पार्टी विभाजन र पानीको फोका
दुई साताअघि रवि लामिछाने, बालेन साह र कुलमान घिसिङ मिल्दै गर्दा जोडतोडले मुलुकको भाग्य चम्काउने कुरा भए । रविदेखि बालेनको स्टाटस निकै चर्चित भयो, १६ लाखले लाइक गरेकोदेखि पुरानाहरू सकिएको भाष्य बनाइयो । अब पुरानाको दिन गयो, नयाँले रातारात मुलुकको भाग्य र भविष्य बदल्छन् पनि भनियो तर, यी सबै कुरा सतही र पानीको फोका सावित भएको लामो समय दलीय गतिविधिलाई नजिकबाट नियालिरहेका एक उच्च प्रशासकले बताएका छन् ।
‘बधाई दिनेको लाइन लाग्यो, राति–राति कुलमान घिसिङको घरमा बैंकर पृथ्वीबहादुर पाँडे, राष्ट्रपतिका सल्लाहकार सुनिलबहादुर थापाहरु राति–राति लुसुक्क छिर्ने, बधाई दिने क्रम ह्वात्तै बढ्यो ।’
देखाउनलाई निकै प्रचार गरिए पनि बीचमै ब्रेक भएको पार्टी एकताले नयाँलाई पनि पानीको फोकाजस्तो बनाएको तिनै प्रशासकहरु बताउँछन् । भन्छन्– दल विभाजनमा कुनै राजनीतिक आदर्शले काम नगर्ने हुँदा गठबन्धन बन्ने–भत्किने क्रम चलिरहन्छ । ‘बालेन र रविलाई पनि अपेक्षित रूपमा सजिलो छैन । खास स्वार्थले मिलेका छन् । दल कसरी बन्छ, कसरी चल्छ, दलमा लाग्नेहरूको स्वार्थ के हुन्छ ? राजनीतिक संस्कार के छ ? संसारभरिको अभ्यास कस्तो छ भन्नेतिर यिनीहरूले सचेततापूर्वक ख्याल गरेको देखिँदैन, यसअघि कांग्रेसदेखि कम्युनिष्टहरू फुट्दा पनि सत्ता र शक्तिको भोक मात्रै थियो । नयाँले पनि त्यही बाटो पछ्याएका छन् तर उनीहरूमा त एक अर्काको कुरा स्वीकार्ने न्यूनतम बानीसमेत छैन ।’ सत्ता र शक्ति दलका लागि क्यान्सरजस्तो भएको कांग्रेसको विभाजनले देखाएको उनीहरु बताउँछन् ।
‘००३ सालमा बनेको कांग्रेस ००८ सालमा छिन्नभिन्न भयो । बहुमत ल्याएपछि १७ सालमा कहाँ पुग्यो पत्तो भएन । त्यसपछि जोडिँदै–जोडिँदै यत्रो युद्ध लड्दै आएको छ । सत्ता र शक्तिको भोकले पार्टीलाई बेलाबेला तनाव दिइरहेको छ,’ ती प्रशासक भन्छन्, ‘वास्तवमा यो शक्ति र सत्ता भनेको क्यान्सर हो । सत्ताको स्वाद र यसले ल्याउने विग्रहलाई ०५१ सालमा कांग्रेसका ३६ से र ७४ रे को विभाजनले पुष्टि गर्छ ।’
सत्ता र शक्तिकै खातिर शेरबहादुर देउवाले २०५८ मा कांग्रेस फुटाए । तर, पार लगाउन सकेनन् । ०५४ सालमा वामदेव गौतमले पार्टी फुटाउँदाको औचित्यसमेत पुष्टि भएन । ‘महाकाली सन्धिका नाममा राष्ट्रवादी कार्ड फ्याँक्ने काम भयो तर अरु कुनै सैद्धान्तिक र व्यावहारिक आधार थिएन,’ स्रोतले भन्यो, ‘०५६ सालमा जित्छ भन्ने भएपछि के गर्दा जिताउन सकिँदैन भनेर गोटी बनाए, झ्याम्म एमालेलाई हराए अनि आएर टाँसिए ।’ ती प्रशासक भन्छन्, ‘०५४ सालमा फुटाए, ०५६ सालमा हराए र ०५८ सालमा मिलाए, योभन्दा बढी वामदेवले गरेका केही होइनन् ।’
(जनआस्था साप्ताहिकको पुस ३० गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू