एकपछि अर्को आरोप लागेका अध्यक्षविरुद्ध जताततै उजुरी
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई कारबाही माग गर्दै उजुरी परेको छ । सुनसरीको इटहरी नगरपालिका–४ स्थायी घर भई काठमाडौं महानगरपालिका–२९, अनामनगर बस्ने ३३ वर्षीय यादवराज आचार्यले उनलाई भ्रष्टाचार र किर्ते जालसाजीको कसुरमा कारबाहीको माग गरेका हुन् ।
आचार्यले उनीविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा किर्ते जालसाजीको जाहेरी दर्ता गराएका छन् । त्यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी हालिएको छ । अमेरिका र वेष्ट इन्डिजमा भएको ‘टी–ट्वान्टी विश्वकप क्रिकेट–२०२४’ मा कानुनविपरीत अनाधिकृत व्यक्ति लगेर चन्दले क्यानलाई आर्थिक क्षति पुर्याएको आचार्यको ठहर छ । चन्दले विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाललाई उपलब्ध गराएको टिकट र जर्सी बेचेको उनको आरोप छ ।
‘विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपालका लागि उपलब्ध गराएको टिकट बेचेको तथा नेपालको जर्सी अमेरिकासमेतमा लगेर बेचबिखन गरी कसुरदार चन्दले अनुचित र अनधिकृत लाभसमेत लिएका छन्’,उजुरीमा भनिएको छ,‘अतः यो सम्पूर्ण मामिलामा छानबिन गरी कसुरदार क्यानका अध्यक्ष चतुरबहादुर चन्द र यो प्रकरणमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुयाउने सबैलाई कारबाही अघि बढाउन निवेदन गर्दछु ।’
चन्दउपर ‘भ्रष्टाचार निवारण ऐन, २०५९’ को दफा २० बमोजिम अनुसन्धान गर्न उनले माग गरेका छन् । उनले विश्वकपमा भाग लिएका नेपाली खेलाडीको विवरण किर्ते गरेको उल्लेख गर्दै आचार्यले किर्ते जालसाजीमा अनुसन्धान गरी कारबाही गर्न सीआईबीको ध्यानाकर्षण गराएका छन् ।
तिनै आचार्यले चन्दको पेन्सनपट्टाउपर पनि छानबिन गर्न माग गर्दै गृह मन्त्रालयमा निवेदन दर्ता गरेका थिए । २०८० चैत १४ गते दर्ता भएको उक्त निवेदनमा पूर्वशिक्षक चन्दले सँधै आफ्नो कर्तव्यबाट विमुख रहेर भ्रष्टाचार गरेको उल्लेख छ ।
टिप्पणीहरू