दुर्गा प्रसाईंलाई एकचोटी सम्झाउने,नमाने ठोक्ने सहमति
प्रधानमन्त्रीले आज बिहान सरकारी निवास बालुवाटारमा डाकेको बैठकका सहभागी चार वटै सुरक्षा निकायका प्रमुखहरु राजधानी ठप्प पार्छु भनी हिंड्ने दुर्गा प्रसाईंलाई एकचोटी सम्झाउने,नमाने ठोक्ने निर्णयमा पुगेका छन् । प्रधानमन्त्रीको उपस्थिति र गृहमन्त्रीको सहभागितामा भएको छलफलमा प्रसार्ईंले समाज भाँड्ने,सर्वसाधारण उराल्ने अभिव्यक्ति दिँदै आएको विषयमा निकैबेर छलफल हुँदा ‘सम्झाउने,अन्यथा सोझ्याउने’ रणनीति तय भएको बताइन्छ ।
छठ पर्वपछि प्रसाईंको नेतृत्वमा राजावादी भनिएकाहरुले राजसंस्था पुनस्थापना,गणतन्त्र विघटनको नारा लगाउँदै देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् । तर, सुरक्षा निकायहरुले प्रसाईंको आह्वानमा हुने आन्दोलनमा सर्वसाधारणको सहभागिता धेरै नहुने रिपोर्टिङ गरेको बुझिएको छ । ‘सिपाहीको तलब एकलाख, २० लाखभन्दा मुुनिका बैंक ऋण मिनाहा,मारवाडी र तिनका व्यवसायमाथि प्रहार जस्ता उग्र प्रचार गरेकाले समाजमा वितण्डा मच्चाउन चाहने तत्व,ऋण तिर्न नचाहने ऋणी र सामाजिक अमनचयनमा अवरोध पुर्याएर आफ्नो स्वार्थ पूरा गर्न पल्केकाहरु उनको कार्यक्रममा जान सक्छन्,’बैठकको रिपोर्टिङ उल्लेख गर्दै स्रोतले भन्यो ।
चाडपर्वपछि हुने भनिएको आन्दोलनबारे सुरक्षा प्रमुखहरुको रिपोर्टिङ ध्यानपूर्वक सुनेपछि प्रधानमन्त्रीले फुकेर पाइला चाल्न सुझाव दिनुभएको थियोे । बैठकको बिट मार्दै गृहमन्त्री ओमप्रकाश अर्यालको भनाई थियो, ‘एकपटक हामी सम्झाऔं, नत्र सुरक्षा निकायहरुले आफ्नो कर्तव्य पूरा गर्छन् ।’ सरकारले सम्भवतः छठपछि आगामी बुधबारसम्म दुर्गा प्रसाईंलाई उनका कुरा राख्न वार्तामा बोलाउने बुझिएको छ ।
नेपाल प्रहरी स्रोत भन्छ, ‘हिजो जस्तो अब हामी सहँदैनौं । सबैको समन्वयमा एकीकृत ढंगले अघि नबढे देश रहँदैन ।’
गृह मन्त्रालयको हालसम्मको विश्लेषणमा पनि प्रसाईंले आन्दोलनमा खासै मान्छे जम्मा पार्न नसक्ने निचोड निकालिएको छ । स्रोत भन्छ, ‘मान्छे आउने देखिँदैन तर, स्वार्थ समूहको सहभागिता हुनसक्छ । त्यसो भयो भने प्रहरी र सशस्त्रले आफूूसँग भएका सबै स्रोत र साधनको प्रयोग गर्नेछ ।’
भदौ २४ गतेको विध्वंशलाई ध्यानमा राखेर अब पनि गाडी, घर जलाउने वा जलाउन प्रयास गर्नेलाई देख्नेबित्तिक्कै ‘सुट’ गर्नुपर्ने मनस्थितिमा सरकारदेखि सुरक्षा निकाय पुगेको बताइन्छ । सुरक्षा निकायको मनस्थिति गिराएको अहिलेको अवस्थामा उनीहरुले अस्तित्वको लागि पनि पेल्नुको विकल्प नभएको कोणबाट सुरक्षा विश्लेषण गरेका छन् ।
व्यक्तिको निजी वा व्यवसायिक, सरकारी भवनमा आगो लगाउने, गाडी जलाउनेहरुको विरुद्ध कारबाहीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले विशेष कार्ययोजना तयार गरिरहेको बताइन्छ । एक पटक सम्झाउँदा पनि नटेर्नेलाई नछाड्ने मनस्थितिमा उनीहरु पनि पुगेका छन् । नेपाल प्रहरी स्रोत भन्छ, ‘हिजो जस्तो अब हामी सहँदैनौं । सबैको समन्वयमा एकीकृत ढंगले अघि नबढे देश रहँदैन ।’
टिप्पणीहरू