जेनजी विध्वंशपछि एमालेका पूर्वमन्त्री बाहिर बाहिरै अमेरिकातिर

जेनजी विध्वंशपछि एमालेका पूर्वमन्त्री बाहिर बाहिरै अमेरिकातिर

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका शुरुदेखिकै खास सहयोगी पूर्वमन्त्री देवेन्द्र दाहाल अमेरिका पुगेका छन् । भदौ २३ गते जेनजी प्रदर्शन भएकै दिन फिलिपिन्स उडेका उनी नेपाल नफर्किकन सिधै अमेरिका गएको खुलेको छ । ओली नेतृत्वको तत्कालीन सरकारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका दाहाल ‘सडक सुरक्षासम्बन्धी एसिया प्यासिफिक सम्मेलन’ मा सहभागी हुन फिलिपिन्सको मनिला गएका थिए । 

भदौ २४ देखि २६ गतेसम्म आयोजित कार्यक्रममा सहभागिता जनाएर भदौ २८ गते स्वदेश फर्किने कार्यक्रम थियो । तर,कसैले कल्पना नै नगरेको परिस्थिति बनेपछि उनी नेपाल नफर्किएको विश्वस्त स्रोत बताउँछ । स्रोतका अनुसार फिलिपिन्सबाट उनी थाइल्याण्डको राजधानी बैंकक आए । त्यहाँ केही दिन बसेपछि भारतको नयाँ दिल्ली आएर श्रीमतीलाई पनि त्यतै बोलाए । 

दशैं नवमीको दिन श्रीमती दुर्गालाई दिल्ली बोलाएर दुवै अमेरिका गएको स्रोतको जिकिर छ । दाहालका छोरा अमेरिका बस्छन् । ‘उनी त्यहाँ कार्यक्रमका लागि गएका थिए । अचानक यस्तो घटना भयो । जेनजीहरुले नेता र तिनका घरलाई टार्गेट गरेपछि उनी श्रीमतीलाई नयाँ दिल्ली बोलाएर अमेरिका गएका हुन् । छोरा अमेरिकामै छन्’,स्रोतले भन्यो । 

ओलीको गृहजिल्ला झापाको दमक नगरपालिका–५ का दाहाल एकपटक पनि चुनाव नजित्ने स्पष्टवक्ता नेतामा पर्दछन् । उनलाई राष्ट्रिय सभामा एमाले संसदीय दलको नेतासमेत बनाइएको थियो । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्ने वार्षिक कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा पछाडि परेका थिए । 

जेनजीको विध्वंशपछि विदेश तिर लागेका अर्का मन्त्री भने आज बिहान टुप्लुक्क बुढानिलकण्ठस्थित निवासको आँगनमा सार्वजनिक भएका छन् । विध्वंशमा निवासबाट असंख्य एक हजार र पाँच सयको नोटसँगै विदेशी मुद्रा भेटिएको फोटो र भिडियो सार्वजनिक भएपछि केही दिन मोबाइलको स्विच अफ गरेर बसेका तत्कालीन ऊर्जामन्त्री दिपक खड्का स्थलमार्ग हुँदै भारत गएका थिए । 

गृहमन्त्री ओमप्रकाश अर्यालले उनी भागेको बताएपछि आज बिहान जलेको निवासको आँगनबाट फोटो र भिडियो सार्वजनिक गरेका खड्काले उपचारका लागि भारत गएको प्रष्टीकरण दिएका छन् ।

टिप्पणीहरू