सर्वोच्चमा इजलास तयार,संसद पुनर्स्थापनाको मुद्दा दायर हुनसक्ने

सर्वोच्चमा इजलास तयार,संसद पुनर्स्थापनाको मुद्दा दायर हुनसक्ने

भदौ २४ गतेको जेन जी विध्वंशमा ध्वस्त बनाइएको सर्वोच्च अदालतले भोलिदेखि आफ्ना सेवा सुचारु गर्ने भएको छ । हिजो बसेको सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फूल कोर्ट) ले रिट निवेदन,मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरु दर्ता गरी सुनुवाई थाल्ने निर्णय गरेको छ । 

भदौ २४ गतेको विध्वंशपछि अदालतले खरानी उठाउँदै टेण्ट टाँगेर बनाइएको इजलासबाट सीमित सेवा दिँदै आएको छ । आजसम्म बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन मात्र दर्ता र सुनुवाई हुँदै आएको छ । भोलिदेखि सबै खालका रिट दर्ता तथा सुनुवाई थालिने सूचना जारी भइसकेको छ ।

अदालतसँगै नेपाल बार भवनको पछाडि रहेको एनेक्स भवनमा तीन वटा इजलास तयार पारिएको छ । पछाडि बन्दै गरेको नयाँ भवनमा एउटा इजलास बनिसकेकाले सम्भवतः आगामी छठपछि सर्वोच्चले सबै सेवा पूर्ववत रुपमा सञ्चालन गर्न लागेको बताइन्छ । अब प्रतिनिधि सभा विघटनको मुद्दा दायर गर्न बाटो पनि खुलेर संवैधानिक इजलास बस्न सक्ने अवस्था देखिन्छ । 

प्रधानन्यायाधीश प्रकाशमानसिंह  राउतको अध्यक्षतामा बसेको हिजोको पूर्ण बैठकमा न्यायाधीशहरुले एउटै स्वरमा जनता,मुलुक र कानुनलाई शीरमा राखेर अघि बढ्ने प्रण गर्नुभएको सर्वोच्च स्रोतले बतायो । अनलाइन सिस्टम अझै पुनर्स्थापित नभएकाले  श्रीमानहरुले दर्ता भएको रिट निवेदनबारे पुरानै ढर्राले अध्ययन गर्नुपर्ने अवस्था रहेको हुँदा समय केही लाग्न सक्छ । 

आगजनीबाट ८० प्रतिशत मुद्दाका फाइल खरानी भएका छन् । ती मुद्दाका डिजिटल कपी संकलन गर्ने क्रम शुरु भइसकेको छ । सर्वोच्च परिसरमा ५२ वटा सवारी साधन जलाइएको थियो । भदौ २४ गते न्यायाधीशहरु सपना प्रधान मल्ल र सारंगा सुवेदीको गाडी तोडफोड गरिएको थियो भने प्रधानन्यायाधीशसहित चार जना न्यायाधीशको गाडी जलाएर ध्वस्त पारिएको थियो । 

अदालत प्रशासनले सर्वोच्चको सबै सेवा सुचारुका लागि कम्तीमा ३० करोड तत्काल खर्च गरेर पुनर्निर्माण गर्नुपर्ने अवस्था रहेको बतायो । अन्य अदालतहरु,बार एसोसियसन भवन, महान्यायाधिवक्ताको कार्यालयमा गरिएको आगजनीमा पनि ठूलो क्षति भएको छ ।

टिप्पणीहरू