प्रचण्ड भेट्न हाेटलमै पुगे माेदीका सल्लाहकार
नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भदौ २४ गतेको विध्वंशको कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली रहेको टिप्पणी गरेका छन् । भारतको नयाँ दिल्ली पुगेका उनले त्यहाँ आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै ओलीले अहिले जति गफ लगाए पनि तत्कालीन अवस्थामा आफू र माधव नेपालले मुलुकलाई निकास दिन ठूलो भूमिका खेलेको बताएका हुन् । यद्यपि, त्यतिबेला राष्ट्रपति रामचन्द्र पौडेलसँग संसद विघटनबारे कुनै कुरा नै नभएको प्रचण्डको भनाई छ ।
‘२६ गते राति म र माधवजीलाई राष्ट्रपति निवासमा बोलाएपछि हामीले रातभर धेरै मिहेनत गरेर यो संशयको वातावरणलाई निवारण गर्ने र देशलाई विस्तारै सामान्य अवस्थातिर फर्काउन मेहनत गरेका हौँ’, उनले भने, ‘केपी ओलीले अहिले जति गफ लगाए पनि उनकै सिफारिसमा सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने समझदारी भएको हो, त्यतिबेला पनि कामचलाउ उनी नै थिए ।’
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले हिजो त्यहाँ भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेट गरेको बुझिएको छ । डोभल प्रचण्डलाई भेट्न उनी बसेकै होटल ताज महल पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । डोभल दुई वर्षअघि नेपाल आउँदा प्रचण्ड प्रधानमन्त्री थिए । त्यतिबेला पनि उनीहरुबीच बालुवाटारमा लामो कुराकानी भएको थियो ।
भारतका उत्तराखण्ड घर भएका डोभल गत वर्ष जेठमा तेस्रो कार्यकालको लागि भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त भएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र उनी भारतको गृह, रक्षा र विदेश मन्त्रालयमा निकै प्रभाव रहेका व्यक्ति हुन् ।

टिप्पणीहरू