गृह सुध्रियो कि उस्तै छ गडबडी ?
गृह मन्त्रालयले हालै ३६ भाइ सहसचिवको सरुवा गर्दा वाम पृष्ठभूमिका, यसअघि अख्तियार मातहत बसेर काम गरेका कर्मचारीले तुलनात्मक रुपमा आकर्षक जिल्ला पाएका छन् । कांग्रेस निकट रही यस पटक पेलानमा परेका सहसचिवमा तोयनारायण सुवेदी, कृष्णप्रसाद लम्साल, धर्मराज जोशी, डा. टोकराज पाण्डेय, गोगनबहादुर हमाल, विष्णु कोइरालालगायत छन् ।
गृह प्रशासनमा सदाबहार प्रमुख जिल्ला अधिकारी बनेर रेकर्ड राखेका आस्मान तामाङ, रामबहादुर कुरुम्बाङहरूको पदचाप पछ्याउने अवसर पाएका छन् केही सहसचिवले । कतिले मापदण्ड मिचेर सात वटा जिल्ला हाँक्ने अवसर पाएका छन् । अनि केहीचाहिँ दुई महिनामै लखेटिएका छन् ।
श्रावण २९ गते कैलाली जिल्ला प्रशासनको जिम्मेवारी सम्हाल्न पुगेका कृष्णप्रसाद लम्साल दुई महिनामै लमजुङ पुगेका छन् । भाद्र ९ मा पर्सा जिल्ला प्रशासनमा हाजिर हुन पुगेका तोयनारायण सुवेदी अर्घाखाँची खटाइएका छन् भने महोत्तरीबाट नारायण रिसाललाई अवधि नपुग्दै दोलखा पुर्याइएको छ । कांग्रेसनिकट धर्मराज जोशी सरुवा भएर उदयपुर पुगेका छन् । जेन जी विध्वंशको क्रममा रूपन्देहीलाई कम क्षतिग्रस्त बनाएका टोकराज पाण्डे लमजुङ पुगेका छन् । रुद्रादेवी शर्मालाई चलाइएको छैन ।
यसअघि संघीय मामिला तथा सामान्य प्रशासनबाट बढुवा भएर नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा गृह प्रवेश गरेका रामुराज कडरियालाई आफ्नै गृह जिल्लामा खटाइएको छ । तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई खुशी पारेर पहिलो पोस्टिङमा धनुषाको प्रमुख जिल्ला अधिकारी बनेका थिए भने त्यहाँ १६ महिना बस्दा सार्वजनिक अपराधको एउटा मुद्दामा दुबैथरी झगडिया (पक्ष÷ विपक्ष) २ लाख र ४ लाख रकम बुझेको उजुरी परेपछि तानेर गोरखा पठाइएकोमा अवकाशको मुखमा आफ्नै गृह जिल्ला खटाइएको हो ।
यसअघि आफ्नै गृहजिल्ला कमाण्ड गरिरहेका प्रशासकहरूलाई सरुवा फिर्ता गरिएको थियो । गृह मन्त्रालयले दुई वर्ष अगाडि बनाएको मापदण्ड (दोस्रो संशोधन कार्यविधि, २०८०) लाइ कुल्चिएर सहसचिवहरू दिलकुमार तामाङ, इन्द्रदेव यादव, नारायण रिसाल, धर्मेन्द्रकुमार मिश्र, वासुदेव घिमिरे, वसन्त अधिकारीहरूको सरुवा भएको छ ।
‘क’ वर्गबाट ‘क’ वर्गकै जिल्ला हाँक्न नमिल्ने प्रावधान भए पनि बढुवा भएको वर्ष दिनमै कपिलवस्तुबाट दिलकुमार तामाङ बाँके पुगेका छन् । यस्तै, निजामती ऐनले अवकाशको छ महिना अवधि बाँकी रहेका कर्मचारी नछुने भनेपछि प्रेम भट्टराईलाई ललितपुर खटाइएको छ ।
यता, विगतमा अख्तियारमा बसेका सहसचिवहरूलाई आकर्षक जिल्लामा पठाइएको छ । त्यस्तैमध्येका हुन् माधव पोखरेल, युवराज कट्टेल, भोला दाहाल, इन्द्रदेव यादव । झापाबाट गोपालप्रसाद अधिकारीलाई काभ्रेपलाञ्चोक, उमेशप्रसाद ढकाललाई काभ्रेपलाञ्चोकबाट भक्तपुर सारिएको छ । उनी उपसचिवदेखि सहसचिव हुँदा करिब एक दर्जन जिल्लाको सिडिओ भइसकेका छन् । यसअघि नवलपरासीपूर्वको सिडिओ हुँदा चौधरी ग्रुपको बदमासीविरूद्ध एक्सन लिएवापत कारवाहीस्वरूप ‘ग’ वर्गको जिल्ला पाँचथर खटाइएका अरुण पोखरेललाई भने चलाइएको छैन ।
टिप्पणीहरू