मधेसमा माओवादीबाट धमाधम स्पस्टिकरण

मधेसमा माओवादीबाट धमाधम स्पस्टिकरण

सर्वोच्च अदालतको फैसलाले साविकको अवस्थामा फर्किएको माओवादीले जनप्रतिनिधिहरुलाई धमाधम कारवाही गरिरहेको छ ।

संघ र प्रदेशका झन्डै एक दर्जन निर्वाचित प्रतिनिधिलाई पार्टी हित विपरितका गतिविधिमा संलग्न भएको भन्दै कारवाहीको डण्डा बर्साएको माओवादीले स्थानीय तहका प्रतिनिधिलाई स्पष्टीकरण सोध्न थालेको छ ।

एमालेमा प्रवेश गरेका चार जना संघीय प्रतिनिधिसभाका सांसद, दुई जना राष्ट्रियसभा सांसद र केही प्रदेश सांसदलाई बर्खास्त गरेको माओवादीले आज स्थानीय तहका चार जनप्रतिनिधिलाई कडा स्पष्टिकरण सोधेको छ । पार्टी हितविपरितका गतिविधिमा संलग्न भएको आरोपमा धनुषाको स्थानीय तहका चार जना जनप्रतिनिधिसँग माओवादीले स्पष्टिकरण मागेको हो ।

माओवादी केन्द्र धनुषाले विदेह नगरपालिकाका प्रमुख बेचन दास,उप-प्रमुख निलमदेवी मण्डल, शहीदनगर नगरपालिकाका उप-प्रमुख शिलादेवी कापर र सबैला नगरपालिकाका उप-प्रमुख निलुदेवी कापरसँग ‘के कति कारणले पार्टीमा सक्रिय नभएको हो’ भनी स्पष्टीकरण सोधेको छ ।

स्पष्टिकरणमा सर्वोच्चको आदेशले पार्टी साविककै अवस्थामा फर्किएको भएपनि पार्टीको कार्यक्रममा सहभागी नभएको, स्थानीय तहमा पार्टीको पक्षमा क्रियाशील नभएको भन्दै माओवादी केन्द्र त्यागेको हो होइन भनेर प्रश्न सोधिएको छ । उनीहरुलाई तीन दिनभित्र लिखित स्पष्टिकरणको जिल्ला पार्टी कार्यालयमा बुझाउन भनिएको छ ।

टिप्पणीहरू