सशस्त्रको गोलीबाट स्थानीय मारिएपछि तनाव

सशस्त्रको गोलीबाट स्थानीय मारिएपछि तनाव

सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय विरोधमा उत्रिएका छन् । 

गएराती कोशी गाउँपालिका-१ मा गस्तीमा खटिएको सशस्त्र प्रहरीको टोलीले गोली चलाउँदा स्थानीय ४५ वर्षीय विजय साहको घटनास्थलमै मृत्यु भएको थियो । त्यसविरुद्ध आन्दोलनमा उत्रिएका स्थानीयले क्षतिपूर्ति मागसहित  पूर्वपश्चिम राजमार्गको लौकही सडक खण्ड अवरुद्ध गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सुमनकुमार तिम्सिनाले अहिले त्यहाँको स्थिति तनावग्रस्त रहेको जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरीको टोलीले निहात्था नागरिकको हत्या गरेको भन्दै स्थानीयले उचित क्षतिपूर्ति माग गरिरहेका छन् । 

‘घटना राती सवा १ बजेको रहेछ, मृतक भारतबाट चिनीलगायतका खाद्यन्न ल्याएर आउँदै रहेछन्’, एसपी तिम्सिनाले भने, ‘सशस्त्रका साथीहरुले पहिला गोली चलेपछि जवाफी फायरिङ गरेको बताइरहनुभएको छ, स्थानीयले चाहिँ सशस्त्रले नै पहिला गोली हानेर हत्या गरेको दावी गरिरहनुभएको छ ।’

स्थानीयको प्रदर्शनका कारण सवारी आवागमन अवरुद्ध भएको उनले बताए । पीडित परिवारसहित सर्वपक्षीय छलफल गरेर सडक खुलाउने प्रयास भैरहेको पनि उनले जानकारी दिएका छन् । 

बताइएअनुसार मृतक साहका श्रीमती र दुई सन्तान छन् । उनी मध्यराती भारतबाट खाद्यन्नका लिएर फर्किदै गरेको र सोक्रममा गस्तीमा रहेको सशस्त्र प्रहरीले रोक्न खोज्दा अटेर गरेपछि गोली चलेको हो ।

टिप्पणीहरू