याद नै हो सबैभन्दा माथि, होइन त साथी ?

याद नै हो सबैभन्दा माथि, होइन त साथी ?

याद भन्ने चीज कस्तो होला है जुनसुकै बेला आएर मान्छेलाई छोइदिन सक्ने । एकै निमेष झल्को दिएर भएपनि जान्छन् यादहरु । कहाँ–कहाँबाट आएर पलभरमै मान्छेलाई च्याप्प समाउन सक्छ ।  कहिले सुस्त काउकुती लगाइदिन्छ त कहिले रग–रगमा समाउँदै बेसरी चिमोट्न र निमोठ्न पनि सक्छन् यादले । तीखो सुइझैं घोचिदिन्छ, कहिले आगोको लप्कासरी छातीमा सल्किएर भत्भती पोलिदिन्छ । जलिरहेको मनमा शितलता छरिदिने याद पनि हुन्छन् । मान्छेलाई छिनभरमै हँसाउने र पलभरमै रुवाउन सक्ने यादको तागत सामान्य कल्पनाभन्दा धेरै पर छ । आजसम्म विज्ञानले पनि सम्झनामा निहित सम्पूर्ण रहस्य पत्ता लगाउन सकेको छैन ।     

कसैको यादले कहाँदेखि कहाँको मान्छेलाई कहाँसम्म पुर्याउँछ । सम्झनाले सताएपछि सम्भवतः सयौं डाँडाकाँडा छिचोल्दै उर्लंदो जंघार तरेर पनि भेट्न जान मन लाग्छ ।  हावा चलेपछि पात त हल्लिहाल्छ । हावाको वेगजस्तै हुन्छ यादको प्रवेग पनि । शून्य आकाशमा चारैतिर हावा समाएको छ । सायद हावामै तरंगित भएर सयर गर्छन् यादका लहर एक अर्कालाई छुन ! कहिले मन्द मन्द बहिदिन्छ, त कहिले आँधी तुफान सरी बेतोडले चल्छ थाल्छन् यादका लहर । 

हावाले छोएको देखिन्न, महसुस हुन्छ । यादले छोएको पनि केवल महसुसमा रहने कुरा हो ।  हावा रुप सूक्ष्मातिसूक्ष्म भएको हुँदा नांगो आँखाले देखिन्न, मात्र यो चलेको महसुस हामीलाई हुन्छ । पात हल्लिएको देखेपनि हामी हावा त देख्दैनौं, तर कसैले नचलाई पात आफैं चलमलाउँछ भने त्यहाँ हावा चलेको महसुस हामी गर्छाैं । वेग जति बढी हुन्छ, त्यसको अनुभूति पनि उति नै बढ्दै जान्छ । यो रहस्यमयी संसारमा यादको कुनै सीमा छैन ।  तस्बिर, आवाज र दृश्य पनि भिजियोलाइज हुन सक्ने एकदम विचित्र छन् यादका तरंगहरु । घरी कता घरी कता– हावाजस्तै यादहरु तीनै लोक, चारैदिशा, चौध भुवन डुलिरहन्छन् सायद । कहिले के को कहिले कसको, कहिले कस्तो याद त हामीलाई हरदिन, हरक्षण आइरहेकै हुन्छ ।  

हामीमा कसैको याद आउँदा के हाम्रो याद पनि उता जाला ? नजाने भए आउँदा पनि आउँथेन । आउनु–जानु नै यसको क्रिया हो । समय भने फरक हुन सक्छ । दुवैको मनको हाल र भावना उस्तै छन् भने त यादहरु उतिखेरै एकसाथ लहरिन पुगिहाल्छन् भन्ने अनुमान तथ्यभन्दा टाढा छैन । तीव्र भावका साथ गरिएको यादले मान्छेलाई तुरुन्तै समाउन पुग्छ । 

कताकती झुल्किएको सम्झना– उसले कुनै बेला कारणवश गरेको यादको तरंग घुम्दैफिर्दै गर्दा त्यो भन्दा अरुका यादका लहरमा बढी तीव्रता छ भने त्यो अघिल्लो याद चाहिँ पछिमात्र पुग्छ । आकाशमण्डलमा घुम्दैघुम्दै हजारौं वर्ष लाग्न पनि सक्ने अनुमान गरिएको छ । जुन याद बढी बलशाली हुन्छ, त्यो नै सबैभन्दा अगाडि पुग्छ– सुपरफास्ट र मान्छेमा त्यसैको गहिरो असर पर्छ भनी मनोविद्हरु बताउँछन् । भनिन्छ, यस्तै याद नै मनमुटुमा लामो समय घर गरेर बस्छन् । रातको समयमा यादहरु बढी सक्रिय हुने मानिन्छ, दिनमा सूर्यको किरणले त्यो तरंगलाई खण्डीकृत गरिदिन्छ भन्ने छ । विचार र भावनाको वेग प्रकाश र बिजुलीको भन्दा पनि दु्रत हुने बताइन्छ । मनमा लहरिने एकखाले भावनात्मक तरङ्ग हुन् याद ।

याद उसले पठाएको कि आफैं आएको ? सम्झना पठाए र नपठाए पनि जान्छन्,  आफैंले रोकेर सक्दैन । हाम्रो मनको तरंग आकाश तरंगसँग जोडिएको छ । खुला आकाशमा एक विन्दुमा विचारहरु मिलेर नै मानिसहरु साथी बन्न सक्छन्, भने विपरीत विचारले साथ छुट्छ । 

हामी कसैलाई झट्ट सम्झिन्छौं, अचानक कसैको याद आउँछ किन ? किनकि उसले पनि कुनै घडी हामीलाई सम्झेको थियो, त्यही यादका लहरले पछ्याउँदै पछ्याउँदै हामीलाई छोएको हो वा हामीले अहिले सम्झियौं भनेपछि अब कुनै न कुनै बेला हाम्रो त्यो सम्झनाको तरंगले पनि उसलाई छुनेछ । तर कहिले र कसरी त्यो हाम्रो बुद्धिभन्दा परको कुरा छ । सयौं, हजारौं वर्ष लाग्न पनि सक्ने केही अध्ययनले बताएका छन् ।  

आत्माले नै हो सम्झने । भनिन्छ आत्मा कहिल्यै मर्दैन । ट्रु लभ र डिप लभ भन्छौं हामी । मायामा त्यो सच्चाइ र गहिराइ अवश्य हुन्छ पनि । त्यहाँसम्म पुग्न साधना गहिरो हुनुपर्छ । एकाग्र मनले गरिएको सम्झना नै बढी असरदायी हुन जान्छ । जब दुवैको भावना, सोच विचार र मन मिल्छ, त्यहाँ हर्ट टु हर्ट कनेक्सन किन नहोस् ? सोच विचार र भावना नै हो मान्छेको दिल भनेको ।  प्रेमका गीत संगीतहरुमा पनि भौतिक मिलन र साथ भन्दा बढी याद र मनकै झंकार बढी गाइएको छ । कल्पनामा यादको जादुगरी हुन्छ । स्मृतिहरुको लुकामारी चलिनै रहन्छ ।

हावामा, पानीमा, सुर संगीतहरूमा अनि टाढा पनि नजिक पनि, सुखमा नि, दुःखमा नि आउँछन् यादहरु । चिसो बतास बनेर आउँछन् कि झरी बनेर ? आकाशमा बादल मडारिँदा कि मिर्मिरे बिहानी र साँझको गोधुलीमा ? रातको निष्पट्टता वा आकाशमा जुन टहकिँदा, जुनसमय ऊसँग बिताउने गरिन्थ्यो, समय र परिस्थिति पनि मनलाई उत्तेजित पार्ने एकखाले एनग्राम बनेर दिल, दिमाग बस्दछ । त्यसले पनि बेलाबेलामा याद बनेर मान्छेलाई झस्काइरहन्छ । दुवैले दुवैप्रति उस्तै भाव राखेको छ भने अवश्य सम्झनाको तरेली आपसमा घुलेर उतिबेलै लीन भइहाल्छन् ।

आपस भनेको के हो त ? आऊ मभित्र पस भनेको होइन र ? मान्छेको मन भित्रैसम्म पस्न सक्यो भने बल्ल आपसको होइन्छ । हुन पनि देहको मिलन भन्दा अमूर्त हुन्छन् यादका स्पर्श । एकअर्काको यादमा तड्पिरहेको मनमात्र मिलनमा बेसरी रापिन्छ । दुई मनको तरंग यही खुला आकाशमा कुनै एक विन्दुमा समाहित हुन पुग्छन् । माया पनि मनको एउटा अनुभूतिमात्र नै हो । प्रेम दिएपछि नै पाउने कुरा हो, जस्तो दियो उस्तै मिल्छ । कसैको हेराइ, छुवाइ, समाइ र हाम्रो आफ्नो अनुभूति बिलकुल फरक हुन पनि सक्छ । तर हामी अरुमाथि राम्रा, नराम्रा जुनकिसिमको भाव राख्छौं, त्यो तरंगले उसमा पनि हामीप्रति त्यस्तै राम्रो वा नराम्रो भाव विकसित हुन थाल्छ । कसैप्रति दुष्ट विचार राखिन्छ भने उसमा पनि हामीप्रति सकारात्मक भाव बन्न जाँदैन ।  

जिन्दगी लामो छ, तर पनि एकपल मायाको आभास पाउन मान्छे जीवनभर तड्पिरहन्छ । यसको आभासकै लागि समय, पैसा र सिंगो जिन्दगी नै लुटाउन पछि पर्दैनन् मान्छे । तर माया भनेको अरुप्रतिको आफ्नो सोच मात्र हो, अरुको हामीप्रतिको भन्दा पनि बढी त । त्यसैले समय, पैसा, जवानी सारा लुटाएर, भोक प्यास बिर्सेर ज्यानै फालेर माया माया भन्दै मरिमेट्नु साँच्चै पागलपन नै हो । लभ सत्य छ तर भ्रमजस्तो पनि –जस्तै हावा, यादहरु, सपना र कल्पनाका कुराहरु । 

सासैदेखि डोरिन्छन् माया त । याद पनि हावामै तरंगित भएर आउँछन् सायद, त्यसैले मीठा यादहरु आउँदा छाती फुक्छ, श्वास बढ्छ किन ? सम्झना हो कि बिर्सना या मायाको तिर्सना ? यादमा झल्किन्छ ।

अरुका भाव नै नराखेपछि तिनका भावले छुन र हल्लाउन सक्दैन । कसैको डरले, रिस, घृणा र आवेगले धड्कन बढ्नु र प्रेमले धड्केको हृदयको चाल बेग्लै हुन्छ । भावना, चाहना, कल्पनाभरि भरि एउटै मान्छे समाएपछि अरु कसरी पस्न सकोस् ? मधुर प्रेमको झंकार सामु अरु ध्वनि कर्कश लाग्छन् । एकखाले  प्रेमको मधुरतामा डुबिसकेपछि अरुले सितिमिति बिथोल्न सक्दैनन् । कुनै भयंकर आवेग प्रवेगदेखि तर्सिनुपर्दैन । अन्य स्पर्श सबै फिका लाग्छन्, बाहिरी स्पर्शको रन्को त्यति भित्रसम्म पुग्नै सक्दैन, जति तीव्रयादले हृदयलाई उद्धेलित बनाउन सक्छ । त्यसैले मनको निश्चिलतामा अडेर कसैलाई माया गर्न सक्नुपर्छ ।

एउटाको भाव पूर्ण रुपमा तनमनमा समाउँदै अविरल नदी सरी बहन थालेपछि कसैले रोक्न सक्दैन । जस्तो कि हावालाई । त्यहाँसम्मको हुन्छ हर्ट टु हर्ट कनेक्सन । शरीरभन्दा आवाज, आवाजभन्दा शब्द र शब्द भन्दा पनि मौनतामा रहन्छ प्रेम । किनकि मौनताको स्थितिमा राम्रो ध्यान हुन्छ । त्यसैले मौन बस, शून्य होऊ भन्ने पनि गरिन्छ । ढुकढुकीको चाल मानिएको छ प्रेमलाई । उसैको यादले मात्र दिल धड्कियोस् न धक् धक् धक् । प्रेम त्यही हो, जहाँ हरसासमा ऊ समाउँछ । 

प्रेममा बाचा-कसम पनि आवश्यक होइन, नबोली बुझिन्छ भन्ने मिथ्या होइन । भन्न खोजेको कुरा मनको डोरीमार्फत तरंगित हुँदै संकेत रुपमा सन्देश प्रवाहित अवश्य हुन सक्छ । विनातार फोनमा कुरा भएजस्तै । मायालाई मनको डोरो त्यसै भनिएको कहाँ हो र ? एक विन्दुमा आफैं बाँधिन्छ । मंगलसूत्र भन्दा मन–सूत्रकै बन्धन बलियो हुन्छ । 

मान्छेका भावना र विचारहरु बिजुलीको वेगभन्दा पनि सूक्ष्म र तीव्र हुन्छ भन्ने छ । प्रेममा भनिँदा मुटुमा बास होस्, हृदयको ढोका खोलिदेऊ किन भनिन्छ ? सम्झनाको तरंगले झनन् बनाउँछ नि ! जब मान्छेको मनभित्रैसम्म एउटै मान्छे समाउँछ, तब अरुको आवेगले कमाउन सक्दैन । प्रेममा भौतिक शरीर जोडिनुभन्दा मन जोडिनु धेरै माथि छ । प्रेमात्मा नै परमात्मा हो ।  आफ्नो मान्छे जो छ, उसैलाई नै मनदेखि प्रेमले समाएर राख्न सक्नुपर्छ । ज–जसको याद गरेपनि आखिर साथ चाहिने त श्रीमान्–श्रीमतीकै हो । जो साथमा छ उसैलाई याद गर्यौँ भने बल्ल भएको सम्बन्धमा सुनमा सुगन्ध हुन्छ, नत्र केही न केही । 

‘नजिक–टाढा जहाँ गएपनि, साथमा भएपनि, नभएपनि । एकान्तमा नि तिमी, भीडमा नि तिमी । मेरा यादहरुमा केवल तिमी । जब जब मनमा प्रेम र वासनाको ख्याल आउँछ तब तिमी मात्रै’ भन्ने किसिमको भाव प्रेमजोडी परस्परमै हुने हो भने बाहिरी आवेगले सताउन, कँपाउन कसरी सकोस् त ? अरुले छोएपनि छोए जस्तै हुँदैन । अरुसँग बोले पनि बोले जस्तो नहोस् न । त्यसैले प्रेममा पूर्ण समर्पण हुनुपर्छ भनिएको । एउटामात्रको पूर्ण समर्पणले पनि अर्काेलाई  बिस्तारै आफूतिर कायल पार्न सक्छ । 

तर एउटै घरमा बसेर मनमाचाहिँ अर्कैको बास हुन्छ भने त्यहाँ प्रेमको आश नगरे नि हुन्छ । भेटघाट त मौका हो, त्यो अवसर छुटेपनि यादैले सम्बन्ध सदा डोरिइरहन सकोस् । त्यसैले मान्छेले मनमा बसाउने व्यवहार गर्नुपर्छ, उसको आँखाको नानीझैं भएर रहनुपर्छ । चसचस नयन र मनमुटु बिझाउने कसिंगर जस्तो याद कसैको नबनौं । पाएको सम्बन्धहरुको बेलामै इज्जत गर्न सकिएमात्र उसको प्रेम र यादमा अमर रहन सकिन्छ ।  

गहिरो गरी डुबेर गरेको ध्यानले मात्र हर्ट टु हर्ट कनेक्सनमा जोड्न सक्ने हो । गाँजाभांग, रक्सी आदिको नसामा डुबुल्की मार्दा कतिपय अवस्थामा भावनाको त्यो गहिराइसम्म पुग्न सकिन्छ भन्ने पनि मानिँदै आएको छ । यत्तिकै एउटैको प्रार्थना र ध्यानमा मनलाई डुबाउन सक्यौं भने बल्ल हर्ट टु हर्ट कनेक्सन बल्ल गाँठिँदै जान्छ ।

टिप्पणीहरू