सडकमा थप सतर्कता अपनाउन चितवनमा आग्रह

सडकमा थप सतर्कता अपनाउन चितवनमा आग्रह

अविरल वर्षाका कारण कात्तिक १७ गते रातिदेखि अवरुद्ध भएको चितवनस्थित राजमार्गमा सवारी आवागमन सुचारु भएको छ । तर मनसुनजन्य जोखिम कायमै रहेकाले सतर्क भएर यात्रा गर्न जिल्ला प्रहरी कार्यालय, चितवनले आग्रह गरेको छ ।

कार्यालयले जारी गरेको सूचनाअनुसार जिल्लाअन्तर्गत सबै सडकखण्डमा गुड्ने सवारी साधन बेलुका ६ बजेसम्ममा चितवन आइसक्नुपर्नेछ । त्यस्तै, चितवनबाट बाहिरिन चाहने (पोखरा वा काठमाडौंतर्फ जाने) सवारी पनि बेलुकी ६ बजेसम्म गइसक्नुपर्ने छ । अन्यथा सवारी साधनलाई तोकिएका ‘सेफ्टी होल्डिङ स्पेस’ मा अनुशासनपूर्वक राख्नुपर्नेछ । मौसमको अवस्थाअनुसार अर्को सूचना जारी गरिने कार्यालयले जनाएको छ ।

चितवनका फिस्लिङ, कुरिनटार, मुग्लिन, जुगेडी, रामनगर, आँपटारी, बाइपास रोड, पोखरा बसपार्क, भरतपुरस्थित केन्द्रीय बसपार्क र गोन्द्राङमा होल्डिङ स्पेस रहेका छन् । यसैगरी टाँडी, पर्सा, डडुवा–भण्डारा र लोथरमा पनि होल्डिङ स्पेस तोकिएको छ ।

प्रहरी कार्यालयका अनुसार वर्षाका कारण अलपत्र यात्रुलाई गन्तव्यतर्फ सावधानीपूर्वक पठाउने कार्य भइरहेको छ । मालवाहक सवारी सम्बन्धी जानकारी भने पछि दिने जनाएको छ ।

यद्यपि बाटो पूर्णरूपमा सुरक्षित नभएकाले टिकट काउण्टरलाई नयाँ टिकट नकाट्न निर्देशन दिइएको छ । होल्डिङ स्पेसमा रहेका सवारीलाई पोखरा–काठमाडौंतर्फ पठाउने तयारी भइरहेका बेला आज बिहान सवा ८ बजे धादिङको जोगीमारामा ठूलो पहिरो खस्दा समस्या थपिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू