माधव नेपालसँगको भेटबारे विवेकशीलका नेता यसो भन्छन्

माधव नेपालसँगको भेटबारे विवेकशीलका नेता यसो भन्छन्

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले एकीकृत समाजवादीसँग पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । दुई पार्टीबीच एकताका लागि छलफल शुरु भएको चर्चा चलिरहेका बेला पाण्डेले तत्कालका लागि त्यस्तो सम्भावना नरहेको प्रष्ट पारेका हुन् ।

आइतबार संयोजक पाण्डे र केशव दाहालसहितका नेताले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका थिए । उक्त भेटमा पार्टी एकताबारे छलफल भएको बताइएको थियो । संयोजक पाण्डेले भने भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीहरुको भूमिकाबारे छलफल भएको तर पार्टी एकताको प्रसंग नै नआएको बताए ।

‘अहिले उहाँहरुसँग चुनावी एलाएन्स हुनसक्छ । भविष्यमा के होला त्यो त अहिले कसरी भन्न सकिन्छ र !’,

‘हामी हरेक पार्टीका नेताहरुसँग भेट गरिरहेका हुन्छौँ । त्यहि क्रममा माधव नेपालसँग पनि भेटेर कुराकानी गरिएको हो । त्यसबाहेक अरु सबै हल्ला हुन्, अहिले हामी कसैसँग पनि पार्टी एकता गर्ने पक्षमा छैनौँ’,पाण्डेले भने ।

तथापि मुद्दा मिल्ने शक्तिहरुसँग सहकार्य गरेर जान आफ्नो पार्टी सधैं तयार रहेको उनको भनाइ छ । गणतन्त्र,संघीयता, धर्मनिरपेक्षतालगायत जनताका एजेण्डाको पक्षमा उभिनेहरुसँग सहकार्य हुने पनि उनले प्रष्ट्याए ।

‘अलि अगाडि हामी राजावादीहरुसँग पनि बसेका थियौँ । विचारका हिसाबले उहाँहरु र हामी मिल्ने कुरा हुँदैन । तर कुनै एजेण्डा मिल्न सक्छ । त्यसको मतलब पार्टी एकता हुन्छ भने होइन’,पाण्डेले भने।

भेटमा माधव नेपालले पनि सहकार्यको प्रस्ताव गरेको र त्यसलाई आफूहरुले सकारात्मक रुपमा लिएको पाण्डेले बताए । त्यसैलाई बाहिर पार्टी एकताको हल्ला चलाइएको उनको भनाइ छ ।

पाण्डेले एकीकृत समाजवादीसँग पहिलो चरणमा चुनावी गठवन्धन हुने र कुनै बिन्दुमा एकैठाउँमा आउनसक्ने सम्भावनालाई भने अस्वीकार गरेनन् । ‘अहिले उहाँहरुसँग चुनावी एलाएन्स हुनसक्छ । भविष्यमा के होला त्यो त अहिले कसरी भन्न सकिन्छ र !’, उनले भने ।

टिप्पणीहरू