ललिता निवासवाला मुद्दाको निर्णय सुनाउने मिति सर्यो,

ललिता निवासवाला मुद्दाको निर्णय सुनाउने मिति सर्यो,

पेशी चढेन प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले आज ६ वटा इजलास गठन गर्नुभएको छ । बन्दीप्रत्यक्षीकरणका रिट निवेदनमा सुनुवाई गर्ने गरी आफूबाहेक ६ वटा इजलास गठन गरिएको हो ।

जसमध्ये २ वटा एकल र चार वटा संयुक्त इजलास छन् । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको छुट्टाछुट्टै एकल इजलास तोकिएको छ । त्यस्तै,आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तान, न्यायाधीश विश्वम्भर श्रेष्ठ र हरिप्रसाद फुयाल,अनिलकुमार सिन्हा र कुमार चुडाल,सपना प्रधान मल्ल र मनोजकुमार शर्माको छुट्टाछुट्टै संयुक्त इजलास तोकिएको छ ।

यता,न्यायाधीशहरुले लगातार इजलास बहिष्कार गरेपछि ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईको मुद्धाको पेशी भने आज तोकिएको छैन । मुद्दा निसु (निर्णय सुनाउने दिन)आजका लागि तोकिए पनि उक्त मुद्दा पेशीमा चढेको छैन ।

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा भएको भ्रष्टाचार मुद्दामा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा मुद्दा चल्ने कि नचल्ने भन्ने विषयमा परेको मुद्दा सर्वोच्चमा विचाराधीन छ । अख्तियारले पूर्व प्रधानमन्त्रीद्वयविरुद्ध मुद्दा दायर नगरेपछि उनीहरूलाई पनि मुद्दा लगाउन माग गर्दै सर्वोच्चमा रिट परेको थियो ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै न्यायाधीशहरुले केही दिनयता लगातार इजलास बहिष्कार गर्दा पेशी चढेका मुद्दामा पनि सुनुवाई हुन् सकेको छैन ।

हिजो प्रधानन्यायाधीश राणासंगको भेटवार्तामा न्यायाधीशहरु बन्दीप्रत्यक्षीकरणका मुद्दा हेर्न सकारात्मक बनेपछि आज अन्य मुद्दा छाडेर बन्दीप्रत्यक्षीकरणका निवेदन सुनुवाई गर्ने गरी पेशी तोकिएको हो ।

यसैबीच सर्वोच्च परिसरमा नेपाल बारले हिजोदेखि कालोपट्टी सहितको बिरोध कार्यक्रम गरेको छ । बुधबारसम्म उक्त कार्यक्रम बिहान १० बजेदेखि ११ बजेसम्म हुने बताइएको छ ।

टिप्पणीहरू