भ्रष्टाचारी भन्दै अस्पतालका अध्यक्षलाई कालाेमोसो
नेकपा (बहुमत) निकट विद्यार्थी संगठन कम्युनिष्ट युवा संगठनले डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझालाई कालाेमोसो दलेको छ । संगठनको डडेल्धुरा समितिले आज कार्यकक्षमै उनीमाथि मोसो दलेको हो ।
अस्पताललाई भ्रष्टाचार र राजनीतिक भर्ति केन्द्र बनाइएको भन्दै कालोमोसो दलेर भौतिक कारबाही गरिएको संगठनले बताएको छ । मोसो दलेपछि संगठनका डडेल्धुरा अध्यक्ष क.सहविरले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कमिशनको लोभमा अस्पतालका स्वास्थ्य उपकरण जानाजानी बिगारेर नयाँ उपकरण खरिद प्रक्रियामा लैजाने र यसमार्फत लाखौं रुपैयाँ भ्रष्टाचार गर्ने गरेको छ । उदाहरणका रुपमा हाल प्रयोगमा रहेको ठूलो एक्सरे मेशिन बिगारेर नयाँ खरिद प्रक्रिया अघि बढाइएको छ ।’
त्यस्तै, दक्ष र अनुभवी जनशक्तिलाई भर्ति गर्नुको साटो आर्थिक चलखेलमा अस्पताललाई राजनीतिक भर्ति केन्द्र बनाइएको, अध्यक्षमा तेस्रो कार्यकाल पूरा हुन लाग्दा पनि अस्पतालको आयव्यय सार्वजनिक नगरेको र कमजोरी ढाकछोप गर्न सार्वजनिक सुनुवाई पनि नगरेको, अस्पतालका उपकरण तथा भौतिक पूर्वाधार मर्मत तथा निर्माणसम्बन्धी काम आफ्ना आसेपासे दिई कमिशन खाने गरेको संगठनको आरोप छ ।
‘अस्पतालमा थुप्रै स्थायी दरबन्दी खाली रहँदा पनि स्थायी कर्मचारी नियुक्ति नगरी आर्थिक र राजनीतिक चलखेलका आधारमा करार र ज्यालादारी (डोरहाजिर) कर्मचारी भर्ना गरी जनस्वास्थ्यसँग गम्भीर खेलबाड गरिएको,’ विज्ञप्तिमा उल्लेख छ, ‘सुदूरपश्चिमकै रेफर अस्पताल हुँदाहुँदै पनि स्वास्थ्य सेवामा चरम लापरबाही देखाई जनतालाई सास्ती दिएको, खरिद प्रक्रियामा मनपरी गर्दै औषधि तथा उपकरण खरिदमा गुणस्तरभन्दा कमिशन दिने आपूर्तिकर्तालाई प्राथमिकता दिने गरेको ।’
अध्यक्ष ओझाले कमिशनकै लागि लाखौं मूल्य पर्ने उपकरण किन्ने अनि थन्क्याउने, सूचना लुकाउने, जवाफदेहिताबाट पन्छिने, संस्थागत सुशासन कमजोर बनाएकोे र उनकै कारण अस्पतालको छवि खस्किएकोसमेत संगठनको ठहर छ ।
टिप्पणीहरू