विनोद श्रेष्ठको कमाण्ड भानुद्वारा हाइज्याक
जेनजी आन्दोलनको अघिल्लो दिन (भदौ २०–२२) सम्पन्न एमाले दोस्रो विधान महाधिवेशनको कुरा हो । दुई दशकदेखि एमालेका हरेक मोर्चामा स्वयंसेवक परिचालनको भूमिका निर्वाह गर्दै आएका विनोद श्रेष्ठको कमाण्ड एमालेका जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले छापामार शैलीमा खोसिदिए ।
२३ वटा जनसंगठन भए पनि विशेषगरी अनेरास्ववियु, युवासंघ, मजदुर, युवा विद्यार्थी (पूर्व अखिल) र भूपू सैनिकहरूले नै स्वयंसेवकको भूमिका निर्वाह गरेका थिए । त्यसमा पनि युवा र विद्यार्थीको उल्लेखनीय संख्या थियो । मुख्य कमाण्डर भानुभक्त ढकाल थिए भने सहायक तथा फिल्ड कमाण्डर भने कमिटीको पोर्टफोलियोअनुसार खटिएका थिए ।
३ जना स्वयंसेवकको बहिष्कार
महाधिवेशनपूर्व नै च्यासलमा स्वयंसेवकको नामावली फाइनल भएपछि अखिलबाट भर्खरै बिदा भएका (गत जेठ २४ गतेको महाधिवेशनबाट) र युवा विद्यार्थी विशेष जिल्ला कमिटीका अध्यक्ष सुदर्शन शिवाकोटी कराउन गएपछि भानुभक्तले “१५ जनाजति स्वयंसेवक थप्न” निर्देशन दिएका थिए । उक्त दस्ताको कमाण्डर बिनिता काफ्लेलाई तोकिएपछि अखिलका निवर्तमान उपाध्यक्षत्रय गोविन्द गिरी, नारायण घर्ती र धर्मलाल गिरीले बहिष्कार गरे । बिनिता काफ्ले पनि ती उपाध्यक्षहरूसँगै अखिलबाट बिदा भएकी सचिव थिइन् । अखिलमा उमेरहद पुगेका कारण चालिसेहरूले अनिवार्य अवकाश पाएका थिए ।
स्वयंसेवक नै कमाण्डरजस्तो
युवासंघका उपाध्यक्ष महाराज गुरुङ र महासचिव महेश चौलागाईंलगायत युवासंघका केही नेता प्रतिनिधिजस्तै हलको सिटमा बसेका थिए । न त क्याप लगाए, न ज्याकेट । बरु भानुभक्त ढकालचाहिँ स्वयंसेवकजस्तै देखिएका थिए । पोशाक नलगाई मञ्चमा बस्दा पनि उनले अघिल्लो दिन आफैंले लगाएको आचारसंहिता उल्लंघन गरे ।
अखिलबाट स्वयंसेवकको बदनाम
अनेरास्ववियुले करिब ५० जना स्वयंसेवक खटाएको थियो । मूल गेटमै तत्कालीन अध्यक्ष सुजन कडरियासहित अन्य तैनाथ थिए । आफ्ना भनेर चिनिएका व्यक्तिहरूलाई सवारीसाधनसहित भित्र जान दिन्थे भने अरूलाई त्यहींबाट हिँड्न लगाइन्थ्यो । तत्कालीन शिक्षामन्त्री रघुजी पन्तलाई गेटमै ओर्लिन भनिएपछि उनी लुरुलुरु हिँड्दै हलमा पुगेका थिए । महिला संघकी कार्यकर्ताहरू स्वयंसेवकले गरेको दुर्व्यवहारबारे गुनासो पोख्दै थिए– “भर्खर पार्टीमा लागेका आलाकाँचा स्वयंसेवक रहेछन् । पार्टी र समाजबारे केही ज्ञान छैन । ठूलो र चर्को स्वरमा कुरा मात्रै गर्छन् ।” नयाँ युवापुस्तालाई देखेर बहिनीहरूले राजनीतिमा लागेकाे समय सोध्दा, रुखो जवाफ भेटिएको बताइन्छ ।
दोस्रो दिन हलभरि स्वयंसेवक
स्वयंसेवककै भूमिकामा भए पनि श्यामकाजी खत्री र सञ्जीव धिताल संगठन विभागको काममा खटिएका थिए । नरेश रोकाया आइटी शाखाको नाममा महाधिवेशन हलमा प्रवेश गरेका थिए । अघिल्लो दिन प्रवेश कार्ड नभएकाहरू छिर्न नपाएपछि भोलिपल्ट खत्री र धितालले मिलेर अखिलका २०० भन्दा बढीलाई स्वयंसेवक वा अन्य नाममा कार्ड बनाइदिएका थिए ।
स्ववियु सभापतिले छाडे अखिल
जेनजी आन्दोलनक्रममा एमाले र भ्रातृ संस्थाका धेरै कार्यकर्ताले पार्टी छोडेका छन् । नेपाल कमर्स क्याम्पसमा अखिलबाट निर्वाचित स्ववियु सभापति बिशाल रोकायाले समेत पार्टी छोडेको घोषणा गरेका थिए । उनलाई सभापति बनाउन मरिमेटेर लागेका श्यामकाजी खत्रीले भने, “मैले विशालको जिम्मा कहाँ लिन सक्छु र ?” भन्ने प्रतिक्रिया दिएका छन् । तर स्ववियु निर्वाचनअघि उनैले समिक बडाललाई मनाएर टिकट आफैं कम्प्युटरमा टाइप गरी ल्याएका थिए ।
टिप्पणीहरू