चितवनमा पाँचसय बढी कैदीबन्दी आफैं फर्किइसके
रवि लामिछाने नै जेल फिर्ता हुनु परेपछि अरु कैदी बन्दी पनि धमाधम कारागार फर्किंदै छन् । जेन–जी आन्दोलनको मौकामा पूर्व गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछाने काराबासबाट फुत्किएपछि देशभरका विभिन्न कारागारबाट अन्य हजारौं कैदीबन्दी पनि विद्रोह गरी उम्किन सफल भएका थिए ।
चितवनको भरतपुर कारागारबाट भागेका पनि धेरै कैदीबन्दी अहिले फर्किसकेका छन्, ती धेरैजना आफैं हाजिर भएका हुन् । यसअघि जम्मा सातसय ४२ जना थुनुवा रहेको कारागारबाट भदौ २४ मा जेनजी आन्दोलनका बेला सबै कैदीबन्दी भागेको कारागार कार्यालय प्रमुख रविन्द्र ढुंगानाले बताएका थिए । आज दिउँसोसम्म पाँचसय २२ जना फिर्ता भइसकेको उनले जनाए । ‘त्यत्रो पाँचसय बढी कैदीबन्दीलाई हामीले छुनै परेन’, जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रबिन्द्र खनालले भने, ‘उनीहरु आफैं आए ।’
कतिपय बाहिरी जिल्लाबाट फरार भएका कैदीबन्दीलाई समेत चितवनमा फेला पारी पठाइएको छ भने चितवनबाट भागेकाहरु पनि केही संख्यामा अन्यत्र कारागारको सम्पर्कमा पुगेको बताइन्छ ।
यता जेनजी विध्वंशमा संलग्नहरुको पनि पहिचान कार्य भइरहेको र सो क्रममा चोरी र लुटपाटमा संलग्न सातजनालाई पक्राउ गरिसकिएको पनि जिल्ला प्रहरी नायब उपरीक्षकले बताएका छन् । जेनजी नै भनेरचाहिँ कोही पक्राउ परेका छैनन् । आन्दोलनको स्क्रिप्ट बोकेकाहरुलाई अहिलेसम्म कसैलाई समातिएको छैन’, उनले भने, ज–जसको उजुरी आछ, फोटो–भिडियोहरु स्क्रिनिङकै फेजमा छौं ।’ तीमध्ये २०/३० जना उपर विशेष निगरानी भइरहेको बताइएको छ ।
टिप्पणीहरू