एकता सन्देश सभामा सचिव अनुपस्थित

एकता सन्देश सभामा सचिव अनुपस्थित

- कमल भट्टराई

नेपाली कम्युनिष्ट पार्टीले ताप्लेजुङमा आयोजना गरेको एकता सन्देश सभामा नेकपा एसका जिल्ला कमिटी सचिव मोहन न्यौपाने अनुपस्थित भएका छन् । हिजो सदरमुकाममा आयोजित सभामा नेकपा एसका पूर्व जिल्लाअध्यक्ष तथा प्रदेश कमिटी उप–सचिव, ताप्लेजुङ जिल्ला समन्वय समिति (जिसस) का प्रमुख छिरिङ लामा एमालेमा फर्किसकेको कारण उपस्थित भएनन् ।

सभालाई पूर्वमन्त्री हरिबोल गजुरेलले नेतृत्व चयनसम्बन्धी चलिरहेको बहसलाई उल्लेख गर्दै एमालेभित्रको ‘उकुसमुकुस’ अन्ततः अधिवेशनपछि नेपाली कम्युनिष्ट पार्टीकै पक्षमा बलियो परिणाम आउने दाबी गरे। उनले जनार्दन शर्मा र घनश्याम भुसाल समूहलाई यथास्थितिवादी भन्दै ‘जेन जी आन्दोलन’ ले नेपालका कम्युनिष्टहरूमा चेत खुल्दै गएको र एकता तथा जुटको वातावरण बन्ने टिप्पणी गरे।

त्यसैगरी नेता राजेन्द्र कुमार राईले कोशी प्रदेशको पुनः नामाङ्कनबारे पार्टीभित्र छलफल भइरहेको र आउँदो विशेष अधिवेशनमा यस विषयलाई औपचारिक रूपमा उठाउने तयारी चलिरहेको बताए।

सभामा नेता हर्कबहादुर नेम्बाङ (मिक्सो), खेलप्रसाद बुढाक्षेत्री (पराग), निता कुमारी सिवा लगायत नेताहरूको उपस्थितिमा सदरमुकामस्थित होटल जेनुइनको प्रांगणमा सभा सम्पन्न भएको हो ।

टिप्पणीहरू