कुहिएको चिजमाथि दबाब कत्रो ?

चाहे दुगडको धारा तेल होस् या फ्रुटी । कन्हैया घ्यूमा बोसो मिसिएको प्रकरण पनि छँदै छ । यस्ता प्रकरण खोजी–खोजी ज्योति बाँनियाहरू जिल्ला प्रशासनमा मुद्धा हाल्छन् । अवस्था यस्तो आयो कि  राजनीतिक नेतृत्व र व्यापारी छुट्ट्याउन नसकिने !

यस्ता अपराध कर्ममा सक्रिय व्यापारीउपर एक्सन लिएर काम गर्दा बदलामा कर्मचारी भने व्यापारी र नेताको स्वार्थका आडमा उल्टै त्यहाँबाट धपाइन्छन । पछिल्ला तीनवटा प्रकरण हेरौं ।  कन्हैया घ्यू र अनमोल मिष्ठान्नमा बोसो भेटियो । कुनै उपभोक्ताले दिएको सूचनालाई पछ्याउँदै ज्योति बानियाँहरूले जिल्ला प्रशासनमा मुद्दा दायर गरे उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरिएको भन्दै । तर, साँझ साढे चार बजे उक्त मुद्दा दायर भएको केही घन्टा नबित्दै ती व्यापारीको कानमा प्रहरीमार्फत यो सूचना पुग्यो र रातारात उनलाई आफ्नै ज्वाइँले सञ्चालन गरेको अस्पतालमा आइसियुमा लगेर भर्ती गरिएको नाटक रचियो । यो नौटंकी पछाडि उनी पक्राउ गर्नबाट जोगिए भने यही बीचमा यो मुद्दा हेर्दै आएका तत्कालीन प्रमुख जिल्ला अधिकारी लक्ष्मी ढकाललाई रातारात सरुवा गरियो । ती चालबाजहरूले यस्तोसम्म नौटंकी गरे कि आफ्नो दुबै कम्पनी बेचिएको, आफू मुटुको रोगी भएको र उमेरसमेत ८२ वर्ष पुगेका कारण आफूले यस्तो बद्मासी गर्दै नगरेको अदालतमा बयान दिएर उनले उन्मुक्ति पाए । 

अर्काे प्रकरण हेरौं केपी ओली प्रधानमन्त्री हुँदा भारतले नाकाबन्दी लगायो । त्यस अगाडि धारा तोरीको तेलको मूल्य थियो १३५ रुपैयाँ लिटर र संविधान जारी भएपछि त्यही तेलको मूल्य ३२० रुपैयाँ पुग्यो । तेलमा कृत्रिम अभाव सिर्जना गरेर उपभोक्ता ठगी गरिएको सूचना ज्योति बानियाँहरूले पाए । र, उनीहरूले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरे । सिडिओ  एकनारायण अर्याल र बानेश्वर वृत्तका डिएसपी दानबहादुर थापाले एक्सन लिएर दुगड गुप्रका मालिकहरूलाई अठ्याउन खोज्दै थिए, सिडिओ र डिएसपी दुवैजनालाई त्यहाँबाट तराईतिर खेदियो । 

यही प्रकरण अहिले फेरि दोहोरिएको छ । केही दिनअघि मात्र फ्रुटीमा लेदो मिसाइएको प्रमाणसहित उपभोक्तावादीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ज गराएका थिए । उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड भएको विषयमा एक्सन लिएर सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले छापा मारे । दुगडको सतुंगलस्थित दुगड फुड एन्ड वेभरेज प्राइभेट लिमिटेडमा छापा मारी यो प्रकरणमा थप अनुसन्धान चलिरहँदा उनलाई सुनियोजित ढंगबाट जिल्ला प्रशासन कार्यालयबाट संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयतिर खेदिएको छ । 

यो प्रकरणमा साना कर्मचारी पक्राउ परे पनि मालिक माल्चन दुगड भने किसनलाल दुगडझैं फरार छन् । उपभोक्तावादीका अनुसार सहायक प्रजिअ रहँदा लुइँटेल सुर्तीजन्य, मदिराजन्य र विभिन्न ठूला उद्योगमा भएका मिसावटलगायत विकृति रोक्न विशेष अप्रेसन गर्ने योजना बुन्दै थिए । व्यापारी र नेताको गठजोडको अगाडि कर्मचारी कसरी निरीह बन्ने गर्छन् भन्ने एउटा सानो उदाहरण मात्र हो यो । 

टिप्पणीहरू