रास्वपामा टिकट नबाँड्दै कार्वाही

रास्वपामा टिकट नबाँड्दै कार्वाही

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर एकबाट उठ्न इच्छुक किशोर गैह्रेलाई क्षेत्रीय समितिले कारबाही सिफारिस गरेको छ । गैह्रेले पार्टी सदस्यता लिएपछि पनि नेपाली कांग्रेसको सक्रिय भूमिकामा संलग्न रहेको आरोपमा अनुशासनको सदस्य समेत नरहने गरी कारबाही सिफारिस गरेको हो ।

रास्वपाको क्षेत्रीय निर्वाचन कार्यालयले केन्द्रलाई पठाएको सिफारिस पत्रअनुसार सम्बन्धित व्यक्ति पार्टीको सक्रिय सदस्य र प्रतिनिधि सभा सदस्यका सम्भावित उम्मेदवारसमेत रहेका थिए । पत्रमा भनिएको छ-गैह्रेले सदस्यता लिएपछि पनि उनले नेपाली कांग्रेसको सक्रिय गतिविधि सञ्चालन गरेको, स्थानीय तहमा कांग्रेसको सचिवालय चलाएको तथा सार्वजनिक रूपमा कांग्रेससँग सम्बन्धित क्रियाकलापमा संलग्न भएको प्रमाण फेला परेको दावी गरिएको छ।

क्षेत्रीय निर्वाचन समितिका अनुसार उक्त विषयमा छानबिन गर्दा सार्वजनिक अभिलेख,तथ्य र प्रमाणले दोहोरो दलगत संलग्नता पुष्टि गरेको छ । पार्टी विधान र अनुशासन विपरीत कार्य गरेको ठहर गर्दै समितिले सदस्यता खारेजी,उम्मेदवारी बदर तथा अन्य आवश्यक अनुशासनात्मक कारबाही अगाडि बढाउन सिफारिस गरेको हो ।

समितिले समयमै निर्णय नलिए पार्टीको छवि,आम सदस्य र जनविश्वासमा गम्भीर क्षति पुग्ने चेतावनीसमेत दिएको छ । सोही कारण सम्बन्धित व्यक्तिमाथि तत्काल कारबाही प्रक्रिया अघि बढाउन केन्द्रीय अनुशासन समिति तथा पार्टी नेतृत्वलाई आग्रह गरिएको छ ।
क्षेत्र नम्बर १ बाट गैह्रेसहित रास्वपाको जिल्ला सभापति महेन्द्र सेन ठकुरी र बिजयी कण्डेल गरी ३ जना आकाँक्षी रहेको बुझिएको छ ।  

गैह्रेले उम्मेदवारी घोषणा गरिसकेका छन् । बलियो दावेदारसमेत रहेका गैह्रेलाई  कार्वाही गराउन महेन्द्र सेन कस्सिएको रास्वपा कार्यकर्ताले आरोप लगाएका छन् ।

टिप्पणीहरू