बालेनको टुकुचाकाण्ड र सुशीलाको आकस्मिक उठान
सत्तासीनका निम्ति नियम, कानून, प्रहरी र सेना केवल देखाउने हतियार हुन्। त्यो भन्दा धारीलो अर्को शस्त्र हो, जनमानसको ध्यानभंगता !
गएको साता राजनीतिमा रुचि भएका नेपालीको ध्यान नेपाली कांग्रेसको पुस्तान्तरणको आवरणमा हुँदैगरेको पुराना शेरबहादुर देउवा बिरुद्द नयाँ गगन थापा बीचको राजनीतिक मल्लयुद्दमा केन्द्रित थियो।
जेन जी बिद्रोह र बलिदानको लाशमा टेकेर स्थापित सुशीला कार्की सरकार पर्दा पछाडिबाट जेन जी कै माग बिपरित विरोधाभाषको गन्ध दिने तानाबाना बुन्दैथियो।
अनिर्वाचित, असंबैधानिक र सेनाको आड र विदेशीले चलाएको सामाजिक संजाल “डिस्कर्ड”को घोडा चढेर, राष्ट्रपति रामचन्द्र पौडेलले "जुक्ति लगाएर" ठाउँमा पुगेकी सुशीला कार्की आफूले टिपेको च्याम्पटी सरहकी महान्यायाधिवक्ता सविता भण्डारीसंग सहकारी लूटका लाभग्राही नायक रास्वपाका सभापतिलाई उन्मुक्ति दिने सल्लाह गर्दैथिईन्।
ध्यानभंगता हतियार हो। सुशीला कार्कीको नाम मात्रको सरकारले यो हतियार फलाम तातेकै बेला प्रहार गर्यो। प्रधानन्यायाधीश भैसकेकी कार्कीलाई थाहा छ, सम्पत्ति शुद्दिकरण र संगठित अपराध जस्तो मुद्दालाई सरकार वा सरकारी वकिलको लहडमा फिर्ता लिने कानूनी प्रावधान छैन। तैपनि, रास्वपाका निला नेताको मुद्दा फिर्ता भयो। उनको मात्र होईन, सरकारको यो कुत्सीत नियतलाई कानूनी जलप लगाउनकै निम्ति अन्य सयौंका मुद्दा पनि फिर्ता लिन महान्यायाधिवक्ता सविता भण्डारीले आफ्नो निर्णय संशोधन गरिन्। यो निर्णय भ्रष्टाचार र कुशासन बिरोधी मागको जगमा उठेको कथित जेन जी आन्दोलनको मर्म बिरुद्द प्रहार हो। तर आज जेन जी अभियन्ताहरु चूप छन्। भ्रष्टाचार बिरोधी आन्दोलनको स्वामित्व लिन गरीब भूईं मान्छेको बचत अपचलन गरेर कारागारको हावा खान पुगेको एक नटुवा उत्तेजित रुपले तत्पर छ। । यो हो ध्यानभंगता नामक हतियारको असर!
बिनोद चौधरीजस्ता अर्बपतिको आफ्नै सन्जाल होला । तर कतार,कुवेत र साउदी अरेबियामा श्रम गरेर घरमा पैसा पठाउनेहरुको पैसा रोकिएको अवस्थामा नीलो स्यालले त्यसको प्रत्याभूति दिने कि नदिने ? मध्यपूर्वका नीलो स्याल समर्थकहरुले सोच्ने कुरा हो।
निलो स्यालमाथि लागेको अभियोग निलम्बन गरेर उसलाई राज्यसत्ताको बागडोर दिने प्रपंच रच्ने यो निर्णय सुशीला कार्कीको एकल निर्णय होईन। यो निर्णय कार्कीलाई सत्ता सोपानको उत्कर्षमा स्थापित गर्न जुन शक्ति लागेको थियो, उसको हो। कार्कीले बनिबनाउ आएको आदेश शिरोधार्य गरेकी मात्रै हुन्। नेपाललाई एक असफल राष्ट्र तुल्याएर भारत र चीन बीचको यो संबेदनशील भूमिबाट गुलेली हान्न लालायित एक भूराजनीतिक शक्तिको मानसपुत्र जस्तो भएको छ अहिलेको नेपाली नागरिक सरकार। नागरिक सरकार नेपाली नागरिकको हकमा कृयाशील रहेन। जेन जीको आन्दोलन तुहियो।
सुशीला कार्कीलाई फरक पर्दैन
रास्व्पाका निलो स्याल रुपी नेतालाई सम्पत्ति शुद्दिकरण र संगठित अपराधबाट उन्मुक्ति दिंदा राष्ट्रको आन्तरिक राजनीतिको समीकरण डोलायमान हुनु स्वाभाविक हो। तर यसले नेपालको अन्तर्राष्ट्रिय छवीमा पार्ने प्रभाव दीर्घकालीन हुनेछ।
समाजवादी बर्को ओढेको नेपाली कांग्रेसले जसरी ०४८ सालमा सत्तासीन भएपछि पुँजीवादी घनचक्करमा पेलिएर आफ्नो आदर्शको धूलो उडायो, जनजीविकाको सवालमा नेपाली कांग्रेसलाई टक्कर दिन कम्युनिष्ट अवधारणा अनुसार चुनावी मैदानमा उत्रिएको नेकपा एमाले पनि पुँजीवादी मनोद्द्विपक बाछिट्टाबाट बन्चित रहेन। माओवादीको चर्चा गर्नु ब्यर्थ छ। त्यो दलका सदाबहार नेता पुष्पकमल दाहालको चरित्र पानी जस्तै छ। रंग, स्वाद र आकारहीन। आफ्नो स्वार्थ अनुसार उनी घैंटो, सुराही र घ्याम्पो मात्र होईन, मौका पर्दा थालमा फिंजिएर लमतन्न पनि पर्न सक्ने अस्थीरताका लचीला खेलाडी हुन्।
०७२ सालमा नेपालको समाजवादोन्मुख संघीय गणतान्त्रिक संबिधान जारी भैसकेपछि नेपाली कांग्रेसको आन्तरिक बिग्रहका कारण काकतालीमा उदाएका नेता शेरबहादुर देउवा, नेकपा एमालेका माधव कुमार नेपालको अन्तरपार्टी तानाशाही बिरुद्द कार्यकर्तालाई बर्गल्याएर आफै तानाशाह भएका केपी ओली, र धमीलो पानीमा माछा मार्न पोख्त, हरेक बिदेशी जासूसी संस्थासंग हातेमालो गर्न उत्साही माओवादी नेता दाहालले आआफ्नो राजनीतिक आर्थिक धनसारको आकार बढाउन जे जस्ता कर्तूत गरे, त्यसको प्रतिफल आज नेपाल "फिनान्सियल एक्सन टास्क फोर्स (एफ ए टी एफ) को खैरो सूचिमा छ। सन् २००८ मा पहिलो पटक यो घुर्मैलो रंगमा दरिएको नेपालले सन् २०१४ मा केही आर्थिक नीति परिवर्तन गरेर, सम्पत्ति शुद्दीकरणको सवालमा नयाँ कानून ल्याउने सवालमा गम्भीर छौं भन्दै अन्तर्राष्ट्रिय समूदायलाई आश्वस्त तुल्याएपछि नेपाललाई सन् २०२७ सम्मको म्याद दिईएको हो। तर रास्वपा सभापति मुछिएको र उनका साझेदार जीवी राई सहकारी ठगेर भागेपछि नेपाल सन् २०२५ मा पुन: खैरो सुचिमा परेको हो। रास्वपाका मतदाताले यो बुझ्नु आवश्यक छ। लहै लहैमा त मूर्ख मात्र लाग्ने हो।
कहाँ छन् ती जेन जीहरु जसको नाममा नेपालको कार्यपालिका,व्यवस्थापिका र न्यायपालिका एकैपटक खरानी भयो? तर सुशीला कार्कीलाई यी सवालले त्यति फरक पर्दैन । उनका छोरा सूचना प्रविधिका विज्ञ हुन्। अमेरिका र बेलायत बस्छन् । सुशीला कुनैपनि बेला अमेरिकी ग्रीन कार्ड लिएर नेपाल छोड्न स्वतन्त्र छिन् । गत साता उनका पति भारतमा उपचार गर्न गएको कुरा पत्याउने कति होलान् जेन जीहरु?
फ ए टी एफ़ को कालो सूचिमा पर्दैमा नेपालमा बिदेशी सेना आउने होईन। तर बिदेशी लगानी आउने सम्भावना अबरुद्द हुन्छ। बिनोद चौधरी जस्ता अर्बपतिको आफ्नै संजाल होला। तर कतार, कुवेत र साउदी अरेबियामा श्रम गरेर घरमा पैसा पठाउनेहरुको पैसा रोकिएको अवस्थामा निलो स्यालले त्यसको प्रत्याभूति दिने कि नदिने? मध्यपूर्वका निलो स्याल समर्थकहरुले सोच्ने कुरा हो।
नेपालले राष्ट्रिय पुँजी निर्माण गर्न सकेको छैन। बार्षिक ३ अर्बको निर्यात र १५ अर्बको आयात गर्ने मुलुक हो नेपाल। नेपालको सत्तरी प्रतिशत ब्यापार भारत संग छ। पन्ध्र प्रतिशत चीन संग। त्यो पनि आयातमा निर्धारित छ। नेपालले चीन निर्यात गर्ने व्यापारको अंश एक प्रतिशत पनि छैन। अमेरिकामा निर्यात हुने ब्यापार केवल दुई प्रतिशत छ तर आयात १२ प्रतिशत। बाँकी जर्मनी, टर्की, बेलायत र युरोपेली मुलकसंगको ब्यापार घाटाको यहाँ कुरा गर्नुको औचित्य छैन। नेपाल संधै घाटाको ब्यापार गर्दैछ।
नेपाली वायुयान युरोपमा प्रतिबन्धित छन्। सुरक्षाका कारणले। पुरानाले केही गरेनन्। नयाँ भनिएको जेन जी सरकारले यसबारेमा केही गरेन। तर पुराना सरकारले पठाएको राजदूत फिर्ता बोलायो। नागरिक उड्डयन प्राधिकरणका हाकीमले वर्तमान सरकारका महत्वाकाँक्षी केही मन्त्रीहरुको स्वार्थपूर्ति गरेनन्। उनलाई अख्तियार लाग्यो। अधिकारी दूधले नुहाएका मान्छे होईनन्। तर उनलाई अख्तियार लगाउनेहरुलाई अख्तियार कहिले लाग्ने हो? जेन जी ले यो सोच्ने कि नसोच्ने? सुशीला कार्की किन मौन छिन् ?
स्वपाका निला नेताको मुद्दा फिर्ता लिने निर्णय लिने सरकारको जेन जी आन्दोलनको उपलब्धि होईन। तर कहाँ छन् ती जेन जीहरु जसको नाममा नेपालको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका एकैपटक खरानी भयो?
तर सुशीला कार्कीलाई यी सवालले त्यति फरक पर्दैन। उनका छोरा सूचना प्रविधिका विज्ञ हुन्। अमेरिका बस्छन्। सुशीला कुनैपनि बेला अमेरिकी ग्रीन कार्ड लिएर नेपाल छोड्न स्वतन्त्र छिन्। गत साता उनका पति भारतमा उपचार गर्न गएको कुरा पत्याउने कति होलान् जेन जी हरु? नेपाली राजनीतिका कर्ताधर्ता आठजना लाम लागेर भारत पुग्नुको अभिप्राय के थियो होला? श्रीमान प्रधानमन्त्री उपचारको निहुँमा त्यहीबेला भारत पुग्दा कुन खालको संदेश आदानप्रदान भयो? जेन जी नामका ठेट्नासंग न खिचडी पकाउने कला छ, न खिचडीको स्वाद !
अब कुरो चुनावको
फागुन २१ मा चुनाव गराउने कुरामा प्रधानमन्त्री सुशीला कार्कीको ईतिहास दाउमा छ। यसका निम्ति उनी जुनसुकै स्तरमा ओर्लिएर सम्झौता गर्न तयार छिन्। जेन जी आन्दोलनको पटाक्षेप नेपाली सेनाका प्रधान सेनापति अशोक सिग्देलले "राष्ट्र निर्माता" पृथ्वी नारायण शाहको पूर्णकदको तस्वीरलाई पृष्ठभूमिमा राखेर राष्ट्रको नाममा दिएको सन्देशबाट भएको थियो। यो कुरा अर्कै हो कि, जेन जी का प्रतिनिधिहरुहरुले सिग्देलको रास्वपा र दूरगा प्रसाईंलाई आन्दोलनको साझेदारको दर्जा दिनुपर्ने आग्रहलाई त्यतिबेला खारेज गरेका थिए। तर अब पासा पल्टिएको छ। सिग्देलले जे भनेका थिए, त्यस्तै हुँदैछ। जेलबाट भागेर पुन: जेल छिरेका ठग अहिले जेन जी आन्दोलनको स्वामित्व लिंदैछन्। सिंहदरवार जलाउने उद्घोष गरेका र सिंहदरवार जल्दा बेपत्ता भएका महामेयर बालेन्द्र साहले आफ्नो पदबाट राजीनामा दिएका छन्।
सहकारी ठगको मुद्दा फिर्ता भएपछि अब उनलाई संसदको चुनाव लड्न मात्र होईन, सपथग्रहण गर्न समेत बाटो खुलेको छ। महामेयर बालेन्द्र साह र रास्वपा सभापतिको कालो चश्मा र नीलो रंग मधेशमा होली खेल्दैछ। यो कुरा बेग्लै हो कि, सुंढी समुदायका मधिशे साहले राजधानी उपत्यकामा आफ्नो नयाँ पहिचान बनाएपनि अब उनी मधेस पुत्रका रुपमा चुनावी राजनीतिमा होमिएका छन्। यसका निम्ति उनले ठगीमा डामिएका पहाडी बर्चस्ववादका प्रतिनिधिको अंकमालमा घन्टी बजाउनु चुनावी राजनीतिका निम्ति असामान्य होईन।
तर प्रश्न छ, जुन बालेन आफ्नो बालेन्द्र साह नाम लुकाएर आफ्नो खानदानी मधिसे जमिन्दारीको कुरा गर्न समेत डराउँथे, आज जनकपुरबाट किन आफ्नो चुनावी अभियानको दुन्दुभि फुक्न लालयित छन्? जुन जनकपुरबाट कान्तिपुरका कैलाश सिरोहियाले नागरिकता लिए, रास्वपा नेताले त्यहि ठाउँमा बालेन्द्र साहसंग हातेमालो गर्दै आफ्नो आफ्नो चुनावी अभियानको श्रीगणेश गर्नुको अभिप्राय के हो? पश्चिमा शक्तिले उकासेको नीलो स्याल र कालो चस्माको जोडीले भारतीयहरुको कानमा सिठी बजाउनुको अर्थ के हो? प्रश्न अनगिन्ति छन्। उत्तर भीडको कोलाहलमा हराएको छ।
बालेन साहले राजधानीका फ़ुटपाथबाट "आर्थिक आप्रवासी" भन्दै डण्डा लगाएर लखेटेका फलफूल र तरकारी बेच्ने मधेसीहरु कति थिए? उनले उम्मेदवारी दिने भनिएको झापा ५ का कति मान्छे राजधानी सहरको सडकमा एक ईमान्दार जीवन यापन गर्ने प्रयासमा थिए? अब बालेन "शाह"ले आफ्ना रैतीलाई दिने जवाफ के हो?
सारांश
जसरी प्रधानमन्त्री सुशीला कार्की आफ्नो ब्रह्मबाट निर्देशित छैनन्, रास्वपाको निलो स्याल पनि अरु कसैको निर्देशनमा संचालित छ। बालेन्द्र साह दम्भी मात्र होईन, मूर्ख पनि रहेछन्। अन्यथा उनले राजधानी उपत्यकाको कुनै एक चुनाव क्षेत्र रोजेर जित्ने थिए। तर यी र्यापर चुनावलाई जा लिने" र "देखाईदिने" मनोभाव सहित प्रयोग गर्ने
चेष्टामा छन्। यो स्वप्नदर्शी राजनेताको लक्षण होईन। नेकपा एमालेका आत्ममुग्ध तानाशाह केपी ओलीसंग सामाजिक संजालमा पौंठेजोरी खेल्नु एउटा कुरा हो। तर चुनाव केटौले दम्भका आधारमा जित्ने अभ्यास होईन। न त यो देखाईदिने वा मोज गर्ने बिषय हो।
निलो स्याल कालो चश्माको लोकप्रियतालाई भजाएर सिंहासनमा राजा गर्ने दाउमा छ। उसले कुलमान घिसिंगलाई त्यसै लतारेको होईन। न निलो स्यालको मुद्दा त्यसै फिर्ता भएको हो। बालेनको राजनीतिक संगठन छैन। सामाजिक संजालमा एक मिनेटमा आउने हजारौं लाईक मतपत्रको भोट होईन। भीड त भीड हो। आज सुन्धारामा सुन्तला खान लाग्ने भीड भोली कलंकीमा कालो तीलको लड्डु खान लाम लागेको उदाहरण धेरै छन्।
यो चुनाव भएको अवस्थामा नेपाल थप अस्थिरताको बाटोमा अलपत्र हुने स्पष्ट छ। कांग्रेस र एमालेको त मैले कुरै गरेको छैन। त्यो अर्को पाटो हो। नयाँहरुलाई अगाडि राखेर नेपाललाई असफल राष्ट्र तुल्याउन नेपथ्यमा एक भन्दा अधिक शक्ति सकृय छन्। सुशीला कार्की, सविता भण्डारी, अशोक सिग्देल, बालेन्द्र साह, निलो स्याल, शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दाहाल आदि ईत्यादिलाई खेल्ने खेलौना दिएर भूराजनीतिका शक्तिशाली खेलाडीहरु नेपालीको टाउकोमा गीर खेल्दैछन् ।
यो चुनाव भएपनि, नभएपनि नेपाल तावाबाट उच्छिट्टिएर भुङ्ग्रोमा पर्नेछ।
टिप्पणीहरू