फोटो खिचेर फाटो ल्याउनमा के फाइदा ?

फोटो खिचेर फाटो ल्याउनमा के फाइदा ?

गत बैशाख ८ र ९ गते लामो संवादहीनता तोड्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपालबीच होटल मेरियटमा गोप्य भेटवार्ता भयो । तत्काल समाधान नदिएपनि त्यहि वार्ताको जगमा भएका पछिल्ला वार्ता र भेटघाटले एमाले विवाद समाधानउन्मुख छ ।

पार्टीभित्रको विवाद समाधानतर्फ अघि बढिरहेकै बेला प्रधानमन्त्री ओलीको सचिवालयमाथि भने अर्को पक्षका नेताहरुको हुर्मत लिने दाउमा लागेको आरोप छ ।

गलत मनसायले भेटको फोटो खिच्ने,भाइरल गराउने र नेताहरुको हुर्मत लिने काम प्रधानमन्त्रीको सचिवालयले गरिरहेको नेपाल पक्षका नेताहरुले दुखेसो पोखेका छन् ।मेरियट होटलको दोस्रो दिनको वार्तामा ओली र माधव नेपालले झ्यालबाट बाहिर हेरिरहेको फोटो भाइरल भयो । फोटो हेरेर धेरैले दुई नेताबीच घनिष्ठ सम्बन्ध बनेको अड्कल लगाए ।

तर, त्यसको भोलिपल्टै नेता नेपालले आफूले थाहै नपाउने गरी पछाडिबाट फोटो खिचेर अनावश्यक प्रचार गरिएको भन्दै असन्तुष्टि जनाउनुभयो ।

अहिले फेरि त्यस्तै एउटा फोटो भाइरल भएको छ । अस्ति शुक्रबार पार्टी विवाद मिलाउन भन्दै ओली र नेपाल पक्षका नेताहरु वार्तामा बसे । दुवै पक्षका एक दर्जन जति नेता वार्तामा सहभागी थिए ।

वार्ता सकारात्मक भएको भन्दै नेताहरुका अभिव्यक्ति सार्वजनिक भैरहेका बेला त्यतिबेला खिचेर सार्वजनिक गरिएको एउटा फोटोलाई लिएर नेपाल पक्षले आपत्ति जनाएको छ ।

फोटोमा नेपाल पक्षका दुई नेता घनश्याम भुसाल र रघुजी पन्त बैठकमा प्रवेश गर्दै गर्नुभएका ओलीलाई निहुरेर नमस्कार गर्दै गरेको देखिन्छ ।

सधैंजस्तो अरुभन्दा ढिलो बैठक हलमा प्रवेश गर्नुभएका प्रधानमन्त्री ओलीलाई भुसाल र पन्तले उठेर नमस्कार गर्दै गर्दाको उक्त फोटोको अहिले सर्वत्र चर्चा छ ।

फोटोलाई लिएर अनेक टिकाटिप्पणी भैरहेका बेला भुसाल र पन्तले गलत मनसायका साथ् ओलीको सचिवालयले फोटो सार्वजनिक गरेको भन्दै असन्तुष्टि जनाएका छन् । ओलीसँग सबै नेता नतमस्तक हुन्छन् भन्ने देखाउन यस्तो प्रचार गरिएको नेपाल पक्षका नेताहरुले आरोप लगाएका छन् ।

‘उहाँहरु बिचार, सिद्धान्त, राजनीतिभन्दा व्यक्तिलाई प्रधान मान्ने स्कुलिङमा हुनुहुन्छ । त्यसैले गलत नियतका साथ फोटो प्रचार गरिएको हामीले बुझेका छौँ । पार्टीको विवाद समाधानतर्फ सबैको ध्यान जानुपर्नेमा यस्ता हर्कतले विवाद बल्झाउन सक्छ’, नेपाल पक्षका एक नेताले भने ।

फोटोलाई लिएर भुसालले असन्तुष्टि जनाउनुभएको छ । प्रधानमन्त्रीको सचिवालयलाई संकेत गर्दै भुसालले भन्नुभएको छ, ‘हिजो एउटा बैठकमा प्रधानमन्त्रीलाई नमस्कार गर्न उठ्दै गर्दा कसैले खिचेको फोटो खुबै प्रचार भएको छ । समाजमा जान्ने बुझ्ने भनिएकाहरू पनि यस दौडमा देखिनु र त्यहाँ प्रधानमन्त्री कार्यालयका फोटोग्राफरबाहेक अरू कोही नहुनु संयोगमात्र हो वा होइन थाहा भएन ।’

नेपाल पक्षका नेताहरुले आफूहरुको बदनाम गराउन फोटो खिचेर नियोजित प्रचार गरिएको आरोप लगाएका छन् ।

टिप्पणीहरू