यो । जसले केपी ओलीलाई अब स्वीकार गर्न नसक्ने, महासचिवको नेतृत्वमा जाँदा पार्टीको काम नउठ्ने निश्कर्ष निकालेको एक सहभागीले बताए । अहिलेसम्म सार्वजनिक लाभ नलिएका अखिलका पूर्व नेता तथा युवासंघका केही नेतालाई अघि सारेर आन्दोलन पुनः उठाउने उपयुक्त पात्र छान्न WhatsApp ग्रुप बनाउने निर्णय भएको छ । 

नेतृत्वको आलोचना नगर्न चेतावनी

आइतबार एमाले महासचिव शंकर पोखरेलले जुम मिटिङमार्फत नेतृत्वको आलोचना नगर्न धम्कीयुक्त चेतावनी दिएका छन् । ७ प्रदेश र ७७ जिल्ला अध्यक्ष सहितको जुम मिटिङ आन्दोलनको विश्लेषण गर्दै पार्टीमा अनावश्यक चलखेलप्रति रोष व्यक्त गरेको एक जिल्ला अध्यक्षले बताए । उनका अनुसार आन्दोलनको क्रममा एमाले नेताको घर तथा पार्टी कार्यालय क्षतिको विवरण कुनै पनि प्रदेश अध्यक्षले राम्रोसँग दिन सकेनन् ।

(जनआस्था साप्ताहिकको असाेज १ गते बुधबारको अंकमा प्रकाशित)

 

टिप्पणीहरू