ओलीको मौखिक बयान उतार्न र सही गराउनै बाँकी
भदौ २३ र २४ गतेको घटनामाथि छानविन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान रेकर्ड गराएको छ ।
आयोगका कर्मचारीले आज गुण्डु पुगेर बयान रेकर्ड गराएका हुन् । शुक्रवार नै लिखित प्रश्न पठाएर औपचारिक पत्र बुझाउन आज गएको टोलीलाई ओलीले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै मौखिक बयान दिएको आयोग सम्वद्ध स्रोतले जानकारी दियो ।
आयोगका पदाधिकारीले त्यसलाई रेकर्ड गरेर ल्याएका छन् । 'हामीले निश्चित प्रश्न सोधेका थियौँ तर,उहाँले प्रश्नतिर नगई आफ्नै कथा सुनाउनुभयो', स्रोतले बयानबारे खुलायो, 'धेरैजस्तो मिडियामा बोलेकै कुरा छन् ।'
'हामीले निश्चित प्रश्न सोधेका थियौँ तर,उहाँले प्रश्नतिर नगई आफ्नै कथा सुनाउनुभयो' ।
ओलीको मौखिक धारणालाई शब्दमा उतारेर हस्ताक्षर गराउने आयोगको तयारी छ । 'यसलाई जस्ताको त्यस्तै उतारेर उहाँको हस्ताक्षर गराउँछौँ, त्यसपछि बयानले औपचारिकता पाउँछ', स्रोतले भयो ।
ओलीले यसअघि सुशीला कार्की नेतृत्वको सरकारलाई 'हाहाहुहुको सरकार' भन्दै आयोगलाई बयान नदिने अडान राख्दै आएका थिए । तर, सेनापति र तत्कालीन गृहमन्त्रीको बयानपछि दबाबमा परेका उनले पछिल्लो समय भने आयोगको टोली गुण्डु आए चिया खुवाएर पठाउने बताएका थिए ।
यसबारे आयोगका पदाधिकारीले प्रधानमन्त्री कार्कीसँग सल्लाह गरेका थिए । चुनावको वातावरण नबिथोलियोस् भन्ने हिसाबले गुण्डुमा बयान लिन प्रधानमन्त्रीले सुझाएकी थिइन् । तर,आयोगका पदाधिकारी ओलीको घर जान नमानेपछि मध्यमार्गी विकल्पका रुपमा कर्मचारीलाई पठाइएको हो ।
'अब उहाँले हाम्रो अफिसमा आएर बयान दिइरहन परेन । सेफ ल्याण्डिङ्ग भयो', स्रोत भन्छ, 'आयोगको अस्तित्वसमेत स्वीकार नगर्ने मान्छे बयान दिन राजी भए । राज्यले जित्यो ।'
टिप्पणीहरू