करेन्ट वा विष प्रयोग गरेर माछा मार्न रोक
गोरखाको आरुघाट गाउँपालिकाले करेन्ट वा विष प्रयोग गरेर माछा नमार्न चेतावनी दिएको छ । पालिकाका अनुसार स्थानीय नदी, खोला, खोल्सा, ताल र जलाशयमा केही व्यक्तिले लुकीछिपी करेन्ट लगाएर वा विषादी हालेर माछा मार्ने गरेको जनगुनासोपछि यस्तो चेतावनी दिइएको हो ।
त्यसरी माछा मार्दा जलचरको विनाशसँगै वातावरणीय सन्तुलन र मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने भएकोले कुनै पनि विद्युतीय उपकरण, विषादी वा प्रविधिको दुरुपयोग गरी माछा मार्न नपाइने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
‘यदि कसैले यस सूचनाको उल्लंघन गरेको पाइएमा प्रचलित कानूनबमोजिम जरिवाना तथा कानूनी कारबाही गरिनेछ,’ सूचनामा भनिएको छ, ‘यस्तो गैरकानूनी कार्य गर्ने व्यक्तिहरुको बारेमा नजिकैको प्रहरी चौकी वा गाउँपालिकाको कार्यालयमा जानकारी दिई वातावरण संरक्षणमा सहयोग पुर्याउनहुन अनुरोध गरिन्छ ।’
टिप्पणीहरू