बालुवाटारमा सोधियो : दुई वर्षअघि चुनाव गर्न मात्रै तपाइँ प्रधानमन्त्री बन्नुभएको ?
प्रधानमन्त्री सुशीला कार्कीले सरकार जेन जी आन्दोलनको मर्मभन्दा बाहिर नजाने स्पष्ट पार्नुभएको छ । आज बिहान बालुवाटारमा जेन जी आन्दोलनका घाइतेहरूसँगको भेटपछि उहाँले आज अपरान्ह ४ बजे संसद प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरुलाई छलफलमा बोलाउनुभएको छ ।
नेपाली काँग्रेसबाट महामन्त्री गगन थापा र एमालेको तर्फबाट महासचिव शंकर पोखरेल प्रधानमन्त्रीले बोलाएको सर्वदलीय छलफलमा सहभागी हुने बताइको छ । सरकार गठन भएको झण्डै डेढ महिनापछि प्रधानमन्त्रीको अग्रसरतामा राजनीतिक दलसँग संवाद हुन लागेको हो ।
आजको छलफलको मुख्य एजेण्डा मूलतः फागुन २१ गतेका लागि तोकिएको निर्वाचन सम्पन्न गराउने विषय रहेको बताइन्छ । राजनीतिक दलहरुले सरकारसँग मुख्यगरी शान्तिसुरक्षाको प्रत्याभूतिको सन्दर्भ उठाउँदै आएका छन् ।
आज बिहान जेन जी घाइतेहरुसँगको कुराकानीमा उहाँले चुनाव पनि हुने र भ्रष्टाचारको अनुसन्धान पनि हुने विश्वास दिलाउनुभएको थियो । उहाँले निर्देशन दिनुभयो, ‘तपाईंहरू बोल्न नछाड्नुहोस्, दबाब दिन पनि नछाड्नुहोस् । अब नतिजा आउँछ ।’
बिहान १० बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन र सञ्चारमन्त्री जगदीश खरेल पनि सहभागी थिए।
घाइतेहरुले सरकारलाई चेतावनी दिँदै भनेका छन्, ‘भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर फेरि अर्को आन्दोलन गर्छौं । जोविरुद्ध हामीले आन्दोलन गरेका थियौँ, तिनीहरूलाई तत्काल पक्राउ गर्न केले रोक्यो?’ उनीहरुले प्रधानमन्त्रीलाई सोधेका थिए, ‘२०८४ को चुनाव दुई वर्ष अगाडि गर्न मात्रै तपाइँ प्रधानमन्त्री बन्नुभएको हो ।’
टिप्पणीहरू